टेस्लाको मुनाफा ७१% घट्यो, मस्कले भने-‘अब ह्वाइट हाउसमा कम, टेस्लालाई धेरै समय दिन्छु’

काठमाडौं । अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी टेस्लाको मुनाफामा भारी गिरावट आएको छ ।

कम्पनीले सार्वजनिक गरेको सन् २०२५ को पहिलो त्रैमासको रिपोर्ट अनुसार मुनाफा ७१ प्रतिशतले घटेर ४०९ मिलियन (४०.९ करोड) अमेरिकी डलरमा सीमित भएको छ । जबकि, गत वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ३९ करोड डलर नाफा कमाएको छ ।

कम्पनीको आम्दानी घटेसँगै नाफामा उच्च गिरावट आएको छ । पहिलो त्रैमासमा टेस्लाको आम्दानी ९ प्रतिशतले घटेर १९.३ अर्ब डलरमा सीमित भएको छ । जबकि, कम्पनीले पहिलो त्रैमासमा २१.११ अर्ब डलर आम्दानी गर्ने प्रक्षेपण गरिएको थियो ।

त्यस्तै, यस अवधिमा टेस्लाको कुल अटोमोटिभ राजस्व २० प्रतिशतले घटेको छ । सन् २०२४ को पहिलो त्रैमासमा गाडी बेचेर १७.४ अर्ब डलर आम्दानी गरेको टेस्लाले यस वर्ष १४ अर्ब डलरमा सीमित भएको हो ।

ग्राहक तान्न गरेको मूल्य कटौती, अमेरिकाले चीनलाई लगाएको उच्च भन्सार शुल्क, टेस्ला विरुद्धका अभियान लगायत कारणले कम्पनीको आम्दानीमा ठूलो असर पारेको हो ।

पछिल्लो समय अमेरिकासँगै युरोपियन देशहरूमा टेस्लाको व्यापारमा उच्च गिरावट आएको छ । सन् २०२५ मा टेस्लाको बिक्री १३ प्रतिशतले घटेको छ । यस वर्ष जनवरीदेखि मार्चसम्म टेस्लाले ३ लाख ३६ हजार ६८१ युनिट कार बेचेको छ । यो सन् २०२४ को पहिलो त्रैमासको तुलनामा ५० हजार ३१९ युनिट कम हो । टेस्लाले गत वर्ष पहिलो त्रैमासमा ३ लाख ८७ हजार युनिट गाडी बेचेको थियो ।

मस्कले भने-‘अब टेस्लालाई समय दिन्छु’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेसँगै मस्कले सरकारी दक्षता विभागको प्रमुखको जिम्मेवारी पाएका थिए । त्यसपछि उनकै सल्लाहामा ट्रम्पले कर्मचारी कटौतीदेखि वैदेशिक सहायत रोक्नेसम्मका निर्णय गरे । मस्कले आफ्नो अधिकांश समय ट्रम्पकै सहयोगमा खर्चिँदै आएका छन् ।

आम्दानीमा उच्च गिरावट आएपछि टेस्लाका सीईओ एलन मस्कले अब टेस्लालाई धेरै समय दिने बताएका छन् । उनले सरकारी खर्च कटौती गर्ने गर्ने पहिलो चरणको काम सकिएको भन्दै अब वाशिङटनमा कम समय बिताउने र टेस्ला चलाउन बढी समय बिताउने बताएका हुन् ।

‘अब सरकारी दक्षता विभाग स्थापना गर्ने प्रमुख काम सकिएको छ,’ उनले भने, ‘मे महिनादेखि मेरो धेरै समय टेस्लालाई छुट्याउने छु । सरकारी कामको लागि हप्तामा एक वा दुई दिन मात्रै बिताउने छु ।’

सेयर मूल्यमा भारी गिरावट

मस्क सत्तामा गएसँगै टेस्लाको सेयर मूल्यमा समेत भारी गिरावट आएको छ । पछिल्लो ४ महिनाको अवधिमा टेस्लाको सेयर मूल्य ५१ प्रतिशतले घटेको छ ।

सन् २०२४ डिसेम्बर १७ मा प्रतिकित्ता ४८८.५४ डलर पुगेको टेस्लाको मूल्य मंगलबार २३७.९७ डलरमा झरेको छ । यस अवधिको यसको सेयर मूल्य प्रतिकित्ता २५० डलर घटेको छ ।


Back_to_top