मुग्लिन-आबुखैरेनीको समानान्तर सडक बन्ने, सरकारले तोक्यो ‘राइट अफ वे’

काठमाडौं । मुग्लिन-पोखरा सडक अन्तर्गत मुग्लिनदेखि आबुखैरेनीसम्म सकड विस्तार हुने भएको छ ।

असोज ११ गते बसेको मन्त्रिपरिषद बैठकले मुग्लिन-आबुखैरेनी सडकको ‘राइट अफ वे’ निर्धारण गरेको हो ।

मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत हाल आबुखैरेनीदेखि पोखरासम्म ४ लेनमा विस्तार भइरहको छ । मुग्लिनदेखि आबुखैरेनीसम्म राइट अफ वे निर्धारण हुन नसक्दा सडक विस्तार हुन सकेको थिएन । मन्त्रिपरिषद्ले सडक सीमा तोकेसँगै निर्माणको बाटो खुलेको हो ।

मुग्लिन-आँबुखैरेनी सडकखण्डको सडक किनारमै मस्र्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस हुँदा सडक विस्तार हुन सकेको थिएन । मन्त्रिपरिषद बैठकले मस्र्याङ्दी जलविद्युत् आयोजनाको पावरहाउस छल्न पारी पट्टीबाट समानान्तर सडक निर्माण गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता जगदिश खरेका अनुसार अब मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजारको पारिपट्टी त्रिशूली किनार (गोरखातर्फ) देखि मस्र्याङ्दी नदीको बायाँ किनार हुँदै मस्र्याङ्दी विद्युत् गृहको पारीपट्टी गोरखातर्फसम्म थप सडकको रेखांकन स्वीकृत गर्ने निर्णय भएको हो ।

सरकारले मुग्लिन-आबुखैरेनी सडकको केन्द्र रेखाबाट दायाँ-बायाँ १५/१५ मिटर गरी ३० मिटरको सडकको मापदण्ड स्वीकृत गरेको हो ।

मुग्लिन-पोखरा ८० किमी सडक भने हाल विस्तारको अन्तिम चरणमा छ । आबुखैरेनीदेखि जामुनेसम्मको सबै काम सकिएको छ भने जामुनेदेखि पोखरासम्म धमाधम निर्माण भइरहेको छ ।


Back_to_top