जेडएस इभी किन कुर्दै छन् ग्राहक ? यस्ता छन् ६ कारण

काठमाडौं । नेपालमा सर्वाधिक वेटिङ पिरियड भएको कार एमजी जेडएस इभी हो । ग्राहकले विगत ४ महिनादेखि बुकिङ गरेर यसलाई कुरिरहेका छन् ।

सन् २०२१ को अन्तिममा अन्तर्राष्ट्रिय बजारमा फेसलिफ्ट मोडल ल्याएको एमजीले नेपालमा पनि फागुन १५ गते एक कार्यक्रम आयोजना गरेर गाडी सार्वजनिक गरेको थियो । गाडी देखाएर बुकिङ सुरु गरेको आधिकारीक विक्रेता पारामाउन्ट मोटरले जेडएस इभीको बुकिङ ४ दिनमा नै बन्द गर्नु परेको थियो ।

ग्राहकको ब्यापक चासो र बुकिङले गर्दा माग धान्न नसक्ने अवस्था आएको कारण यसको बुकिङ बन्द गर्नु परेको कुरा त्यति बेला कम्पनीका महाप्रबन्ध सचिन अर्यालले जानकारी दिएका थिए । त्यति बेला बुकिङ लिएको गाडी कम्पनीले अहिलेसम्म डेलिभरी दिन सकेको छैन ।

‘अझै मे महिनाभर संघाई बन्द छ । सम्भवत जुलाईमा गाडी आउँछ कि । अहिल्यै केही भन्न सक्ने अवस्था छैन’, महाप्रबन्धक अर्यालले भने ।

ग्राहकबाट यति धेरै बुकिङ पाएको फेसलिफ्ट जेडएस इभीमा के छ त ? भन्ने जिज्ञासा धेरैमा रहेको पाइन्छ । त्यसैले जेडएस इभी ग्राहकले ड्रिम कार बनाउनुको कारण यहाँ हामीले प्रस्तुत गरेका छौं ।

१. ठूलो ब्याट्री र धेरै रेन्जः यसअघि विक्री भएको जेडएस इभीमा ४४ किलोवाट आवर क्षमता भएको एक मात्रै ब्याट्री अप्सन थियो । नयाँमा दुई ब्याट्री अप्सन पाउन सकिन्छ । कम्पनीले स्टायडर्ड भेरियन्टमा ५० किलोवाट आवर र लङ रेन्ज भेरियन्टमा ७२ किलोवाट आवरको ब्याट्री छ ।

यसअघिको मोडलमा पोखरामा फुल चार्ज गरेर काठमाडौं आउने मानिसले मनमा डर राखेर हिड्नु पर्ने अवस्था थियो । अब नयाँ आएको स्टायडर्ड भेरियन्टमा नै ढुक्कसँग यात्रा गर्न सकिन्छ ।

२. सेग्मेन्टकै सर्वाधिक सुरक्षा फिचरः जेडएस इभी हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुशक, फक्सवागेन टाइगुन र निसान किक्सको सेग्मेन्टमा विक्री हुने गाडी हो । एमजीले यसमा सुरक्षाको लागि ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल, टायर प्रेसर मोनिटर, ब्लाइन्ड स्पट मोनिटरिङ, रियर क्रस ट्राफिक अलर्ट, रिभर्स क्यामेरा, रियर र फ्रन्ट सेन्सर जस्ता फिचर दिएको छ । यसले यूरो एनक्यापमा ५ स्टार क्रयास टेष्ट रेटिङ पाएको छ ।

३. आई स्मार्ट टेक्नोलोजीः एमजीले २०२२ फेसलिफ्ट मोडलमा आई स्मार्ट टेक्नोलोजीको प्रयोग गरेको छ । कम्पनीले यसमा विभिन्न किसिमका ७५ भन्दा धेरै कनेक्ट फिचर दिएको छ । यसकै सहायताले एसी, सनरुफ, म्यूजिक, रेडियो, नेभिगेशनको लागि कमाण्ड दिन सकिन्छ । नेपालमा भने कही फिचरले काम नगर्न पनि सक्छ ।

एमजीले यसमा रहेका करिब ३५ फिचर भ्वाइस कमान्डबाट चलाउन मिल्ने बनाएको छ । टेक्नोलोजीका हिसावले एमजी जेडएस निकै आकर्षक एसयूभी हो ।

४. अब्बल फिचरः पानारोमिक सनरुफ, पहिलेको भन्दा ठूलो १०.१ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको नयाँ इन्ट्रुमेन्ट क्लष्टर र सुधारिएको ड्यासबोर्डले यसलाई थप प्रिमियम बनाएको छ ।

५. वारेन्टी र चार्जिङ नेटवर्कः एमजीले ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिएर जेडएस इभी विक्री गर्दै आएको छ । साथै, बजारमा थुप्रै संख्यामा गाडी उपलब्ध गराएको कारण फास्ट चार्जिङ नेटवर्क विस्तार र सर्भिसको लागि आवश्यक पूर्वाधार तयार गरिरहेको छ । यसैले एमजी नेपालको मोस्ट वेटेड इलेक्ट्रीक एसयूभी बनेको हो ।

६. मूल्यः एमजीको जेडएस इभी धेरै विक्री हुनुको मुख्य कारण मूल्य पनि हो । हेर्दा निकै आकर्षक देखिने यो एसयूभीको स्टायडर्ड भेरियन्टको मूल्य ५१ लाख ९९ हजार र लङ रेन्ज भेरियन्टको मूल्य ५९ लाख ९९ हजार तोकेर बुकिङ लिइएको थियो । अहिले यसको बुकिङ बन्द रहेको छ ।


Back_to_top