काठमाडौं । भारतको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी मारुती सुजुकीले आफ्नो बजार हिस्सा १० प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०१९ मा सेल्स नेटर्कमा हुने बढोत्तरी र मारुतीका एलसीभी सुपर क्यारीको डिलरसिप एक्सपान्ड गरिएकाले सवारी बिक्री १० प्रतिशत बढ्ने अनुमान गरिएको हो ।
भारतमा सुजुकीको डिलर नेटवर्क २ हजार ६ सय २५ स्थानमा रहेको छ । चालू आर्थिक वर्षमा सुजुकीले डिलरसिपको संख्यामा पनि दोहोरो अंकको वृद्धि हुने जनाएको छ ।
सुजुकीको बिक्री नेटवर्क क्रमिकरुपमा वृद्धि भइरहेको र यो वर्ष बिक्रीकक्ष कम्तीमा १० प्रतिशतले बढाइने जानकारी मारुती सुजुकीका सिनियर एक्जुकेटिभ डिरेक्टर, सेल्स एन्ड मार्केटिङ आरएस कलसीले बताए । कम्पनीले गत आर्थिक वर्षमा ३ सय ५० वटा नयाँ आउटलेट थपेको थियो ।
मारुती सुजुकीले लाइट कमर्सियल भेइकल (एलसीभी) को बिक्रीलाई पनि प्राथमिकता दिएको छ । गतवर्ष १ सय आउटलेटबाट १० हजारभन्दा धेरै सुपर क्यारी बिक्री गरेको थियो ।
यो वर्ष गरिने नेटवर्क विस्तारले एलसीभी बिक्रीमा उल्लेख्य वृद्धि आउने अपेक्षा कम्पनीको छ । आर्थिक वर्ष २०१७/०१८ मा मारुती सुुजुकीले १६ लाख ५३ हजार ५ सयवटा सवारी बिक्री गरेको थियो । यो २०१६/०१७ को तुलनामा १४.५ प्रतिशतले धेरै हो ।
आगामी २ वर्ष भित्रमा मारुती सुजुकीले ५ नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरेको कलसीले बताए । यसले पनि कम्पनीको बिक्री बढाउनमा सहयोग पुर्याउने विश्वास गरिएको छ ।