नाडा अटो शो २०२३: म्याक्ससको स्टलमा ईभीदेखि अटोमेटीक पीकअप

काठमाडौं । चार वर्षपछि आयोजना हुन लागेको नाडा अटो शो २०२३ धेरै कुराले महत्वपूर्ण मानिएको छ । कोभिड १९ को समयमा पनि ठिकठाक चलेको अटोमोवाइलको कारोवार अहिले लगभग ठप्प छ । एकाध ईभी बिक्री गर्ने कम्पनी बाहेक अन्य कम्पनीको शोरुममा पनि गाडी हेर्न पस्ने मानिस समेत छैनन् ।

तरलता अभावको कारण सिथिल बनेको अर्थतन्त्रमा कसैले पनि जोखिम उठाएर गाडी किन्ने आँट गर्न सकेका छैनन् । यस्तो समयमा हुन लागेको अटो शोमा कम्पनीहरुको भने उत्साहपूर्ण सहभागिता हुने भएको छ । अहिलेसम्मको अवस्थामा करिब ८४ वटा स्टल अटो शोमा रहने छन् ।

चिनियाँ अटोमोवाइल ग्रुप एसएआईसीको स्वामित्वमा रहेको मेक्सस ब्राण्ड अघिल्लो वर्ष नेपालमा सार्वजनिक भएको हो । पारामाउन्ट मोटर्स आधिकारीक बिक्रेता रहेको मेक्ससका उत्पादन नाडा अटो शोमा प्रदर्शनी हुँदैछन् ।

कम्पनीले अटो शोमा ३ मोडल प्रदर्शनी गर्ने सम्भावना छ । जसमा सबैभन्दा बढी चासो मिफा-९ इलेक्ट्रीक लग्जरी एमपीभीमा हुने देखिन्छ । मिफा–९ अहिले बेलायतमा बिक्री वितरण भइरहेको मोडल हो । यसका अलावा कम्पनीले दुई पीकअप पनि प्रदर्शनीमा राख्ने छ । कम्पनीले अटोमेटीक पीकअप टी-६० र म्यानुअल पीकअप टी-७० देखाउने छ । यी दुबै पीकअप उत्कृष्ट पफर्मेन्शको लागि परिचित छन् ।

मिफा-९

मेक्सस मिफा-९ एउटा लग्जरी इलेक्ट्रीक एमपीभी हो । नेपालमा उपलब्ध भएका भ्यानहरुको बीचमा यसले नयाँ बेन्चमार्क कायम गर्ने अनुमान गर्न सकिन्छ । ५.३ मिटर लम्बाई र २ मिटर चौडाई रहेको मिफा-९ निकै लग्जरी छ ।

बक्सी डिजाइन, ७ सिट क्षमता, सफ्टटच लेदरेट मेटेरियल प्रयोग भएको ड्यासबोर्ड, स्लाइडिङ डोर र टेलगेट लगायतका सबै फ्ङ्सनहरु इलेक्ट्रीकल्ली एड्जस्टेवल छन् ।

मिफा ९ मा अगाडि दुई सिट, दोस्रो रोमा पनि दुई सिट र तेस्रो रोमा ३ सिट दिइएको छ । यसको बीचमा रहेको २ वटा क्याप्टेन सिट भने इलेक्ट्रीकल्ली सबै दिशामा घुमाउन सकिन्छ ।

सिटको कन्ट्रोलका लागि आर्मरेस्ट बाहिर स्मार्टफोन साइजको टचस्कृन डिस्प्ले दिएको छ । यसको सहायताले सिट हाइट, लम्बार पोजिसन, मसाज फङ्सन, हिटीङ एण्ड कुलीङ सबै सिस्टम कन्ट्रोल गर्न सकिन्छ ।

यसको सिटमै जहाजको जस्तै ट्रे टेबल समेत रहेको छ । यो एमपीभीमा मल्टीपल चार्जिङ पोर्ट रहेको छ ।

मल्टी एड्जस्टेबल सिट, पावर ओपनिङ डोर, किलेस इन्ट्री, टुइन इलेक्ट्रीक सनरुफ, हिटेड लेदरले मोरिएको स्टेरिङ ह्वील, एलइडी क्यावीन लाइट, डिजिटल रियर भ्यू मिरर, कुल्ड-हिटेड सिट पाउन सकिन्छ ।

मसाज सुविधा सहितको फ्रन्टसिट, एडाप्टीभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, लेन चेन्ज असिस्ट, ३६० डिग्री पार्किङ क्यामरा, एडाप्टीभ लीड लाइट, एलइडी हेडलाइट र अटोनोमस ब्रेकिङ सिस्टम जस्ता फिचरले मिफा ९ लाई आरमदायी, सुरक्षीत र प्रिमियम एमपीभी बनाएको छ ।

डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको मिफा-९ मा ९० किलोवाट आवरको फ्लोर माउण्टेड ब्याट्री प्याक दिएको छ । यसमा रहेको मोटरले २४५ ब्रेकहर्स पावर र ३५० न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।

फ्रन्ट ह्वील ड्राइभ सिस्टममा आउने यो एमपीभीले सिंगल चार्जमा ४४० किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ । यो एमपीभीलाई डिसी फास्ट चार्जरको सहायताले ३० मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

वेलायती बजारमा बिक्री भइरहेको यो एमपीभीको मूल्य करिब १ लाख डलर रहेको छ । नेपाली बजारमा यसको मूल्य १ करोड ३० लाख हाराहारीमै उपलब्ध हुन सक्नेछ ।

पीकअप

कम्पनीको दुबै मोडल पीकअपमा धेरै फरक छैन । एउटै डिजाइन भएको मोडललाई गियरबक्स अनुसार छुट्टाइएको छ । अटोमेटीक गियरबक्स भएको मोडललाई टी-६० र म्यानुअल गियरबक्स भएको मोडललाई टी ७० भनिएको हो ।

फुल फिचर लोडेड मेक्सस टी-६० र टी-७० मा २.८ लिटर क्षमताको यूरो फोर मापदण्डको डिजेल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १५० हर्स पावर र ३५० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुअल र ६ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स पाउन सकिन्छ ।

दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध पीकअपमा १९ इन्चको ह्वील, इबीडी सहितको एबीएस, इएसपी, इबीए, दुई एयरब्याग, टायर प्रेसर मोनिटर, पार्किङ सेन्सर, रियर क्यामेरा जस्ता फिचर उपलब्ध छन् ।

फोर वाइ फोर सिस्टममा उपलब्ध यो पीकअपको लम्बाई ५३६५ एमएम, चौडाई १९०० एमएम र उचाई १८०९ एमएम रहेको छ । यसमा ३१५५ एमएमको ह्वीलवेस पाउन सकिन्छ । मेक्सस टी सिरिजमा २१५ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ ।

चालकको सहजताको लागि एड्जस्टेवल ड्राइभर सिट, अगाडि र पछाडि नै एसीको राम्रो उपलब्धता, एयर प्यूरिफायर, एड्जस्टेवल स्टेरिङ ह्वील, फेब्रिक सिट, सेन्ट्रल लकिङ पावर विन्डो, ४ वटा स्पीकर, रिमोर्ट कि जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top