काठमाडौं । नेपालमै पहिलो पटक सुपर लक्जरी इलेक्ट्रीक भ्यान आउने भएको छ । १६ सिट क्षमतामा आउने लक्जरी प्यासेन्जर भ्यान म्याक्ससले उत्पादन गरेको हो ।
हिमालयन मोट्रक्सले ल्याउन लागेको ‘ई-डेलिभर ५’ एसएआइसी म्याक्ससले युरोपको लागि बनाएको मोडल हो । यो प्यासेन्जर भ्यान स्कुल, टुरिजम क्षेत्र, सहरी क्षेत्रमा कम्पनीहरूले आफ्ना कर्मचारी ओसार पसार र एयरपोर्ट जस्ता क्षेत्रमा चलाउन उपयुक्त देखिन्छ ।
१६ सिट भएको म्याक्ससको प्यासेन्जर भ्यानको लम्बाइ ५२५० एमएम, चौडाइ १८७४ एमएम र उचाइ २१८० एमएम छ । यसमा ३४५० एमएम लामो ह्वीलबेस दिइएको छ ।
शहरी क्षेत्रमा ४३६ किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टबाट सर्टिफाइड ई–डेलिभर ५ प्यासेन्जर भ्यानमा ६४ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । पूरा लोड बोकेर यसको हाइवे इनर्जी खपत प्रति १०० किलोमिटर २३.९ किलोवाट आवर छ । यसको मतलब हाइवेमा ३०० किलोमिटर रेन्ज दिनेछ ।
यसले ११ किलोवाटको एसी चार्जर र ७० किलोवाटको डिसी चार्जर सपोर्ट गर्छ । यसमा ब्याट्री थर्मल मेनेजमेन्टको लागि हिटिङ र कुलिङ दुवै सुविधा पाउन सकिन्छ ।
टप स्पीड १२० किलोमिटर प्रतिघन्टा रहेको भ्यानमा १२० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । उक्त मोटरले २४० न्यूटन मिटर टर्क प्रदान गर्छ ।
एलईडी हेडलाइट, हेलोजिन टेल लाइट, अगाडि र पछाडि नै फगलाइट दिइएको भ्यानमा दुई वटा ‘स्लाइडिङ डोर’ पाउन सकिन्छ ।
क्याबिनमा ४ तरिकाले मिलाउन सकिने स्टेयरिङ ह्वील, हिटेड फ्रन्ट सिट, १२.३ इन्चको टच स्क्रीन, २ स्पीकर, चार्जिङ पोर्ट दिइएको छ । यसमा चालकको सुविधाको लागि एडास फिचर दिइएको छ । उक्त एडास फिचर भित्र एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट जस्ता फिचर छन् ।
कम्पनीले यसको मूल्य लगायतका विषयमा कुनै जानकारी दिएको छैन । म्याक्ससको नयाँ प्यासेन्जर भ्यान आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक हुनेछ ।


