पछिल्लो ५ वर्षमा हुन्डाईले बेच्यो १० हजार कार, क्रेटाको संख्या कति ?

काठमाडौं । सन् २०२१ जनवरीदेखि २०२५ डिसेम्बर अन्तिमसम्म नेपाल ल्याएर गाडी बिक्री गर्ने कम्पनीमा हुन्डाई सबैभन्दा अगाडि देखिएको छ । कम्पनीले विगत ५ वर्षमा १० हजार ३७८ युनिट कार नेपाल ल्याएर बिक्री गरेको देखिन्छ ।

हुन्डाईको बिक्रीमा सबैभन्दा राम्रो वर्ष २०२१ रहेको थियो । कम्पनीले उक्त वर्ष ४ हजार १८३ युनिट कार बिक्री गरेको थियो । कम्पनीको उक्त बिक्रीमा क्रेटा एसयूभी, ग्राण्ड आइटेन र भेन्यू एसयूभीको हिस्सा सबैभन्दा धेरै थियो ।

हुन्डाईले विगत ५ वर्षमा ९६३ युनिट विद्युतीय कार बिक्री गरेको छ । जसमा कोना, आयोनिक फाइभ र अघिल्लो वर्ष आयात भएको क्रेटा ईभीको हिस्सा बढी देखिन्छ ।

हुन्डाईले नेपालमा बिक्री गर्दै आएको ठूला एसयूभीको बिक्री भने क्रमिक रूपमा घट्दै गएको देखिन्छ । कुनै समयको चर्चित एसयूभी टुसान, शान्ताफे र पालिसेड जस्ता मोडलको विगत ५ वर्षमा केबल १६८ युनिट बिक्री भएको देखिन्छ ।

हुन्डाईले ईभीको उच्च माग सुरू भएसँगै बजार हिस्सा गुमाएको थियो । कम्पनीले सन् २०२२ मा १ हजार ५३६ युनिट, २०२३ मा १ हजार ३४७ युनिट, २०२४ मा १ हजार ५३१ युनिट र २०२५ मा १ हजार ७८१ युनिट कार बिक्री गरेको देखिन्छ ।

विगत ५ वर्षमा हुन्डाईले सबैभन्दा धेरै बिक्री गरेको मोडल भने क्रेटा हो । क्रेटा पेट्रोल मोडल ३ हजार ९४८ युनिट बिक्री गर्दा क्रेटा ईभी २५२ युनिट ल्याएको छ । ४ हजार ३०० युनिट क्रेटा नेपाली सडकमा भित्रिएको छ ।


Back_to_top