काठमाडौं । प्रदेश सरकारको मुख्य आम्दानीको स्रोत बनाइएको सवारीसाधनमा लाग्ने वार्षिक शुल्क प्रदेश अनुसार फरक फरक रहँदै आएको छ । प्रदेश सरकारले आफुखसी वार्षिक कर निर्धारण गर्न थालेपछि करको दर पनि फरक भएको हो ।
मोटरसाइकलमा अन्य ४ प्रदेशको तुलनामा कम कर लगाएको कोशी प्रदेश सरकारले कारमा भने बढी कर लगाएको छ । कोशी प्रदेश सरकारले १००० सीसीसम्मका कारमा वार्षिक २३ हजार कर लगाएको छ । जुन सबै प्रदेशको तुलनामा बढी हो ।
कारमा पनि मोटरसाइकलको जस्तै सबैभन्दा कम कर सुदुरपश्चिम प्रदेश सरकारले लगाएको छ । यहाँ १००० सीसीसम्मका कारको वार्षिक कर १९ हजार रुपैयाँ मात्रै छ ।
धेरै प्रदेशले ३००० सीसीसम्मको एउटै सेग्मेन्ट बनाएर कर लगाएका छन् । तर, सुदुरपश्चिम र मधेश प्रदेशमा २९०० सीसी माथिका सम्पूर्ण निजी सवारीसाधनमा एउटै कर छ । सुदुरपश्चिममा २९०० सीसी माथिका निजी साधनमा ५३ हजार रुपैयाँ वार्षिक कर तोकिएको छ । मधेश सरकारले भने यही समूहमा ६० हजार तोकेको छ ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनीले लगभग समान कर लगाएका छन् । त्यसमा पनि कार चढ्नेसँग कर उठाउन कोशी प्रदेश सबैभन्दा निर्मम बनेको छ । कोशीलाई बागमतीले पच्छाई रहेको छ ।


