कम मूल्यका दुई उत्कृष्ट ईभी नेपाल आउँदै

काठमाडौं । मूल्यका हिसावले ४० लाखभन्दा कममा उपलब्ध हुने दुई विद्युतीय कार नेपाल आउने भएका छन् । चिनियाँ कम्पनी बीवाइडी र मलेशियन ब्राण्ड प्रोटोनको ह्याचव्याक कार नेपाल आउने भएका हुन् ।

बीवाइडीले सिगल ह्याचव्याक कारको बिक्री चीन बाहिर सुरु गरिसकेको छ । त्यसैले सिगल चाँडै नेपाल आउने मोडलमा पर्छ । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले सिगल साउन र भदौमा आयोजना हुने नाइमा नेपाल मोविलिटी एक्स्पो वा नाडा अटो शो २०२५ मध्ये कुनै एकमा सार्वजनिक हुने अनुमान गरिएको छ ।

प्रोटोनले नेपाल ल्याउने इमास-५ ह्याचव्याक कार पनि अटो शोमा आउन सक्ने कम्पनी स्रोतले बतायो । जगदम्बा मोटर्सले बिक्री गर्दै आएको प्रोटोन ब्राण्डमा दोस्रो ईभी मोडलको रुपमा इमास-५ नेपाल आउने छ । यसअघि कम्पनीले इमास-७ एसयूभी ल्याएर बिक्री गर्दै आएको छ ।

सिगल ह्याचव्याक

बीवाइडीले चीनमा सिगल नामबाट बिक्री गर्दै आएको इन्ट्री लेभल ह्याचव्याक कारको नाम युरोपमा ‘डल्फीन सर्फ’ राखेको छ । यस्तोमा नेपालमा कुन नामबाट आउँछ, ठ्याक्कै भन्न सकिने अवस्था छैन ।

युरोपमा बीवाइडीले डल्फीन सर्फलाई एक्टीभ, बुस्ट, कम्फर्ट गरी तीन भेरियन्टमा उपलब्ध गराएको छ । यसको क्याविनमा १०.१ इन्चको टचस्कृन, हिटेडसँगै इलेक्ट्रीक एट्जस्टेबल ओआरभीएम दिइएको छ ।

रेन सेन्सीङ वाइपर, १६ इन्चको ह्वील, पावर ड्राइभर सिट, ३६० डिग्री क्यामरा, वायरलेस फोन चार्जर, हिटेड सिट, एलइडी लाइट जस्ता फिचरको कारण सानो कारमा दमदार फिचर लोड भएको छ । युरोपमा ६५, ८५, ११५ गरी तीन फरक इलेक्ट्रीक मोटरमा उपलब्ध कार नेपालमा सम्भवत सबैभन्दा सानो मोटरमा उपलब्ध हुनेछ ।

बीवाइडी सिगलमा ब्याट्री भने ३० र ४३.२ किलोवाट आवर गरी दुई अप्सन पाउन सकिन्छ । चिनियाँ निर्माताले एलएफपी ब्याट्री प्याक प्रयोग गरेर यसलाई बजारमा ल्याएको छ । यसको ठूलो ब्याट्रीले अधिकतम सिंगल चार्ज रेन्ज ३२२ किलोमिटर दिनेछ ।

प्रोटोन इमास-५

जिलीको जिओमी ब्राण्डमा ‘जिङयूआन’ नामक ह्याचब्याक कार नै नेपाली बजारमा इमास-५ भएर आउने हो । निकै मोर्डन लुक र फिचर लोडेड हुने इमास-५ अहिले बजारमा रहेको नामी बक्सको टप भेरियन्ट र बीवाइडी डल्फिनसँग सिधा प्रतिस्पर्धा गर्ने देखिन्छ ।

चीनमा यसलाई दुई ब्याट्री र मोटर अप्सनमा उपलब्ध गराएको छ । सम्भवतः नेपाली बजारमा ठूलो मोटर र ब्याट्री साइजमा मात्रै इमास–फाइभ उपलब्ध हुनेछ ।

यसको टप भेरियन्टमा ८५ किलोवाट क्षमताको मोटर छ । उक्त मोटरले १५० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यसमा ४०.१६ किलोवाट आवरको ब्याट्री छ । कम्पनीको ‘जिली सेन्डम ब्याट्री सेफ्टी सिस्टम’ रहेको उक्त ब्याट्रीले ३१० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

प्रिमियम ह्याचब्याक सेग्मेन्टमा उपलब्ध कारमा ८.८ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, मल्टीफङ्गशनल स्टेरिङ ह्वील, १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम उपलब्ध छ । हाइकार कनेक्सन, ५० वाटको वायरलेस चार्जर, २५६ किसिमको २५६ कलर एम्बियन्ट लाइट, किलेस इन्ट्री, चार स्पीकर, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट दिइएको छ ।

सुरक्षाको लागि एडास २.० फिचर उपलब्ध कारमा थुप्रै आधुनिक फिचर छन् ।

कति पर्ला मूल्य ?

नेपाली बजारमा आउने दुई ह्याचव्याक कारको सुरुवाती मूल्य २७ लाखदेखि ४० लाख भित्रै रहने अनुमान गर्न सकिन्छ ।


Back_to_top