काठमाडौं । ठेक्का लागेको झण्डै अढाई वर्षपछि चितवन र नवलपुर जोड्ने नारायणी नदीमा निर्माण गरिने नयाँ पुलको डिजाइन स्वीकृत भएको छ ।
सडक विभाग अन्तर्गतको पुल महाशाखाले नारायणीमा निर्माण हुने नेपालकै दोस्रो ‘केबल-स्टेड’ प्रविधिमा बन्ने पुलको डिजाइन स्वीकृत गरेको हो ।
नारायणी पुल निर्माणको ठेक्का सम्झौता २०८० जेठ १९ गते भएको थियो । उक्त सम्झौता अनुसार पुलको डिजाइन १ वर्ष (२०८१ जेठ)भित्र सकी त्यसकाे ३ वर्ष भित्र निर्माण पूरा गर्नुपर्ने थियो । तर, तोकिएको समयभन्दा १६ महिना ढिला गरी पुलको डिजाइन स्वीकृत भएको हो ।
विभागको पुल महाशाखाका इन्जिनीयर अमित बर्माले नारायणी पुलको डिजाइन स्वीकृत भएको जानकारी दिए । उनले पुलको डिजाइन विशेष खालको र जटिल भएकाले समय लागेको बताए ।
‘नेपालकै दोस्रो नारायणीमा निर्माण हुने ‘केबल-स्टेड’ पुलको डिजाइन स्वीकृत भएको छ । यो पुल विशेष र जटिल भएकाले डिजाइन गर्न समय लाग्यो,’ उनले मेरोअटोसँग भने ।
नारायणीको नयाँ पुलको डिजाइन चिनियाँ प्रोफेसरको नेतृत्व टोलीले गरेको हो । यसअघि निर्माण कम्पनीले भारतीय विज्ञहरूलाई पुलको डिजाइन गराएको थियो । उक्त डिजाइन पुल महाशाखाले अस्वीकार गरेपछि कम्पनीले पुनः चिनियाँलाई डिजाइन गर्न लगाएको हो ।

नारायणीमा वि.सं. २०३८ सालमा बनेको पुलको विकल्पका रूपमा नयाँ सिग्नेचर पुल निर्माण गर्न लागिएको इन्जिनीयर बर्माले बताए । डिजाइन स्वीकृत भएसँगै अब चाँडै निर्माणको काम सुरू हुने उनकाे भनाइ छ ।
यस पुलको लागत १ अर्ब ६८ करोड ७६ लाख २३ हजार ३५४ रुपैयाँ (मूल्य अभिवृद्धि करसहित) रहेको छ । यसको ठेक्का तुँदी कन्स्ट्रक्सन प्रालिले पाएको छ ।
यस्तो बन्नेछ पुल
इन्जिनीयर बर्माका अनुसार नयाँ पुलको लम्बाइ ४२० मिटर रहेको छ । यसमा चारवटा पिलर रहने छन्, जसमा नदीको बीचमा दुई वटा र छेउछेउमा एक/एक वटा रहने छन् । छेउ र बीचको पिलर बीचको दुरी १०० मिटर र बीचका दुई पिलरको दुरी २२० मिटर रहने छ ।
यसको कुल चौडाइ १३.६ मिटर रहेको छ । जसमा ७.५ मिटर चौडाइमा दुई लेन गाडी गुड्ने छन् । त्यस्तै, ३ मिटर फूटपाथ र साइकल लेन रहने छ । बाँकी ३ मिटरमा सडक र फुटपाथ बीचको मिडियन, पुलको लठ्ठा लगायत भाग रहने उनले बताए ।
यो केबल स्टेड प्रविधिमा बन्ने नेपालकै दोस्रो पुल हो । यसअघि कर्णाली नदीमा नेपालकै पहिलो केबल स्टेड पुल बनेको थियो ।
पुललाई आकर्षक बनाउन रातको समयमा बाल्न मिल्ने गरी बत्तिहरू समेत जडान गरिने छ । जसले पुलको सौन्दर्यता बढाउनुका साथै पर्यटकहरूका लागि आकर्षणको केन्द्र हुने विश्वास गरिएको छ ।
करिब २०० वर्ष टिक्ने
इन्जिनीयर शर्माले नारायणीमा बन्ने पुल करिब २०० वर्ष टिक्ने प्रक्षेपण गरी डिजाइन गरिएको बताए । पछिल्ला वर्षहरूमा नारायणीमा आउने बाढीको प्रकृति परिवर्तन भएकाले त्यसलाई समेत मध्येनगर गरिएको उनले बताए । यो पुल जति ठूलो बाढी आए पनि त्यसले क्षति गर्न नसक्ने गरी डिजाइन गरिएको उनको भनाइ छ ।
‘पछिल्ला वर्षहरूमा बाढीको प्यार्टन चेन्ज भएको छ । यो पुलको डिजाइन गर्दा आगामी २०० वर्षसम्म आउन सक्ने ठूला बाढीलाई मध्येनजर गरिएको छ,’ उनले भने, ‘नयाँ बनाइने समान्य पुल १०० वर्ष टिक्छन् । नारायणीको नयाँ पुल विशेष रहेकाले नियमित मर्मत सम्भार गर्दा करिब २०० वर्षसम्म टिक्छ भन्ने प्रक्षेपण गरिएको छ ।’
त्यस्तै, उनले भविष्यमा नारायणीमा पानीजहाज संचालन गर्दा समेत अवरोध नहुने गरी पुलको डिजाइन गरिएको उनले बताए ।
मंसिरदेखि निर्माण थाल्ने
निर्माण कम्पनीले मंसिरभित्रै निर्माण थाल्ने जनाएको छ । इन्जिनीयर शर्माले हाल ठेकेदारले फिल्डमा पुल निर्माणका लागि आवश्यक पूर्वतयारी गरिरहेको बताए ।
‘निर्माण कम्पनीले अब एक महिना भित्र निर्माण थाल्ने भनेको छ । अहिले साइट क्लियरेन्स, पाइल निर्माणका लागि विभिन्न टेष्ट गरिरहेको बताएको छ । टेष्ट सकिएपछि निर्माण सुरू हुन्छ,’ उनले भने ।
नारायणी पुलको शिलान्यास २०८१ बैशाख ३१ गते भए पनि डिजाइन स्वीकृतिको प्रक्रिया लम्बिएकाले निर्माण सुरू हुन सकेको थिएन ।
निमार्ण नथाल्दै म्याद थप प्रक्रिया सुरू
निर्माण कम्पनीले काम सुरू नगर्दै पुलको म्याद थप्न प्रस्ताव गरेको छ । ठेक्का सम्झौता अनुसार उक्त पुल ४ वर्ष भित्र सक्नुपर्नेछ ।

तर, डिजाइन स्वीकृत गर्न अढाई वर्ष लागेकाले अब तोकिएको अवधि डेढ मात्र बाँकी छ । बाँकी समयमा निर्माण सम्पन्न नहुने भएकाले निर्माण कम्पनीले म्याद थपको प्रक्रिया सुरू गरेको हो ।
डिजाइन स्वीकृतिमा भएको ढिलाइका कारण निर्माण व्यवसायीले म्याद थपका लागि प्रक्रिया सुरू गरिसकेको जानकारी आएको बर्माले जानकारी दिए ।
‘ठेकेदारले सडक डिभिजन नवललपुरमा म्याद थप्ने प्रक्रिया अघि बढाएको भन्ने सुनिएको छ । विभागमा आइपुगेको छैन । फाइल यहाँ आएपछि कति समय माग गरेको थाहा हुन्छ । उक्त प्रस्तावमा अध्ययन गरी निर्णय हुन्छ,’ उनले भने ।
लागत भने नबढ्ने
निर्माण कम्पनीले पुलको म्याद थप्न प्रस्ताव गरे पनि लागत भने नबढ्ने इन्जिनीयर बर्मा बताउँछन् । यो पुल ठेक्का ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा लागेकाले लागत नबढ्ने उनले बताए ।
‘निर्माण अवधि लम्बिने भए पनि लागत बढ्दैन । यो पुलको ठेक्का डिजाइन बिल्ड मोडलमा लगाइएको हो । त्यसैले डिजाइनदेखि निर्माण गर्दा लाग्ने सबै खर्च ठेकेदारले व्यहोर्छ । डिजाइन परिवर्तन गर्नुपरे पनि थप भार सरकारले व्यहोर्नुपर्दैन,’ उनले भने ।

