काठमाडौं । चालु आर्थि वर्ष २०८१/८२ को १० महिना (साउन-वैशाख)मा हायर पर्चेज कर्जा लगानी ४.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाले चालु आवमा कुल ५ अर्ब ६ करोड ८७ लाख रुपैयाँ हायर पर्चेज कर्जा लगानी गरेका हुन् ।
गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले समग्रमा १ खर्ब २४ अर्ब १० करोड हायर पर्चेज कर्जा लगानी गरेकोमा वैशाख मसान्त आइपुग्दा ४.१ प्रतिशतले बढेर १ खर्ब २९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो दुई वर्ष लगातार घटेको हायर पर्चेज कर्जा लगानी चालु आवमा अर्थतन्त्र क्रमशः चलायमान बन्दै गएसँगै बढेको हो । आर्थिक गतिविधिमा सुधार आउँदा चालु आवमा सवारी साधनको खरिद बिक्री बढेको छ । यससँगै हायर पर्चेज कर्जा लगानीमा पनि सुधार आएको हो ।
पछिल्लो समय अटोमोबाइल क्षेत्र चलायमान बनेको छ । गत वर्षको तुलनामा सवारी आयात तथा बिक्री दुवै बढेको छ । चालु आवको १० महिनामा मात्रै कुल १८ हजार कार, जीप, भ्यान लगायत सवारी साधन आयात भएका छन् । त्यस्तै, १ लाख युनिट बढी दुईपाँग्रे र ८ हजार युनिट बढी मिनिबस, माइक्रो, बस, ट्रक लगायत सवारी आयात भएको भन्सार विभागको तथ्यांक छ ।
राष्ट्र बैंकको कडाइका बाबजूद बैंक तथा वित्तीय संस्थाहरूले हायर पर्चेज कर्जा लगानी बढाएका हुन् । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत बैंकहरूलाई ईभीको लोन टु भ्यालु रेसियो ८० प्रतिशतबाट ६० प्रतिशतमा झारेको थियो ।
त्यस्तै, हालै हायर पर्चेज कम्पनीलाई पनि ६० प्रतिशतभन्दा ऋण दिन नपाउने व्यवस्था लागू गरेको थियो । यसका बाबजूद चालु आवमा बैंकहरूले हायर पर्चेजमा ५ अर्ब रुपैयाँ बढी नयाँ कर्जा प्रवाह गरेका हुन् ।
कर्जाको माग पर्सनलमा ह्वात्तै बढ्यो, कमर्शियलमा उल्टो घट्यो
बैंक तथा वित्तीय संस्थाले हायर पर्चेज कर्जा अन्तर्गत कमर्शियल र निजी प्रयोजन (पर्सनल) सवारी किन्न ऋण दिन्छन् । जसमा चालु आवमा कमर्शियल सवारीमा कर्जा लगानी घटाएका छन् भने पर्सनलमा बढाएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
राष्ट्र बैंकका अनुसार चालु आवमा कमर्शियल भेहिलकमा बैंकहरूको कर्जा लगानी ४२ करोड ६८ लाख रुपैयाँले घटेको छ । जबकि यही अवधिमा पर्सनल भेहिकलमा ५ अर्ब ४९ करोड रुपैयाँ कर्जा लगानी बढाएका छन् ।
गत असार मसान्तसम्म बैंकहरूले कमर्शियलमा ८७ अर्ब २६ करोड रुपैयाँ लगानी गरेकोमा वैशाख मसान्त आइपुग्दा घटेर ८६ अर्ब ८३ करोड रुपैयाँमा आइपुगेको छ । त्यस्तै, पर्सनल भेहिकलमा असारसम्म ३६ अर्ब ८४ करोड रुपैयाँ लगानी भएकोमा वैशाखसम्म आइपुग्दा १४.९ प्रतिशतले बढेर ४२ अर्ब ३३ करोड रुपैयाँ पुगेको हो ।
चालु आवमा पर्सनल भेहिकलको बिक्री ह्वात्तै बढेकाले समग्रमा हायर ऋण लगानी पनि बढेको हो । साथै, व्यापारीहरूले बजेट अघिको डेढ महिनामा मात्रै साढे ६ हजार बढी कार, जीप, भ्यान आयात गरेका छन् । यसले पनि पर्सनल भेहिकल कर्जा लगानी बढाएको हो ।
विगतमा किस्तामा गाडी किनेकाहरूले ऋण तिरेको र नयाँ सवारी बिक्री खासै नबढेकाले कमर्शियलमा कर्जा लगानी घटेको बैंकरहरू बताउँछन् ।
नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका सीईओ सुरेन्द्रराज रेग्मी पर्सनल भेहिलको नयाँ कर्जाको माग बढे पनि कमर्शियल भेहिकलमा माग नै नआउने गरेको बताउँछन् ।
‘अहिले बैंकहरूसँग पर्याप्त तरलता छ । नयाँ कर्जाको माग आए लगानी गर्न समस्या छैन,’ उनले मेरोअटोसँग भने, ‘पर्सनल भेहिकलको कर्जाको माग देखिन्छ । तर, कमर्शियलमा माग नै आउँदैन ।’
कमर्शियल भेहिकलको ओभर सप्लाई भएकाले पनि नयाँ सवारी खरिदका लागि कर्जाको माग नआएको हुनसक्ने उनको आकलन छ ।
सिप्रदी हायर पर्चेजका सीईओ ललित बानियाँ कमर्शियल भेहिलको व्यापार बढ्न नसक्दा कर्जाको माग नभएको बताउँछन् ।
‘बजारमा पर्सनल भेहिलको माग देखिन्छ । कर्जा पनि बढेको छ । तर, कन्स्ट्रक्सन भेहिकल, बस, ट्रक जस्ता सवारीको माग छैन,’ उनले मेरोअटोसँग भने, ‘नयाँ सवारीको बिक्री नबढेपछि कर्जाको माग बढ्ने कुरै भएन ।’
गत वर्षको तुलनामा कमर्शियल गाडीको आयात भने बढ्दो क्रममा रहेको उनले बताए । ‘बजारमा नयाँ गाडीको माग बढेर आयात बढेको होइन । कोभिडको बेला ल्याएका स्टक गाडीहरू बिक्री भइसकेकाले अहिले आयात बढेको हो । आयात बढेको देखिए पनि व्यापार बढेको छैन,’ उनले भने ।
कुल कर्जा भने कमर्शियलमा दोब्बर धेरै
चालु आवमा कमर्शियल भेहिकलको कर्जा लगानी वृद्धिदर ऋणात्मक भए पनि कुल कर्जा लगानी भने पर्सनल भेहिकलको तुलनामा दोब्बर धेरै छ ।
वैशाखसम्म पर्सनल भेहिकलमा ४२ अर्ब ३३ करोड रुपैयाँ लगानी गरेका छन् । जबकि सोही अवधिमा कमर्शियलमा ८६ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।