महिन्द्राले तीन नयाँ इलेक्ट्रीक भेहिकल निर्माण गर्ने योजना आफ्नो साधारण सभामा पेश गरेको छ । कम्पनीले २०२१ सम्ममा तीन नयाँ इभी ल्याउने योजना अघि सारेको हो ।
हाल इलेक्ट्रीक कार इभेरिटो बिक्री गर्दै आएको महिन्द्रा आगामी केही महिनामा इटुओको फेसलिफ्ट मोडल ल्याउने तयारी गरिरहेको छ भने तीन वर्ष भित्र नयाँ इभी मोडल बिक्री गर्ने लक्ष्य लिएको छ । कम्पनीले उत्पादन गर्ने नयाँ इलेक्ट्रीक गाडीमा आकर्षक सुरक्षा विशेषता प्रदान गर्ने कम्पनीले जनाएको छ ।
पछिल्लो समय महिन्द्रा कम्पनी मात्रै नभई विभिन्न अटो उत्पादन कम्पनी दुई, तीन र चारपाङ्ग्रे विद्युतीय सवारीको उत्पादनमा केन्द्रित भएको भन्दै कम्पनीका एमडी पवन गोयन्काल सरकारले जिएसटी घटाएर पाँच प्रतिशत कायम गरेसँगै इभी उत्पादन तथा बिक्री वितरण गर्न सहज वातावरण बनेको बताएका छन् ।
कम्पनीसँग थुप्रै इभी परियोजना भएको बताउँदै गोयन्काले कम्पनीकै उत्पादन क्षमता बढाउने योजना बनाइएको बताए । महिन्द्राले ब्याट्री निर्माण, मोटर, ट्रान्समिसन उत्पादनको लागि झन्डै २ सय करोड लगानी गर्ने घोषणासमेत गरेको छ ।
कम्पनीले इलेक्ट्रीक केयूभी १०० डिसेम्बर २०१९ सम्ममा बजारमा उतार्ने तयारी गरेको छ भने २०२० मा एक्सयूभी ३०० इभी र २०२१ मा फोर्डसँग मिलेर नयाँ इभी ल्याउने योजना बनाएको छ ।


