काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्म आइपुग्दा पनि पेट्रोलबाट चल्ने दुई पाङ्ग्रे सवारीसाधनको आयात एक लाख यूनिट पुग्न सकेको छैन । भन्सार विभागले सार्वजनिक गरेको जेठसम्मको तथ्यांकमा पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटरको आयात ९७ हजार २६६ यूनिट मात्रै भएको देखिन्छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा मोटरसाइकलको आयात लगभग ६२ प्रतिशतले कम देखिएको हो । अघिल्लो आर्थिक वर्षको जेठ मसान्तसम्ममा २ लाख ५७ हजार २४० यूनिट मोटरसाइकल तथा स्कुटर आयात भएको थियो ।
चालु आर्थिक वर्षको ११ महिनामा ३८ हजार १९८ यूनिट अनएसेम्वल अवस्थाका मोटरसाइकल आएको देखिन्छ । त्यसमा बजाज र टीभीएसको हिस्सा सबैभन्दा धेरै छ । अघिल्लो आर्थिक वर्षको ११ महिनामा अनएसेम्बल अवस्थाका दुई पाङ्ग्रे साधन ९७ हजार २४० यूनिट आयात भएको थियो ।
पेट्रोलियम पदार्थबाट चल्ने मोटरसाइकल तथा स्कुटरको आयात ६२ प्रतिशतले गिरावट आएको भएपनि विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनको आयात भने ५७ प्रशितले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको जेष्ठ महिनासम्मको आयात तथ्यांक हेर्दा ७ हजार हाराहरीमा विजुलीबाट चल्ने दुई पाङ्ग्रे सवारीसाधन नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा ३ हजार हाराहारीमा मात्रै दुई पाङ्ग्रे ईभी आयात भएका थिए ।
नेपाली बजारमा पछिल्लो समय ४ दजर्नभन्दा धेरै दुई पाङ्ग्रे ईभी ब्राण्ड उपलब्ध छन् । कतिपय नामै नसुनिएका ब्रान्डले पनि तराई क्षेत्रमा आफ्ना उत्पादन बिक्री गर्दै आएको पाइन्छ । काठमाडौंमा नै बिक्री गर्ने ब्रान्डपनि ३ दर्जन हाराहारी छन् ।

