ब्याज नलाग्ने स्कीम: सानाे मोटरसाइकल किन्दा कारको भन्दा बढी मासिक किस्ता !

काठमाडौं । मोटरसाइकल बिक्रेताले ल्याउने विभिन्न स्कीमहरु ग्राहकको आवश्यकता ध्यानमा राखेर ल्याउँछन् । अहिले नेपालमा मोटरसाइकलको आधिकारीक बिक्रेता बनेका अधिकांश कम्पनीको आफ्नै स्वामित्वमा इन्भेष्टमेन्ट कम्पनी संचालनमा छन् । त्यसैले उनिहरू फाइनान्स स्कीम दिन सक्षम छन् ।

बजारमा ब्याजदर महंगो भयो र मोटरसाइकल किन्ने मानिस पाइएन भन्ने आसयले धेरै बिक्रेताले सून्य प्रतिशत ब्याजदरमा कर्जा दिने स्कीम संचालनमा ल्याएका हुन् । सून्य प्रतिशत ब्याजदरमा कर्जा दिन इन्भेष्टमेन्ट कम्पनीले भने राम्रै ब्याजदर तिरेर बैंकबाट पैसा ल्याएका हुन्छन् । यसरी ल्याएर लगानी गरेको रकम निकै छोटो अवधिको लागि सून्य प्रतिशत ब्याजदरमा उपलब्ध गराउँदै आएका हुन् ।

उनिहरूकाे लक्ष्य माेटरसाइकल बिक्री गरेर नै कमाउने देखिन्छ । माेटरसाइकल बेचेर इन्भेष्टमेन्ट कम्पनीकाे ब्याज माेटरसाइकल बिक्री गर्ने कम्पनीले तिर्छ ।

मानिसको आर्थिक अवस्था नै कमजोर भएको समयमा आएको सून्य प्रतिशत ब्याजदरको स्कीमले ग्राहकलाई आकर्षण गर्न सकिरहेको देखिदैन । अझ यस्ता स्कीम नै असान्दर्भिक हुन कि जस्तो देखिन्छ ।

धेरैजसो कम्पनीले ल्याएका फाइनान्स स्कीम सामान्य मानिसकले किस्ता तिर्न सक्ने किसिमको नै छैन । अधिकांश कम्पनीहरुले ४०/५० प्रतिशत डाउन पेमेन्ट गरे शून्य प्रतिशत ब्याजमा मोटरसाइकल तथा स्कुटर दिन सकिने स्कीम ल्याएका छन् । यस्ता स्कीममा मोटरसाइकल किन्ने ग्राहकले तिर्नु पर्ने मासिक किस्ता इन्ट्री लेभल ह्याचब्याक कार किन्नेले जस्तै तिर्नु पर्ने देखिन्छ ।

कम्पनीहरुले शून्य प्रतिशत ब्याजको नाममा ६ महिनादेखि अधिकतम १८ महिनाका लागि मात्र कर्जा दिँदै आएका छन् । यस्तो अवस्थामा ४ लाख मूल्य भएको १५० सीसीको सामान्य मोटरसाइकल ४० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम १२ महिनामा तिर्ने गरी फाइनान्स सुविधा लिँदा मासिक २० हजार रुपैयाँ किस्ता तिर्नु पर्छ ।

साना मोटरसाइकल चढेर आफ्नो स्वरोजगार ब्यवसाय चलाउने होस् वा दैनिक काममा जानेले यति धेरै किस्ता तिर्न सक्छन् त भन्ने प्रश्न उठेको छ । कम्पनीहरुको यो स्कीममा मोटरसाइकल किन्ने ग्राहकको आम्दानी कम्तिमा मासिक ५० हजार रुपैयाँ हुनु पर्ने देखिन्छ ।

आजकल मोटरसाइकल तथा स्कुटर विक्री गर्ने प्रमुख कम्पनीहरुका सबैजसो ब्राण्डका आफ्नै फाइनान्स कम्पनी भएता पनि जोखिम नै नलिने र स्कीमका नाममा एकै प्रकारका स्कीम ल्याउने भएका कारण फाइनान्समा मोटरसाइकल किन्नै नसकिने अवस्था आएको ग्राहकहरु बताउँछन् ।

अहिले बजाज, यामाहा, सुजुकी लगायत सबैजसो कम्पनीहरुले शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने स्कीम दिइरहेका छन् ।


Back_to_top