विद्युतीय कारमा निकै कडा प्रतिस्पर्धा सुरु भएको छ । नेपाली बजारमा सुरुदेखि इलेक्ट्रीक कार बिक्री वितरण गर्दै आएको महिन्द्राको इटुओ सबैभन्दा सस्तो कारको रुपमा परिचित थियो । तर, चिनियाँ कम्पनीको उत्पादन दायले नेपाली बजारमा प्रबेश गरेसँगै सस्तो मूल्यको कारमा आफुलाई उभ्याएको छ ।
करिब १४ लाख मूल्यबाट सुरु हुने दाय र २२ लाख मूल्य रहेको इटुओ बीचमा प्रतिस्पर्धा रहेको छ । तर, इटुवको तुलनामा दाय निकै कमजोर देखिन्छ । तर, उसको मूल्य नै करिब ९ लाख रुपैयाँ सस्तो रहेको छ ।
त्यसैले हामीले यी दुई कारको बीच रहेका भिन्नता जानकारी दिने उद्देश्यले यो रिपोर्ट तयार पारेका छौं ।
महिन्द्रा इटुओ
महिन्द्राको इटुओ नेपाली बजारमा चिनाइ रहनु पर्ने इभी होइन । सानो र आकर्षक यी विधुतीय कारहरु नेपाली बाटाहरुमा गुड्न थालेको एक दशक भन्दा बढी समय भइसकेको छ । अग्नी इनर्जीले नेपाली बजार बिगत धेरै वर्षदेखि महिन्द्राको इटुओ इलेक्ट्रीक कारको बिक्री गर्दै आएको छ ।
विभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध यी कारहरु छरिता र साँघुरा गल्लीहरुमा पनि चलाउन सजिलो रहेको छ ।
सुरुका दिनहरुमा रेभाको नाममा नेपाली बजारमा आएको यो कार पछि भारतमा महिन्द्रा ग्रुपले टेकओभर गरेपछि महिन्द्रा इटुओको नाममा आएको हो । यो कारको अहिले इटुओ प्लस भेरियन्टमा उपलब्ध रहेको छ ।
कारमा ११ किलोवाट आवरको लिथिएम आयन ब्याट्री रहेको छ, जसले एक पटकको फुल चार्जमा १ सय १० किलो मिटरको रेन्ज प्रदान गर्छ । रियर ह्वील ड्राइभ भएको यस कारमा १७० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।
पावर विण्डो, पावर स्टेरिङ्ग, पूस स्टार्टस्टप, किलेस रिमोट इन्ट्री तथा अटोमेटीक क्लाईमेट कन्ट्रोल, डिजिटल ओडोमीटर जस्ता प्रिमियम फिचर पाउन सकिन्छ । यस कारको नेपाली बजारमा सुरुवाति मूल्य २२ लाख रुपैयाँ रहेको छ ।
दाय इलेक्ट्रीक
दिगो ग्रुपले नेपाली बजारमा चिनियाँ इलेक्ट्रीक ब्राण्ड दायका कारहरु ल्याएको हो । दाय ब्रान्डको इभी कार दुई प्रकारका ब्याट्री अप्सन लीड एसिड र लिथियम आयनको साथमा नेपाली बजारमा उपलब्ध रहेको छ ।
डीएच थ्री फिप्टीमा ७२ भोल्टको मेन्टीनेन्सफ्रि लिड एसिड व्याट्री यसमा दिइएको छ । जसले फुल चार्ज हुँदा ८ यूनिट बिधुत खपत गर्छ ।
त्यस्तै डीएचथ्री फिप्टी एल मा ९.६ किलोवाट आवरको लिथिएम आयन व्याट्री रहेको छ, जसलाई फुल चार्ज गर्न १० यूनिट बिजुलीको आवश्यक्ता पर्छ ।
यो कारले एक पटकको फुल चार्जमा १०० देखि १५० किलोमिटरसम्म माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । यो कारको टप स्पीड ६० किलोमिटर प्रति घण्टाको रहेको छ ।
दायका कारहरुमा पावर विण्डो, पावर स्टिेरिङ्ग, एअर कन्डिसन, फ्रन्ट फगल्याम्प, रिमोट कन्ट्रोल लकिङ्ग सिस्टम, रिभर्स क्यामरा, ड्यासबोर्डमा ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहेको छ ।
सुरक्षाका लागि यो कारमा एन्टी लक ब्रेकिङ्ग सिस्टम समेत रहेको छ । रियर ह्वील ड्राइभ सिस्टम रहेको यस कारमा १६० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।
बजारमा दायका काको मूल्य लिड एसीडलाई १४ लाख ९० हजार रुपैयाँ र लिथिएम आयन ब्याट्री युक्त कारको १८ लाख २५ हजार तोकिएको छ ।
कम्पनीले लिड एसिड ब्याट्रीमा १ वर्षको तथा लिथिएम आयन ब्याट्रीमा ३ वर्षको वारेन्टी प्रदान गरेको छ । भदौ १० देखि सुरु हुने नाडा अटो शोमा दायका इलेक्ट्रीक कार प्रदर्शनीमा रहने छ ।
निष्कर्ष
यदि तपाई अत्यन्त कम रकम कारको लागि खर्च गर्ने र कार नै किन्ने सोचमा हुनुहुन्छ भने दायका कार तपाईको रोजाईमा पर्न सक्छ । नत्र केही बढी रकम तिरेर एउटा पर्फेक्ट इलेक्ट्रीक कारको खोजीमा हुनुहुन्छ भने इटुओ तपाईले किन्दा उत्तम हुन्छ ।
नेपाली बजारमा लामो समयदेखि गुडीरहेका महिन्द्राको इलेक्ट्रीक कार बजार टेष्टेड मोडल हो भने दायका कार भर्रखर बजारमा आएको हो । यसले नेपाली सडकमा कस्तो पर्फमेन्स गर्छ अहिल्यै भन्न सक्ने अवस्था छैन ।


