नाडा निर्वाचन : उस्तै लक्ष्य फरक प्यानल, के भन्छन् सदस्यका उमेदवारहरू

काठमाडौं । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको मंसिर २३ गते हुने निर्वाचनमा अहिलेका वर्तमान कार्यसमितिका उपाध्यक्ष करण चौधरी र पूर्वउपाध्यक्ष तथा वर्तमान कार्यसमितिका सदस्य ध्रुव थापाले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् ।

यसरी दुई प्यानल निर्माण भएसँगै केन्द्रदेखि स्थानीय स्तरमा व्यवसाय गर्दै आएका व्यवसायीहरू दुई प्यानलमा विभाजन भएका छन् । हुन त व्यवसायिक संगठनहरूमा हुने यस्ता किसिमका अभ्यासले निर्वाचनपछि खासै महत्व राख्दैनन् । यद्यपि, समान एजेन्डमा राज्य र नीति निर्मातासँग सार्थक लबिङ गर्नुपर्ने संस्थाको सदस्य बन्न नै तँछाडमछाड गर्नुले व्यवसायीहरूको राजनीतिक चेतलाई फरक किसिमले विष्लेषण गर्नुपर्ने हुन्छ ।

अटो व्यवसायीहरूको साझा संस्थामा निर्वाचनको माहोल गरम भइरहँदा हामीले दुवै प्यानलबाट सदस्यको उमेदवार बनेका केही व्यवसायीहरूलाई उनीहरूको उमेदवारी, नाडाले गर्नुपर्ने काम र भविष्यको नाडा कस्तो बनाउने लगायत विषयमा आधारित रहेर कुराकानी गरेका छौं । प्रस्तुत छ कुराकानीको सम्पादीत अंश :

 

परिवर्तनको लागि मेरो उमेदवारी : आकाश गोल्छा

आफ्नो व्यवसायिक जिवनको सुरूआत नै अटोमोबाइल व्यवसायबाट सुरू गरेका आकाश गोल्छा देशकै ठूलो र पूरानो मध्यको एक व्यवसायिक घराना गोल्छा अर्गनाइजेशनको सदस्य हुन् । फोर्ड, सिट्रोन, प्यूजो, हुन्डाई हेभी इक्यूपमेन्ट जस्ता ब्राण्डलाई नेपाली बजारमा विक्री गर्दै आएका उनी सिधा आफ्नो विचार राख्ने व्यवसायीमा पर्छन् । ध्रुव थापाको टीमबाट उमेदवार बनेका उनी अटोमोबाइलको हरेक क्षेत्रको विकास र विस्तारमा आफ्नो सक्रिय सहभागिता हुने र केही परिवर्तन गर्नुपर्ने अवस्था आएको विचार राख्छन् ।

अहिलेको कार्यसमितिमा उपाध्यक्ष रहेका गोल्छाले पुनः सदस्यमा नै प्रतिस्पर्धा गरिरहेका छन् । आफू सधैं हरेक व्यवसायीको समस्या समाधानको लागि उपलब्ध हुने गरेको सम्झदै गोल्छा भन्छन्, ‘मेरो फोन सधैँ उठ्छ । सबै साथीको समस्या समाधानमा मैले समय दिएको छु । यस पटक नै म अध्यक्षको उमेदवार बन्न सक्थें, अध्यक्ष बनेर मात्रै हुन्न समय दिन सक्नु पर्छ । त्यसैले पुनः सदस्यमा रहेर काम गर्ने योजना बनाएको हुँ ।’

नाडालाई बलियो बनाउन सदस्यको आवाज बलियो हुनु पर्छ, त्यसको लागि टीम बलियो हुनु पर्छ भन्दै गोल्छा भन्छन्, ‘काम थुप्रै गर्नु पर्नेछ । हामीले त्यसलाई लिखित रूपमा अगाडि ल्याएका छौं । मलाई विश्वास छ साथीहरूले मलाई काम गर्ने अवसर दिनु हुनेछ ।’

 

पार्टस् व्यवसायको समस्या बुझेको छु : सुनिल रिजाल

वर्तमान कार्यसमितिमा महासचिव रहेका रिजाल आसन्न निर्वाचनमा करण चौधरीको टीमबाट सदस्यका उमेदवार रहेका छन् । उनी आफ्नो उमेदवारी स्वस्थ व्यवसायको लागि भएको बताउँछन् । उनी भन्छन्, ‘मैले विगत लामो समयदेखि नाडामा रहेर काम गर्ने मौका पाएको छु । म सधैँ पारदर्शी भएर व्यवसाय गर्नुपर्छ भन्ने मान्नेता राख्दै आएको छु । मैले राख्दै आएको विषयलाई सबै पक्षले सकारात्मक रूपमा लिएका छन् । त्यसैले म पुनः एक पटक निर्वाचनमा सहभागी हुँदैछु ।’

आफूले सुरू गरेका काम पूरा गर्नु पर्ने भएकाले फेरी चुनाव उठेको बताउँदै उनी भन्छन्, ‘पार्टस् व्यवसायमा धेरै समस्या छन् । ती समस्या आफूले सहजै बुझ्ने भएकाले साथीहरूले अगाडि बढ्न भन्नु भएको छ । त्यसमा पनि नेपालमा एसेम्बल गर्ने लहर चल्न लागेको समयमा थुप्रै पार्टस् उद्योग खुल्ने अवस्था आएको छ । त्यसको फेमवर्क बनाएर राज्यलाई कन्भिन्स गर्नु पर्ने अवस्था छ । त्यसमा म आफ्नो अनुभव लगाउन प्रतिबद्ध छु । मलाई विश्वास छ साथीहरूले त्यो मौका दिनु हुनेछ ।’

 

अटो उद्यमशिलता मेरो प्राथमिकता हो : सुरेन्द्रकुमार उप्रेती

नाडाको अहिलेको वर्तमान कार्यसमितिमा कोषध्यक्ष रहेका सुरेन्द्रकुमार उप्रेती आसन्न निर्वाचनमा करण चौधरी प्यानलबाट सदस्यको उमेदवार रहेका छन् । उनी नेपालमा टायर, ट्यूब, ल्यूब, ब्याट्री जस्ता वस्तुको कारोवारमा संग्लग्न व्यवसायी हुन् । उनी विगत लामो समयदेखि अटो व्यवसायमा सक्रिय रहेका छन् ।

अटो क्षेत्रबाटै आफू अहिलेसम्म चलिरहेको र आगामी दिनमा धेरै मानिसको भविष्य निर्माण गर्न सक्ने यो क्षेत्रको विकासमा आफूले जानेको र भोगेका कुराबाट नीति निर्मातादेखि सक्रिय व्यवसायीको लागि काम गर्ने योजना बनाएका उप्रेती भन्छन्, ‘मैल यो क्षेत्रको विकासमा के योगदान गर्न सकिन्छ । कसरी युवा उद्यमीको लागि यो क्षेत्र आकर्षक बनाउन सकिन्छ भनेर हरेक समय आफ्नो धारणा राख्ने गरेको छु । लाखौं मानिसलाई रोजगारी र व्यवसाय गर्ने अवसर यहाँ छ । त्यसको लागि नीति निर्मातालाई धेरै विषय बुझाउनु पर्नेछ । त्यसैको लागि मैले उमेदवारी दिएको हुँ ।’

नेपालमा अब अटो क्षेत्रसँग जोडिएर आउने थुप्रै उद्योग खोल्नु पर्ने अवस्था आएको उनको बुझाइ छ । ग्लोबल अटो भिलेज निकै ठूलो भएको छ । त्यसबाट हरेक नेपालीले लाभ लिनु पर्ने अवस्था आएको भन्दै उप्रेतीले भने, ‘म आफैँले नेपालमा व्याट्री उद्योगको सम्भावना देखेर उद्योग स्थापना गरेको छु । अबको दुई महिनामा उद्योग संचालनमा आउँछ । सक्रिय अटो सम्बद्ध उद्योगमा भएकै कारण म निर्वाचनमा छु ।’

 

बेथितिलाई सुधार गर्न लागि पर्ने छु: निराकार श्रेष्ठ

विगत १५ वर्षदेखि अटोमोबाइल व्यवसायमा सक्रिय निराकार श्रेष्ठ लक्ष्मी समूहका कार्यकारी निर्देशक हुन् । विगत देखि नै नाडाको विभिन्न समितिमा रहेर काम गर्दै आएका श्रेष्ठ हुन्डाई, बीएमडब्लू जस्ता कार कम्पनीको विक्रेता कम्पनीलाई नेतृत्व दिइरहेका छन् । हेभी कमर्शियल, टायर, ल्यूब जस्ता व्यवसायमा पनि संग्लग्न उनी ध्रुव थापाको प्यानलबाट सदस्यको उमेदवार बनेका छन् ।

देशभर रहेका व्यवसायीको हित व्यापार गर्ने वातावरण निर्माण गरेर मात्रै सम्भव हुने भन्दै श्रेष्ठ भन्छन्, ‘नीति निर्माता, राजनीतिज्ञ र आमनागरिकको चासो सम्बोधन कसरी सम्भव हुन्छ भन्ने कुरा खोज्नु पर्ने अवस्था आएको छ । सामूहिक प्रयत्नले मात्रै त्यो सम्भव हुने विभिन्न कालखण्डको अनुभवले हामीलाई देखाएको र सिकाएको छ । त्यसैले हामीले गर्ने कामको कोर एजेन्डा बनाएरै जानु पर्छ भन्ने लाग्छ । त्यसको लागि टीमले केही प्रयास गरेको छ । जुन हामीले सार्वजनिक पनि रहेका छौं ।’

देश भित्रै उत्पादन कसरी गर्न सकिन्छ, यहाँको बजारको अवस्थालाई विष्लेषण गर्दै अन्तर्राष्ट्रिय संघ–संस्थासँग नाडालाई कसरी जोड्ने भन्ने विषयमा गहनरुपले लाग्नु पर्ने अवस्था रहेको श्रेष्ठ बताउँदै भन्छन् ‘यी र यस्ता कामको लागि म नाडाको निर्वाचनमा उमेदवार बनेको हुँ ।’

 

बलियो र परिणाममुखी नाडा बनाउनु पर्छ: राजनबाबु श्रेष्ठ

वर्तमान कार्य समितिमा रहेर अटो शो र वातावरण तथा सडक सुरक्षा समितिमा नेतृत्व गरिरहेका राजनबाबु श्रेष्ठ नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी सिप्रदी ट्रेडिङका सीईओ हुन् । विगत दुई कार्यकालदेखि नाडामा सक्रिय श्रेष्ठ अटो क्षेत्रको जानकार मानिन्छन् ।
सिप्रदीले कमर्शियल, लाइट कमर्शियल, प्यासेन्जर कार, ल्यूब, टायर, ब्याट्री, पार्टस् जस्ता व्यवसाय गर्दै आएको कारण पनि श्रेष्ठ सबै किसिमको व्यवसायको जानकार मानिन्छन् । यसपटक करण चौधरीको प्यानलबाट सदस्यको उमेदवार भनेका उनी सदस्यता विस्तारपछि विस्तृत र व्यापक भएको नाडालाई थप बलियो बनाउन आफूले उमेदवारी दिएको बताउँछन् ।

‘हामीले सदस्यता विस्तार गरेर नाडालाई ठूलो संस्था त बनायौं अब यसको व्यवस्थापनमा जुट्नु पर्नेछ । सबै टीमको सहयोगमा मात्रै यो सम्भव छ, त्यसमा केही भएपनि म सहयोगी बन्न सक्छु भनेर उमेदवार बनेको हुँ,’ श्रेष्ठले भने ।

नीतिगत लबिङमा बलियो बनाउने, सदस्यको क्षमता अभिवृद्धि गर्ने, औद्योगीकरण युग अनुसार नाडाको गतिविधि संचालन गर्नु पर्ने आवश्यकता देखेको भन्दै श्रेष्ठ भन्छन्, ‘अबको माग र आवश्यकता अनुसार नाडाका हरेक सदस्य बलियो हुनुपर्छ । त्यसको लागि आवश्यक वातावरण निर्माण गर्न हामीले काम गर्ने हो ।

 

उद्योग स्थापनामा सहयोगी बन्न सक्छु : दीपककुमार अग्रवाल

करिब २५ वर्ष देखि विभिन्न अटाेमाेवाइल कम्पनीमा आबद्ध रहेर काम गरिसकेका दीपककुमार अग्रवाल जगदम्बा मोटर्सका निर्देशक हुन् । जगदम्बा मोटर्स टीभीएस, प्रोटोन जस्ता सवारी साधनको विक्रेता कम्पनी हो भने टीभीएसको एसेम्बल प्लान्ट पनि नेपालमा स्थापना भइसकेको छ । ध्रुव थापाको प्यानलबाट सदस्यमा उमेदवार बनेका अग्रवाल नाडा समावेसी हुनु पर्ने धारणा राख्छन् ।

आफूलाई अटोमोबाइल क्षेत्रको सिपाहीसँग तुलना गर्दै अग्रवाल भन्छन्, ‘हामी जस्तोसुकै परिस्थिति निर्माण भए पनि एउटा सिपाहीले जस्तो समस्या जुध्दै समाधान खोज्दै अगाडि बढेका छौं । तर, धेरै साथीहरूको व्यवसायमा आउने समस्यासँग लड्न नाडा चाहिएको हो । त्यसैले टीम समावेशी हुनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । एक्लै काम गर्न कठिन होला तर, टिमले नै काम गरेको खण्डमा सहज हुन्छ । हामीले हाम्रा एजेन्डा राखेका छौं । त्यसलाई पूरा गर्न सक्ने टिम बनाएका छौं ।’

उनी भन्छन्, ‘देशभर रहेका व्यवसायीहरूको हितमा काम गर्न सबै कुरा बुझेको मानिस हुनुपर्छ । हामी यस्तो संस्था हौ भन्दैमा कसैले हाम्रो कुरा सुन्दैनन् । हाम्रो कुरा सुन्ने बनाउन हामीसँग तथ्य र तथ्यांक हुनुपर्छ । त्यसको लागि हामी काम गर्छौ । हामीले मोटरसाइकलको प्लान्ट संचालनमा ल्याइसकेका छौं । यस्ता उद्योग अन्य साथीले खोल्न चाँहदा पनि सहयोगी बन्न सक्ने छु ।’


Back_to_top