गाडी किन्नेलाई २५ लाखसम्मको कर्जा सहज बन्दै

काठमाडौं । पेट्रोलियम पदार्थबाट चल्ने साना गाडी किन्न बैंकले सहजै कर्जा दिने अवस्था आउने भएको छ । यसअघि केन्द्रिय बैंकले पेट्रोलियम पदार्थबाट चल्ने निजी गाडी किन्न दिइने कर्जामा कडाई गर्न जोखिमभार बढाइएको थियो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले थोरै कर्जा लिएर गाडी किन्ने मानिसको आवश्यकता पुरा गर्न २५ लाखसम्मको कर्जामा जोखिम भार घटाउने बताएका छन् ।

गभर्नर अधिकारीले भने, ‘अटोकर्जामा रहेको जोखिमभार कम गर्न लागिएको हो । तर, यो ठूला गाडीमा होइन । २५ लाखसम्मको कर्जामा १०० प्रतिशत जोखिमभार बनाउन लागिएको हो । अरु कुरा सर्कुलरबाट प्रस्ट हुन्छ ।’

गभर्नर अधिकारीको भनाईबाट यसअघि आयात निरुत्साहन गर्न भन्दै ७० प्रतिशत रहेको जोखिमभारलाई बढाएर १५० प्रतिशत बनाइएकोमा २५ लाखसम्मको अटोकर्जामा त्यस्तो जोखिमभार १०० प्रतिशत बनाउन लागेको प्रस्ट हुन्छ ।

ठूला सवारीसाधनको हकमा सर्कुलरबाट थाहा हुन्छ भन्नुको मतलव यसलाई चलाइएको छैन । १५० प्रतिशत नै यथावत राखिएको छ भनेर बुझ्न सकिन्छ ।


Back_to_top