हाइब्रिडमा कर छुटः ६ करोडको मर्सिडिज-मेब्याक नेपाल ल्याउने तयारी

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत हाइब्रिड गाडीमा ५० प्रतिशत भन्सार र अन्तःशुल्क दुवैमा छुटको व्यवस्था गरेपछि हाइब्रिड कार ल्याउनेहरु जुर्मुराउन थालेका छन् । 

होन्डा तथा टोयोटाका हाइब्रिड कार केही संख्यामा नेपाल आइसकेकाले उनीहरु पनि थप संख्यामा ल्याउने तरखरमा लागेका छन् । यसका साथै नयाँ ब्रान्डका हाइब्रिड कार नेपाल भित्र्याउन विभिन्न व्यक्ति तथा कम्पनीहरु लागि परेका छन् । 

यस्तैमा जर्मन कार उत्पादक कम्पनी मेब्याकका हाइब्रिड कार नेपाल ल्याउन लागिएको छ । मेब्याक जर्मन सवारी उत्पादक डिमलर एजी अन्तर्गतको मर्सिडिज–बेन्जको सब ब्रान्डको रुपमा रहेको छ । 

मर्सिडिज मेब्याक ब्रान्ड अन्तर्गत हाइब्रिड तथा प्लग–इन हाइब्रिड कार उपलब्ध रहेको छ । नेपालमा हाल एउटा मेब्याक कार रहेको बताइएको छ । सेडान तथा एसयूभी सेगमेन्टमा उपलब्ध मेब्याक हाइब्रिड कहिले आउँछ भन्ने एकिन भएको छैन । 

नेपाली बजारमा मर्सिडिज तथा ल्यान्ड रोभर गाडी उपलब्ध गराउँदै आएको युरो गियर प्रालि मेब्याक हाइब्रिड कार ल्याउन लागी परेको छ । त्यसका लागि प्रालिले प्रक्रिया सुरु गरेसकेको स्रोतको भनाई छ । 

मर्सिडिज मेब्याक हाइब्रिडले प्रति लिटर ४० देखि ५० किलोमिटर माइलेज दिन्छ । नेपालमा कुन मोडल ल्याइन्छ मूल्य र माइलेज मोडल अनुसार भिन्न रहेको छ । मर्सिडिज मेब्याकको मूल्य हालको भन्सार दरमा ५ देखि ६ करोड रुपैयाँ पर्ने र हाइब्रिडलाई दिइएको भन्सार र अन्तःशुल्क छुट पछि साढे ३ देखि ४ करोड रुपैयाँमा पाइने व्यवसायीहरुको भनाई छ । 

सरकारको हाइब्रिड गाडीमा छुट दिने नीतिले विश्वका विलाशी हाइब्रिड कारहरु सहजै नेपाल आउने देखिएको छ । 


Back_to_top