एस-प्रेसो र इको भ्यानको स्टेरिङमा समस्या आएपछि ८७ हजार गाडी ‘रिकल’

काठमाडौं । मारुती सुजुकीले जुलाई २०२१ देखि फेब्रुअरी २०२३ सम्म बनेको एस-प्रेसो र इको भ्यान ‘रिकल’ गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै भारतीय बजारमा रहेका ८७ हजार यूनिट बनाउन फिर्ता बोलाएको हो ।

समस्या भएर ल्याइएको केही यूनिट जाँचबुझ गर्दा ‘स्टेरिङ टाइरड’मा समस्या देखिएको थियो । त्यसपछि कम्पनीले गाडी फिर्ता बोलाएको हो । स्टेरिङ टाइरडमा समस्या आएपछि सवारीसाधनको स्टेविलिटी र ह्याण्डलीङमा समस्या आउने गर्छ ।

सन् २०२३ को सुरुवातमा पनि कम्पनीले १७ हजार ३६२ यूनिट अल्टो के१०, एस-प्रेसो, इको, ब्रेजा, बलेनो र ग्राण्ड भिटाराको एयरब्याग कन्ट्रोलरमा समस्या आएको भन्दै रिकल गरेको थियो ।

त्यसको केही दिनपछि नै ग्राण्ड भिटारामा सिट बेल्टमा समस्या आएपछि ११ हजार १७७ यूनिट रिकल गरेको थियो । त्यस्तै अप्रिलमा पनि ७ हजार २१३ बलेनो रिकल भएको थियो । बनेनोको भ्याकुम पम्पमा समस्या आएर ब्रेक पेडल जाम हुने भएपछि रिकल गरिएको थियो ।

भारतीय गाडी निर्माताहरुको संस्था ‘सियाम’ले सन् २०१२ मा भोलेन्टरी रिकलको नीति बनाएपछि मारुती सुजुकीले अहिलेसम्म २९ पटक बजारबाट गाडी रिकल गरेको छ ।

भारतमा रिकल भएको एस–प्रेसो र इको नेपालमा पनि बिक्री हुँदै आएका मोडल हुन् । नेपालमा त्यस अवधिका उत्पादन आएको भएपनि मारुती सुजुकी इन्डियाले कुनै खबर नगरेको सिजी मोटोकर्पले जनाएको छ ।

‘हामीलाई कुनै खबर आएको छैन । नेपाल आएका उत्पादनमा समस्या छ भन्ने भएको भए कम्पनीले खबर गर्थ्यो । अहिलेसम्म बजारमा रहेका गाडीमा समस्या आयो भनेर ग्राहक पनि आएका छैनन्’, सिजी मोटोकर्प स्रोतले भन्यो ।


Back_to_top