धमाधम नयाँ ब्राण्डका इलेक्ट्रीक स्कुटर र मोटरसाइकल नेपाल आउँदै

काठमाडौं । इलेक्ट्रीक सवारी साधनमा एक प्रकारको आकर्षण बढी रहेको समयमा सरकारले चालु आर्थिक वर्षको बजेटबाट चार पाङ्ग्रे इलेक्ट्रीक साधनमा करका दरहरु बढाएपछि यस्ता साधनको आयात ठप्प भएको छ । तर, इलेक्ट्रीक स्कुटरहरु भने एकपछि अर्को नेपाल आउन थालेका छन् ।

लकडाउन खुकुलो भएसँगै टेल्जी र जिनियस ब्राण्डका इलेक्ट्री स्कुटर नेपाली बजारमा बिक्री सुरु भएको थियो । त्यसैगरि बजारमा एम्पिएर, प्योर जस्ता ब्राण्डका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी साधनको बिक्री सुरु भएको छ ।

नेपालमा यसअघि पनि बेला, टेरा, एनआईयू लगायतका ब्राण्डले इलेक्ट्रीक स्कुटर बिक्री गर्दै आएकोमा अब नयाँ ब्राण्डहरु थपिदै गएका हुन् ।

टेल्जीका स्कुटर

योमा माई प्रालिले ल्याएको टेल्जी ब्राण्डका लायन र टाइगर नामका स्कुटर अहिले बिक्री हुँदै आएको छ ।

यी दुबै स्कुटरको मूल्य १ लाख ८३ हजार रुपैयाँ तोकेर बिक्री वितरण हुँदै आएको छ । टेल्जी लायनमा २.५ किलोवाट पावरको मोटर र १.९ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यी स्कुटरमा एक पटकको फुल चार्जमा ८५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी छ । यसको टप स्पीड क्षमता ४० किलोमिटर प्रतिघन्टा रहेको छ ।

यस्तै टाइगरमा २.५ किलोवाट पावरको मोटर मोटरका साथै २.३ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यी स्कुटर एक पटकको फुल चार्जमा ९५ किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दावी रहेको छ । यसको टप स्पीड क्षमता ५० किलोमिटर प्रतिघन्टा रहेको छ ।

जिनियस ब्राण्ड

योमा माई प्रालिले नै जिनियस एक्स ४६ नेकेड र जिनियस एक्सवाइ ४६ स्पोर्टस मोटरसाइकल बिक्री गर्दै आएको छ । यी दुवै मोटरसाइकलमा समान फिचर रहेका छन् ।

यी दुबै मोटरसाइकलमा ७२ भोल्ट ६० एम्पीयर व्याट्री र ४ हजार वाटको मोटर रहेको छ । यो व्याट्रीलाई सामान्य घरको बिजुलीमा फुल चार्ज गर्न ३ घन्टा ३० मिनेट लाग्ने छ । एकपटकको फुलचार्जमा यसले १०० किलोमिटर यात्रा गर्न सकिन्छ ।

यसको फ्रन्टमा डबल टिस्क, चेन ड्राइभ, एलइडी लाइट्स, हिल असिस्ट सेन्सर, टीएफटी डिस्प्ले, मोवाइल होल्डर जस्ता फिचर रहेको छ ।

जिनियस एक्स ४६ को मूल्य ४ लाख २६ हजार र जिनियस एक्सवाइ ४६ को मूल्य ४ लाख १६ हजार रहेको कम्पनीले जनाएको छ ।

एम्पिएर ब्राण्ड

लकडाउन कै बीचमा नेपाल प्रबेश गरेको अर्को इलेक्ट्रीक ब्राण्ड हो एम्पिएर । भारतीय इलेक्ट्रीक टु ह्वीलर्स कम्पनीले उत्पादन गरेका यी स्कुटरले एक पटकको फुल चार्जमा ७० देखि ७५ किलोमिटर रेञ्ज प्रदान गर्ने जनाइएको छ ।

डिएसएम ग्लोबल कम्पनीले नेपाल ल्याएको एम्पिएरका स्कुटर निषेधाज्ञा खुल्ला भएसँगै नेपालमा बिक्री सुरु हुने छ । एम्पिएरको जेल, म्याग्नीस प्रो, रियो नामक स्कुटर निकै सफल मोडमा पर्छ ।

यी स्कुटरमा लिथियम आयोन व्याट्री रहेको छ भने टप स्पीड क्षमता ५५ किलोमिटर प्रतिघन्टासम्म रहेको छ । यी स्कुटरको मूल्य भने कम्पनीले सार्वजनिक गरेको छैन ।

प्योर ब्राण्ड

भारतीय इलेक्ट्रीक ब्राण्ड प्योरका उत्पादन पनि नेपाल आउने भएका छन् । कम्पनीका उत्पादन ई प्लुटो जी७ र ई ट्रान्स प्लस मोडल नेपाल आउन लागेको हो । यी स्कुटरलाई ह्वाइट लोटस मोटर्सले नेपाल ल्याएको हो ।

प्लुटो जी७ को मूल्य २ लाख ५५ हजार र ट्रान्स प्लसको मूल्य २ लाख १० हजार हुने कम्पनीले जनाएको छ । यी स्कुटर एक पटकको फुल चार्जमा ११५ किलोमिटरसम्म चलाउन सकिने छ ।

यी बाहेक पनि आरिया, अर्थर, ओकिनवा लगायतका ब्राण्डका स्कुटर नेपाल आउने क्रममा रहेका छन् ।


Back_to_top