काठमाडौं । पृथ्वी राजमार्गको मलेखु-मुग्लिन सडक विस्तार सुस्त रहेको छ । ठेक्का सम्झौता अनुसार काम सम्पन्न भइसक्नुपर्नेमा हालसम्म करिब ४० प्रतिशत मात्रै काम पूरा भएको हो ।
३८.८६ किलोमिटर यो खण्ड २०७९ पुस १५ गते ३ वर्षमा सम्पन्न गर्नेगरी ठेक्का लगाइएको थियो । उक्त म्याद गत पुस १५ गते सकिएको छ । तर, हालसम्म ४० प्रतिशत मात्रै काम सम्पन्न भएको हो । तोकिएको समयमा काम पूरा नभएपछि ६ महिना (आगामी असार १५ सम्म) म्याद थपिएको छ ।
नागढुंगा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन-मलेखु सडकका इञ्जिनियर विजय दरैका अनुसार हालसम्म ४० प्रतिशत प्रगति भएको छ ।
उनका अनुसार हालसम्म ११ किलोमिटर कालोपत्र गरिएको छ । कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र गरिसकिएको छ । धादिङको बाँदरेमा कालोपत्र भइरहेको छ । थप ठाउँमा कालोपत्रका लागि तीव्र गतिमा काम भइरहेको उनले बताए ।
फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखेर कालोपत्रको अन्तिम तयारी गरिएको उनले जानकारी दिए । अबको मौसम कालोपत्रका लागि उपयुक्त हुने भएकाले तयारी तीव्र गतिमा भएको हो । झण्डै २०० मजदुर, कर्मचारी, प्राविधिक कालोपत्रको काम जुटिरहेको उनले बताए ।
कालोपत्रका लागि निर्माण समाग्री अभाव हुने अवस्थामा पुगेको छ । अहिले धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भए पनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने देखिएको उनको भनाइ छ ।
यसैगरी ६ वटा पुलमध्ये हुग्दि र चरौदीको पुलको फाउण्डेसनपछिको काम अहिले भइरहेको छ । यस्तै कृष्णभिरको पहिरो रोकथामको काम पनि भइरहेको उनले जानकारी दिए ।
सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ ।
यो सडक निर्माणको ठेक्का शर्मा-जेडआइसीजीले ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा पाएको छ ।

