१ वर्ष भित्रै संचालनमा आउँदै दुई सुरुङमार्ग, के सबै सवारीसाधन गुड्न पाउँछन् ?

काठमाडौं । नेपाल सुरुङ युगमा प्रवेश गरेको छ । अहिले साढे १० किलोमिटर दूरीका ५ वटा सुरुङ निर्माणाधीन अवस्थामा छन् भने थप साढे ३ किलोमिटर दूरीका ३ वटा सुरुङ निर्माण सुरू हुँदैछ ।

हाल नागढुंगा-नौबिसे (२६८८ मिटर), सिद्धबाबा (११२६ मिटर), काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्टट्रयाक)मा ३ वटा छुट्टाछुट्टै दुइतर्फी (लेनडाँडाको १६३३ मिटर, धेद्रेको १७२८ र महादेवटारमा ३३५५ मिटर) सुरुङ निर्माणाधीन अवस्थामा छन् । यीमध्ये महादेवटार बाहेक अरू सबै सुरुङको ब्रेक थ्रु भइसकेको छ ।

फास्ट ट्रयाकमै थप ३ वटा सुरुङ निर्माण सुरू गरिँदै छ । चन्द्रामा भीरमा २ हजार २५० मिटर, देवीचौरमा १ हजार मिटर र सिसौटारमा ३९० मिटर दूरीको सुरुङ डिजाइनको क्रममा छन् ।

त्यस्तै, सरकारले देशभरका एक दर्जन बढी स्थानमा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ । जसमध्ये केहीको अहिले प्रारम्भिक चरणका (पूर्व सम्भाव्यता अध्ययन, डीपीआर, ईआइए निर्माण लगायत) काम भइरहेको छ ।

हाल निर्माणधीन ५ सुरुङमार्ग मध्ये नागढुंगा र सिद्धबाबा सुरुङमार्ग यसै वर्ष (२०८२) भित्रै गाडी गुडाउने लक्ष्य राखिएको छ । काठमाडौं तराई फास्ट ट्रयाकमा निर्माण भइरहेका सबै सुरुङमार्ग भने उक्त सडक निर्माण सम्पन्न भइसकेपछि मात्रै संचालनमा आउने छन् ।

नागढुंगा असोजसम्म संचालनमा ल्याइने

नागढुंगा-नौबिसे सुरुङमार्ग चालु आर्थिक वर्षको असोजभित्रै संचालनमा ल्याउने लक्ष्य राखिएको छ । २२ अर्ब लगानीमा निर्माण भइरहेको यस सुरुङमार्गको ८७ प्रगति काम पूरा भइसकेको छ भने वित्तीय प्रगति ७६.६८ प्रतिशत छ ।

नागढुंगा सुरुङमार्ग आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले कुनै अवरोध नआए असोजसम्म सुरुङमार्ग संचालनमा ल्याइने बताए ।

‘अहिले सुरुङमार्ग भित्र ढलान, बिजुली बत्ती जडान, भेन्टिलेटर जडान लगायत फिनसिङको काम भइरहेको छ,’ उनले भने, ‘अब स्थानीयले फेरि अवरोध गरेनन् र अरू कुनै अवरोध भएन भने बाँकी काम सकेर असोज भित्रै सुरुङमार्ग संचालनमा ल्याउँछौं ।’ यद्यपि, निर्माण अवधि रिभाइजका लागि निर्माण कम्पनीले प्रस्ताव गरेको उनले बताए ।

आयोजनाको २ हजार ६८८ मिटर लामो मुख्य सुरुङ २०८१ वैशाख ३ गते र २ हजार ५५७ मिटर लामो अपतकाली सुरुङ २०८० साउन २२ गते ब्रेक थ्रु गरिएको थियो । त्यस्तै, आयोजना अन्तर्गत ३ वटा अण्डरपास, ४ वटा बक्स कल्भर्ट, १ ओभर पास र ३ वटा पुल निर्माण सम्पन्न भइसकेको छ । बलम्बुमा फ्लाइओभर ओभर निर्माण पनि ९५ प्रतिशत पूरा भइसकेको र रेलिङ राख्ने लगायत फिनसिङको काम मात्र बाँकी रहेको इन्जिनीयर पन्थीले जानकारी दिए ।

त्यस्तै, ९ हजार ९५६.११ मिटर एप्रोच, र्याम्प र अन्य सडक निर्माण गर्नुपर्नेमा हालसम्म ६ हजार ५६२.०५ मिटर सम्पन्न भइसकेको छ । अब ३ हजार ३९४.०६ मिटर सडक निर्माण गर्न बाँकी रहेको आयोजनाले जनाएको छ ।यो सुरुङ जापानी कम्पनी हाज्मारआन्दो जेभीले निर्माण गरिरहेको हो ।

सिद्धबाबामा १ वर्ष भित्र गाडी गुड्ने

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा पनि १ वर्ष भित्र गाडी गुडाउने लक्ष्य राखिएको छ । यस आयोजनाको निर्माण अवधि अझै २ वर्ष बाँकी रहे पनि १ वर्ष भित्रै काम पूरा गरी संचालनमा ल्याइने गरी काम भइरहेको आयोजना प्रमुख  सिनियर डिभिजनल इन्जिनीयर कृष्णराज अधिकारीले बताए ।

‘सुरुङ भित्र अहिले लाइनिङ, ढलान, कल्भर्ट निर्माण लगायत काम भइरहेको छ । सुरुङ बाहिर पनि स्लोप डाउन, हेलिप्याड, कल्भर्ट निर्माण लगायत काम पनि धमाधम भइरहेको छ,’ उनले भने, ‘सँगसँगै सुरुङमार्गका लागि आवश्यक उपकरण खरिद प्रक्रिया अघि बढाइएको छ । अबको ११/१२ महिना भित्रै सबै काम सकेर सुरुङमार्ग संचालनमा ल्याउने लक्ष्य छ ।’

हालसम्म आयोजनाको ४५.५८ प्रतिशत भौतिक र ४३.८ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजनाको ११२६ मिटर लामो मुख्य सुरुङ गत माघ ११ गते ‘ब्रेक थ्रु’ गरिएको थियो । त्यस्तै, आयोजना अन्तर्गतका ३ वटा बाइपास सुरुङ खनिसकिएको छ । १६१ मिटर लामो बाइपास २ सुरुङ गत पुस ७ गते, १५१ मिटर लामो बाइपास १ सुरुङ असोज ४ गते र १३० मिटर लामो बाइबास ३ को सुरुङ गत भदौ २६ गते ब्रेक थ्रु गरिएको थियो । आयोजना अन्तर्गत दक्षिणतर्फ २ हजार ३०० स्लोप प्रोटेक्सन गर्नु पर्नेमा हालसम्म १ हजार ४९५ वर्गमिटर र ११०० मिटरको उत्तरतर्फ ४९५ वर्गमिटर बराबरको काम सम्पन्न भएको छ । त्यस्तै, उत्तरतर्फ ११०० मिटर स्लोप प्रोटेक्सन गर्नुपर्नेमा ४९५ मिटरको काम पूरा भएको छ ।

इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण भइरहेको यो सुरुङ चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले ठेक्का पाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-तानसेन सडकखण्डको तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रमा उक्त सुरुङ निर्माण गरिएको हो । यो सुरुङ संचालनमा आएपछि पाल्पा, बाग्लुङ, गुल्मी लगायत जिल्लाका बासिन्दाले पहिरोको जोखिमबाट मुक्ति पाउने छन्

सुरुङमार्गमा कस्ता गाडी गुड्न पाउँछन् ?

सरकारले सुरुङमार्ग संचालनका लागि कार्यविधिको मस्यौदा बनाइसकेको छ । उक्त कार्यविधि स्वीकृत हुने चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

नागढुंगा सुरुङमार्गका सिनियर डिभिजनल इन्जिनियर पन्थीले सुरुङमार्गमा दुईपाँग्रे, तीनपाँग्रे र पेट्रोलियम पद्धार्थ बोक्ने बाहेक अरू सबै खाले सवारी साधन गुड्न पाउने बताए ।

‘मोटरसाइकल/स्कुटर, टेम्पो र इन्धन बोक्ने ट्यांकरलाई सुरुङमार्गमा प्रवेश गर्न दिइँदैन,’ उनले भने, ‘ती बाहेक अरू सबै सवारी साधन सुरुङ भित्र गुड्न पाउँछन् ।’

उता, सिद्धबाबा सुरुङमार्गमा पनि कस्ता सवारीलाई मात्र प्रवेश दिने भन्ने टुंगो लागेको छैन । कार्यविधि बनेपछि सोही अनुसार तय हुने आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर अधिकारीले बताए ।

‘सुरुङमार्गमा कस्ता सवारी चल्न दिने भन्ने बारे कुनै मापदण्ड बनेको छैन । कार्यविधि बनेपछि मात्रै थाहा हुन्छ,’ अधिकारीले भने । सिद्धबाबा सुरुङमार्ग पहिरोको जोखिम छल्न बनाइएकाले सबै खाले सवारी साधन गुड्न दिइने सम्भावना छ ।

सुरुङ संचालन कार्यविधिमा सुरुङमार्ग हुँदै गाडी गुडाउँदा निश्चित शुल्क (टोल) तिर्नुपर्ने प्रस्ताव गरिएको छ । सवारी साधन अनुसार न्यूनतम ५० रुपैयाँदेखि ५०० रुपैयाँसम्म टोल शुल्क उठाउने प्रस्ताव गरिएको छ ।यद्यपि, कार्यविधि स्वीकृत हुँदा प्रस्तावित दर हेरफेर हुन सक्छ ।


Back_to_top