काठमाडौं । महिन्द्राले आफ्नो चर्चित अफरोड एसयूभी थारको नयाँ मोडल आगामी अगस्ट १५ तारिखमा सार्वजनिक गर्ने भएको छ । कम्पनीको सफल मोडल अफरोड एसयूभी थार ५ ढोका सहित आउन लागेको हो ।
यसअघि सन् २०२० बाट भारतमा बिक्री हुँदै आएको नयाँ जेनेरेशन थार जीपसँगको मुद्दाको कारण भारत बाहेक अन्य देशमा बिक्री बितरण गर्न पाएको थिएन । त्यसैले नयाँ थार अन्तर्राष्ट्रिय बजारलाई नै ध्यानमा राखेर तयार गरेको हो । कम्पनीले यसको ग्लोबल प्रिमियर पनि साउथ अफ्रिकाबाट गर्न लागेको छ ।
अगस्ट १५ तारिखमा साउथ अफ्रिकाबाट यसको ग्लोबल प्रिमियर हुनेछ । अहिले बिभिन्न समयमा यसको परिक्षण भइरहेका तस्विरहरु बाहिर आएका छन् । परिक्षणको क्रममा देखिएको तस्विरलाई आधार मान्दा नयाँ थारको फ्रन्ट फेसियामा निकै ठूलो परिमार्जन देख्न सकिन्छ ।
नयाँ थार दुई इन्जिन अप्सनमा आउने छ । यसमा २.२ लिटर क्षमताको डिजेल र २.० लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन रहने छ । सब फोर मिटर सेग्मेन्टमा आउने नयाँ थारको लम्बाई ३९८५ एमएम, चौडाई १८२० एमएम र उचाई भने दुई अप्सन १८२० वा १८५० एमएम मध्य एक छनोट गर्न सकिने छ ।
भारतीय बजारमा बढ्दो एसयूभीको माग सम्बोधन गर्न भन्दै मारुती सुजुकी इन्डियाले जिम्नी अफरोड एसयूभी सार्वजनिक गरेको थियो । जिम्नीको बिक्री सुरु भएको केही दिनमा नै महिन्द्राले पनि चल्तीको आफ्नो एसयूभी थारको ५ डोर भर्सन सार्वजनिक गर्ने भएको हो ।
यसअघि भारतमा बिक्री हुँदै आएको थार नेपाल आएको थिएन । अब बन्ने थार भने नेपाल आउने छ । अगस्ट १५ मा सार्वजनिक भएपनि यसको बिक्री भने यही वर्षको अन्त्यतिरबाट सुरु हुने अनुमान गरिएको छ ।


