भारतीय बजारमा उत्पादन भएको मारुती सुजुकीको उत्पादन मारुती ८०० ले आफ्नो उत्पादनको ३५ वर्ष पुरा गरेको छ । कम्पनीले १९८३ डिसेम्बर १४ मा पहिलो पटक मारुती ८०० को उत्पादन गरेको थियो ।
कुनै समय निकै चर्चित ‘स्मल ह्याचब्याक’ कार नेपाली बजारमा पनि सर्वाधिक बिक्री भएकोे मोडलमा पर्छ । नेपाली सडकमा ट्याक्सीको रुपमा प्रयोग गरिएको मारुती ८०० अझै सडकमा बाक्लोरुपमा भेटिन्छ ।
भारतको गान्धी परिवारले स्थापना गरेको यो उद्योग संजय गान्धीको सोच अनुरुप स्थापना भएको थियो । यस कम्पनीको सुरुवाति समयमा संजय गान्धी कम्पनीको प्रबन्ध निर्देशकको रुपमा कार्यरत थिए ।
सन् १९७१ मा स्थापना भएको मारुती उद्योग लिमिटेड आजको दिनमा भारतको सर्वाधिक सफल अटोमोवाइल कम्पनी भएको छ । पिपुल्स कार निर्माण गर्ने सोच अनुरुप संजयले रोल्स रोयसको जागीर छाडेर भारत फर्केर उक्त कम्पनी स्थापना गरेका थिए ।
गाडी उत्पादन नहुँदै सन् १९८० मा संजय गान्धीको मृत्युभए पछि सन् १९८१ मा जापानी गाडी उत्पादक कम्पनी सुजुकीले उक्त कम्पनीसँग पार्टनर सिप गरेको हो । त्यसपछि १९८३ डिसेम्बर १४ तारिखबाट गाडीको उत्पादन सुरु भएको हो । सुरुवाति समयमा मारुती ८०० को मूल्य ४७ हजार ५०० भारु राखिएको थियो ।
भारतमा उत्पादन भएको पहिलो ह्याचब्याक कार ७९६ सीसी इन्जिन क्षमतामा आएको थियो । स्मुद इन्जिन दिइएको उक्त कारमा ४ जनाले सजिलै यात्रा गर्न सक्थे । फ्रन्ट ह्वील ड्राइभ, डिस्क ब्रेक, फ्लोर सिफ्ट गियर, बकेट सिट, प्लास्टीक मोल्डेड ड्यासबोर्ड जस्ता फिचर रहेको यो कार बजारमा आएसँगै भारतीय बजारका चर्चित कार पद्मीनी र एम्बेष्डरको बिक्रीमा गिरावट आएको थियो । अन्तत दुबै कार बन्दनै भए ।
त्यसपछि कम्पनीले १९८४ मा मारुती भ्यानलाई सार्वजनिक गरियो । त्यसपछि क्रमिकरुपमा आएका मारुतीका कारले भारतीय बजारमा निकै ठूलो बजार हिस्सा पाउन सफल भयो । यही मोडल आजको दिनमा भारतीय बजारमा अल्टो ८०० को नामबाट बिक्री वितरण भइरहेको छ ।
सन् २०१३ मा कम्पनीले मारुती ८०० को आधिकारीक रुपमा उत्पादन बन्द गरेको थियो । भारतीय इमिशन स्टायन्डर्ड अनुरुप यो मोडलको उत्पादन नहुने भएकाले उत्पादन बन्द गरिएको थियो ।
मारुती ८०० मोडल २८ लाख ७० हजार यूनिट उत्पादन भएकोमा भारतमा मात्रै २६ लाख ६० हजार यूनिट बिक्री भएको थियो भने भारत बाहिर २ लाख १० हजार यूनिट बिक्री भएको थियो । त्यसैले यसलाई भारतीय प्रगतिको रफ्तार मान्ने गरिन्छ ।


