साझा बस चड्दा जेष्ठ नागरिक र अशक्तले पैसा तिर्नु नपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकामा अब जेष्ठ नागरिक र अशक्तले साझा बस निःशूल्क चढ्न पाउने भएका छन् । हिजो सार्वजनिक गरिएको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्याक्रममा यस्तो उल्लेख छ ।  

महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर विद्यासुन्दर शाक्यले जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई साझा बसमा निःशुल्क यात्रा गर्ने व्यवस्था मिलाइएको बताएका हुन् ।

हालसम्म सवारी साधनमा जेष्ठ नागरिक र विद्यार्थीलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस नीतिले जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई निकै राहत पुग्ने महानगरको विश्वास छ । 

अहिले साझाको १ सय ८३ वटा बस संचालनमा रहेको छ भने थप २० वटा बस आगामी आर्थिक वर्षदेखि सञ्चालनमा आउने तयारी भइरहेको छ । साझाले काठमाडौं भित्र लगनखेल–जावलाखेल–कुपन्डोल–त्रिपुरेश्वर–जमल–लैनचौर–पानीपोखरी–शिक्षण अस्पताल–नारायणगोपालचोक–बसन्धुराचोक–सामाखुशी हुँदै गोंगबु बसपार्क तथा अर्को कलंकी–कालिमाटी–त्रिपुरेश्वर–माइतीघर–नयाँ बानेश्वर–तीनकुने –सिनामंगल–एयरपोर्ट हुँदै आफ्नो सेवा दिइरहेको छ । 

साझा बस स्वयम्भुबाट सीतापाइला–कलंकी–रवीभवन–सोल्टीमोड–कालीमाटी–टेकु–त्रिपुरेश्वर–रत्नपार्क–सहीदगेट–थापाथली–माइतिघर–बबरमहल–नयाँबानेश्वर–मीनभवन–कोटेश्वर हुँदैजडिबुटी लोकन्थली–कैशलटार–गठ्ठाघर–ठिमी–सल्लाघारी हुँदै सुर्यविनायकसम्म सेवा विस्तार गरेको छ । 

जेष्ठ नागरिकमा ७५ वर्ष पुगेका महिला र ८० वर्ष पुगेका पुरुषलाई निःशुल्क यात्रा गराउने भएको हो । उक्त उमेरका महिला पुरुषलाई महानगरले बरिष्ठ जेष्ठ नागरिक भनेको छ ।


Back_to_top