काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा हराएका ४८० मोटरसाइकल/स्कुटर फेला पारी सम्बन्धित सवारीधनीलाई बुझाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आवको साउन १ देखि असार ३० गतेसम्म ४८० वटा सवारी साधन फेला पारी धनीलाई जिम्मा लगाएको हो ।
कार्यालयका अनुसार चालु आवमा २ हजार बढी दुइपाँग्रे सवारी साधन हराएको आवेदन परेको थियो । ती सवारी साधनहरु काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हराएका हुन् ।
ट्राफिक प्रहरीले प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा उपत्यकाका नरेफाँट, मिलनचोक, सुन्दरीजल, चाबहिल, मध्यबानेश्वर, मालिगाँउ, काडाँघारी, कालिमाटी, अनामनगर, सिंहदरबार, नेपालटार, नयाँबसपार्क, बसुन्धारा, थली लगायतका स्थानबाट उक्त सवारी साधन फेला पारेको थियो ।
त्यस्तै, कार्यालयले चोरीमा संलग्न ७४ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७९/८० मा ४९९ वटा र गत आव २०८०/८१ मा ४१७ वटा सवारी फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरेको थियो ।
सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्न साथै मानिसहरूको आवत/जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले अनुरोध समेत गरेका छन् ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।


