काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सम्बन्धी सेवा फेरि अनिश्चितकालका लागि बन्द भएको छ ।
यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै डाटा सेन्टरमा समस्या आएकाले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) तथा नयाँ आवेदन दिने प्रणाली (applynew.dotm.gov.np) अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द भएको जानकारी गराएको हो ।
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभागको कार्यालयमा आगजनी तथा तोडफोड हुँदा सर्भर र डाटा सेन्टरमा क्षति पुगेको थियो । उक्त सर्भर मर्मत गरी विभागले कात्तिक १६ गतेदेखि सेवा आंशिक रूपमा संचालनमा ल्याएको थियो ।
अहिले फेरि डाटा सेन्टरमा समस्या आएपछि लाइसेन्स सम्बन्धी सेवा पुनः अनिश्चितकालका लागि बन्द भएको हो ।
यससँगै देशभरका यातायात कार्यालयहरूबाट लाइसेन्सकाे नयाँ आवेदनकाे काम रोकिएको छ ।


