नेपाल आउने भयो ‘महिन्द्रा बीई-६ र एक्सईभी-९’, कति पर्ला मूल्य ?

काठमाडौं । महिन्द्राको चर्चित दुई एसयूभी नेपाल आउने भएको छ । कम्पनीले भारतमा बिक्री सुरु गरेको बीई-६ र एक्सईभी-९ई नेपाल ल्याउने भएको हो ।

महिन्द्राको आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिका अनुसार जेठको पहिलो सातासम्ममा यी दुबै गाडीको डेमो युनिट नेपाल आउने छ । अहिले अन्तर्राष्ट्रिय बजारमा उपलब्ध हुने स्पेक तयार भएर भारतमा परीक्षण चलिरहेको छ । त्यसैले दुबै मोडलको ‘डेमो भेहिकल’ चाँडै बजारमा आउने पक्का भएको हो ।

‘हामी जेठमा दुबै मोडल नेपाल ल्याएर परीक्षण गर्ने तयारीमा छौं । अबको केही दिनमै गाडी हिड्दै छ । सम्भवत नेपाल मोविलिटी शोभन्दा अगाडि नै बिक्री सुरु गर्न सकिन्छ होला’, अग्नी ग्रुपका चेयरम्यान क्याविनेट श्रेष्ठले मेरोअटोसँग भने ।

नाइमाले आगामी साउन २१ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल मोविलिटी एक्स्पो २०२५’ आयोजना गर्दैछ । अहिले महिन्द्राले एक्सयूभी-४०० ईभी मोडल बिक्री गर्दै आएको छ । बीई-६ र एक्सईभी-९ को बिक्री सुरु भएसँगै कम्पनीसँग तीन इलेक्ट्रीक मोडल हुनेछन् ।

यस्तो छ बीई-६

महिन्द्राले बीई-६ लाई युवा पुस्ताको चाहनालाई ध्यानमा राखेर निर्माण गरेको हो । यसलाई फिचरसँगै डिजाइन पनि फ्यूचरस्टीक बनाउन कम्पनीले कुनै कसर बाँकी राखेको छैन ।

ब्लाइन्ड स्पट मोनिटरिङ सिस्टम, ३६० डिग्री क्यामेरा, एडास लेभल-२, एचयूडी डिस्प्ले, इनबिल्ट म्याप र इन्ड्रोइड अटो जस्ता फिचर साँच्चै युवा पुस्तालाई नै हेरेर दिइएको छ । क्याविन र ड्यासबोर्ड पनि उत्कृष्ट छ । लुम्बर सपोर्टसहितको सिट, प्रसस्त हेडरुम, लेगरुम र भ्यान्टिलेटेड सिट यसको अर्को बलियो पक्ष हो ।

महिन्द्राले यसमा फिनड्रिमले उत्पादन गरेको ब्याट्री प्रयोग गरेको छ । दुई ब्याट्री अप्सनमा उपलब्ध हुने बीई-६ मा ५९ किलोवाट आवर र ७९ किलोवाट आवरको ब्याट्री अप्सन पाउन सकिन्छ । यसको कम्पनी क्लेम रेन्ज ६८२ किलोमिटरसम्म छ । तर, डब्लूएलटीपी रेन्ज ५५० किलोमिटर आसपास हुने अनुमान गरिएको छ ।

अहिले भारतीय बजारमा बीई-६ लङ रेन्ज मोडलमा २१० किलोवाटको रियर ह्वील मोटर दिइएको छ । नेपाली बजारमा कुन साइजको मोटरमा उपलब्ध हुन्छ भन्ने एकिन जानकारी बाहिर आएको छैन ।

एक्सईभी-९

महिन्द्रा बीई-६मा भएको सबै फिचर एक्सईभी-९ ईमा पाउन सकिन्छ । तर, एक्सईभी-९ साइजमा भने निकै ठूलो छ । ग्राउन्ड क्लियरेन्स भने दुबै एसयूभीमा समान २०७ एमएम छ । यसको ड्यासबोर्डमा तीन वटा स्कृन छन् । सबै स्कृनको साइज १२.३ इन्चको छ ।

फ्लस डोर ह्याण्डल, बडीमा प्रसस्तै एजहरुको प्रयोग र एलइडी लाइटको ब्यापक प्रयोग भएको एक्सईभी-९ ईमा दुई ह्वील अप्सन १९ र २० इन्चको पाउन सकिन्छ ।

क्वालकमले बनाएको स्न्यापड्रागन ८२९५ प्रोसेसर, २४ जीबी र्याम र १२८ जीवी स्टोरेज रहेको इन्फोटेन्टमेन्ट सिस्टम तिब्र गतिमा चलाउन मिल्छ । फ्ल्याटवटम स्टेरिङ ह्वील, वायरलेस चार्जर, पानारोमिक सनरुफ जस्ता फिचर उपलब्ध एक्सईभी-९ कुप्पे डिजाइनमा छ ।

कम्पनीले यसमा पनि समान ५९ र ७९ किलोवाट आवरको ब्याट्री र १७० र २१० किलोवाटको मोटर अप्सन दिएको छ । महिन्द्राले १७५ किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्नेगरी यसलाई बजारमा ल्याएको हो । यसलाई २० देखि ८० प्रतिशत चार्ज गर्न केबल २० मिनेट लाग्ने कम्पनीको दावी छ ।

कति पर्ला नेपालमा मूल्य ?

अहिले धेरैले चासोका साथ हेरेको विषय नै यी दुई एसयूभीको मूल्य हो । भारतमा करिब १९ लाखदेखि ३० लाख ५० हजारसम्म मूल्य रहेका यी दुबै मोडल नेपालमा ६० देखि ९० लाख रुपैयाँसम्म मूल्य निर्धारण भएर बिक्री वितरण सुरु हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top