काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी महिन्द्राले एक महिनामै ६० हजार युनिट बढी एसयूभी बिक्री गरेको छ ।
कम्पनीले सन् २०२६ को जुलाई महिनामा मात्रै ६० हजार ४८ युनिट एसयूभी बेचेको हो । यो सन् २०२५ जुलाईको तुलनामा २०.४१ प्रतिशत अर्थात् १० हजार १७७ युनिट धेरै हो । कम्पनीले गत वर्ष जुलाई ४९ हजार ८७१ युनिट एसयूभी बिक्री गरेको थियो ।
कम्पनीले आर्थिक वर्ष २०२७ को पहिलो चार महिनामा प्यासेन्जर कार बिक्रीमा उल्लेख्य सुधार आएको छ । कम्पनीले अप्रिलदेखि जुलाईसम्म २ लाख ३४ हजार ७९३ युनिट प्यासेन्जर कार बेचेको हो । जुन गत वर्षको सोही अवधिको तुलनामा १६ प्रतिशत धेरै हो । कम्पनीले गत वर्ष सोही अवधिमा २ लाख १ हजार ९३८ युनिट एसयूभी बेचेको थियो ।
महिन्द्राले बजारमा ल्याएका नयाँ एसयूभी ग्राहकले मन पराउँदा बिक्रीमा सुधार आएको हो । महिन्द्राको थार, स्कर्पियो एन, बोलेरो, एसयूभी थ्रीएक्सओ, एक्सयूभी सेभेन एक्सओ चर्चित छन् । त्यस्तै, विद्युतीतर्फ महिन्द्रा एक्सईभी ९ ई, बीई सिक्स, एक्सईभी नाइन एसले राम्रो बजार पाइरहेका छन् ।
नेपालमा पनि महिन्द्राको स्कर्पियो, बोलेरो लगायतका मोडल चर्चित छन् । आधिकारिक बिक्रेता अग्नी इनकर्पोरेट एक्सईभी ९ ई र बीई सिक्स ईभी पनि राम्रै संख्यामा बेचिरहेको छ ।
महिन्द्राको जुलाई कमर्शियल सवारी बिक्रीमा पनि ठूलो वृद्धि देखिएको छ । कम्पनीको तीनपाँग्रे सवारी बिक्री ६९ प्रतिशतले बढेर १४ हजार ५३८ युनिट पुगेको छ । गत वर्ष जुलाई जम्मा ९ हजार ४७५ युनिट तीनपाँँग्रे सवारी बेचेको थियो ।
त्यस्तै, महिन्द्राको लाइट कमर्शियल भेहिकल २ टनभन्दा तलको बिक्री ३१ र २ टन माथिको १९ प्रतिशतले बढेको छ । कम्पनीले जुलाई कुल २५ हजार २०६ युनिट चारपाँग्रे कमर्शियल बिक्री गरेका हो ।


