काठमाडौं । राजु क्षेत्री नेपाली अटोमोबाइल क्षेत्रमा परिचित नाम हो । उनीसँग अटो क्षेत्रको ३ दशक लामो अनुभव छ । बजाज, महिन्द्रा, यामाहा जस्ता दुईपाँग्रे ब्राण्डमा झण्डै ३० वर्ष बिताएका क्षेत्री यसै वर्ष मात्रै चारपाँग्रे ब्राण्डमा प्रवेश गरेका हुन् । जगदम्बा मोटर्सको सिनियर भाइस प्रेसिडेन्ट क्षेत्रीले हाल नेपालकै कान्छो ईभी ब्राण्ड प्रोटोन सम्हालिरहेका छन् । उनै क्षेत्रीसँग ईभीको व्यापार, चुनौती, प्रोटोनको भविष्यका योजना लगायत बारे मेरोअटोले गरेको कुराकानीको सम्पादित अंश :
विद्युतीय गाडी बिक्री गर्न कत्तिको सजिलो रहेछ ?
झट् हेर्दा केही कठिन देखिन्छ । मैले अटोमोबाइल क्षेत्रमा ३० वर्ष काम गरिसकेको छु । तर, अहिले आएर नेपाल विश्वकै सबैभन्दा कठिन तरिकाले अटोमोबाइल कारोबार गर्नु पर्ने देश बनेको छ । हाम्रो छिमेकी देश भारतमा एक दर्जन ब्राण्ड मात्रै छन् । चीनमा केही ठूला विदेशी ब्राण्ड बाहेक त्यहीँको स्थानीय ब्राण्ड छ । हामी कहाँ भारत, चीन, जापान, युरोप, कोरिया, मलेशिया जस्ता देशमा रहेका ब्राण्ड सबै छन् ।
हामीले यहाँ विचार गर्नु पर्ने कुरा के हो भने यहाँ सही र गलत छुट्टाउन कठिन छ । सन् २००० ताका त्रिपुरेश्वरदेखि टेकुसम्मको लाइनमा करिब ४० ब्राण्डका मोटरसाइकल थिए । ती सबै केही वर्षमा लोप भए । आज कारको अवस्था पनि त्यही देखिँदैछ । बनाउने कम्पनीकै भविष्य अन्योलमा छ, यहाँ ल्याएर बिक्री गर्नेको अवस्था के होला ? त्यसैले हाम्रो बजारलाई कठिन भनेको हुँ ।
सबैभन्दा कान्छो इलेक्ट्रीक ब्राण्डको नेतृत्व गर्दै हुनुहुन्छ । त्यसैले धेरै ब्राण्ड भए भन्ने छुट तपाईंलाई नहोला । ब्राण्ड धेरै हुनु बाहेकको चुनौती के-के देख्नुभयो ?
हाम्रो बजार गुदी होइन, बोक्रा हेरेर गाडी किन्ने धेरै छन् । हामी सबैभन्दा कान्छो ईभी बिक्री गर्ने कम्पनी भए पनि प्रोटोन नेपालको लागि पुरानो ब्राण्ड हो । जिलीले उत्पादन गरेको गाडी हामीले ल्याएका हौं । जिली चीनमा सफल ब्राण्डमा पर्छ । टेक्नीकल्ली प्रोटोनबाट आएको हाम्रो इमास-७, ठ्याक्कै जिलीको ग्यालेक्सी ई-५ हो । त्यसैले यतिको प्रोडक्ट कान्छो भए पनि बजारमा राम्रो गर्न सकिन्छ ।
यहाँ देखिएको चुनौती अनौठो छ । अहिले गाडीमा ६ वर्ष, ब्याट्री र मोटरमा ८ वर्ष वारेन्टी दिएर गाडी बिक्री हुँदै आएका छन् । कसैले ठोकुवा गरेर भन्न सक्छ त धेरै कार ब्राण्ड त्यति वर्ष बजारमा टिक्न सक्छन् । साँचै यो कुराले मलाई कहिलेकाहीँ चिन्तित बनाउँछ । ग्राहकले पनि यस विषयमा सोच्नु पर्छ । यो विषय हामी सबैको लागि चुनौती पनि हो ।
ईभीको इको सिस्टम निर्माण गर्नुपर्छ र गर्दैछौं भन्छन् सबैले । तपाईंले यसलाई कसरी हेर्नुभएको छ ?
अहिले ईभीलाई चाहिने चार्जिङ स्टेशन हो । संख्याको हिसाबले अहिले राम्रो संख्यामा चार्जिङ स्टेशन बनेका छन् । ईभीको बढ्दो बिक्रीमा चार्जिङ स्टेशन बन्नुपर्छ । अहिले हामी करिब ४०/५० स्थानमा चार्जर राख्नेगरी काम गर्दैछौं । हाइवेमा १०० किलोमिटरको दुरीमा कम्तीमा एउटा चार्जर बनाउने हाम्रो योजना हो ।
अहिले बजारमा २०/६० किलोवाट क्षमताका डीसी चार्जर छन् । गाडीको क्षमता धेरै छ । त्यसैले हामी ठूलो साइजको चार्जर राख्दैछौं । केही युनिट आइसकेको छ । १६० किलोवाटको चार्जर हामी राख्ने छौं । सर्भिस पनि निकै महत्वपूर्ण छ । उत्पादकहरूले १५/२० हजार किलोमिटरमा सर्भिस गर्दा हुन्छ भनेको छ । तर, नेपालमा उपभोक्ता पनि कन्भिन्स छैनन् । त्यसैले वर्षको ४/५ पटक सर्भिस निःशुल्क दिने गरेको पाइन्छ । हामी पनि त्यही बाटोमा छौं ।
उपत्यका बाहिर पनि हामी आफैँ ९ स्थानमा ‘थ्री एस’ सेटअप तयार गर्दैछौं । सम्भवतः हामीले देशैभर आफैँ जाने योजना बनाएका छौं । स्थिर सेटअपको लागि पनि हामी आफैँले लगानी गरेर उपत्यका बाहिर सेल्स र सर्भिस सेन्टरहरू बनाउँदैछौं ।
ईभीमा चिनियाँ गाडीको प्रभाव धेरै छ । तर, तपाईंहरूले चीनको दोस्रो ठूलो ब्राण्डले उत्पादन गरेको गाडी ल्याए पनि मलेसियन ब्राण्ड नेमबाट बिक्री गर्नु परेको छ । उपभोक्तालाई कन्भिन्स गर्न कत्तिको कठिन भएको छ ?
पक्कै यसमा हामीले काम गर्नु पर्नेछ । प्रोटोन नेपालमा धेरै वर्षदेखि छ । अहिले पनि पेट्रोल एसयूभी म आफैँ चढ्छु । यसको पर्फमेन्स गज्जप छ । संसारभर गाडी उत्पादकहरूको एलायन्स बन्दैछ । त्यही श्रृंखला जिली र प्रोटोनमा पनि लागू भएको छ । हाम्रो गाडी जिलीको फ्याक्ट्रीमै बन्छ, यतिसम्म की हाम्रो प्रोटोनको लोगोसमेत जिलीकै फ्याक्ट्रीमा बन्छ । राइट ह्याण्ड ड्राइभ देशमा जिली ग्यालेक्सीलाई प्रोटोन ब्राण्डमा बिक्री गर्ने योजना अनुसार नेपालमा जिलीको सट्टा प्रोटोन ब्राण्डमा इमास-७ आएको हो ।
विश्वभर ईभीमा प्राइसवार चल्दैछ । नेपालमा के के गर्दै हुनुहुन्छ ?
हामी अस्वस्थ प्रतिस्पर्धा बढाउने पक्षमा छैनौं । विगतमा पनि जगदम्बा मोटर्सले थुप्रै ब्राण्डमा काम गरेर सफलता पाएका छौं । त्यसैले हामी विगतमा महिन्द्राका मोटरसाइकल र टीभीएसका उत्पादनमा पाएको सफलतालाई हेरेर काम गर्छौ ।
हामीले अहिले टीभीएसमा ६० मिनेटमा पार्ट्स दिन नसके सित्तैमा दिन्छौ भन्ने आँट गरेका छौं । भोलिका दिनमा प्रोटोमा पनि यस्तै कमिटमेन्ट गर्न सक्नेगरी काम गर्दैछौं ।
अहिले एउटा मोडल छ । अब थप कुन कुन मोडल ल्याउँदै हुनुहुन्छ ?
भर्खरै इमास-७ लन्च गरेका छौं । केही दिन अगाडि प्रोटोनको अफिसियलहरू नेपाल आएका थिए । उनीहरूले पनि राम्रो योजना दिएका छौं । छिट्टै ३५ लाखदेखि ४० लाख मूल्य पर्ने ह्याचब्याक बजारमा ल्याउँदै छौं । यसका अलावा केही उत्पादन छिट्टै घोषणा हुनेछ । सम्भवतः साउनमा हुने नाइमा अटो शोमा केही नयाँ देखाउन प्रयास भइरहेको छ ।