विद्युतीय साधनमा बढेको कर फिर्ता लिन नाडाको आग्रह

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले विद्युतीय सवारीसाधनमा बढाइएको कर फिर्ता लिन आग्रह गरेको छ । एशोसिएशनले आज उपत्यकामा एक कार्यक्रम आयोजनागरी १०० किलोवाटदेखि २०० किलोवाट पीकपावर भएका गाडीमा बढाइएको कर फिर्ता लिन आग्रह गरेको हो ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुव थापाले भने, ‘ग्राहकहरुले विद्युतीय गाडी किन्न थालेको र सरकारले पनि विद्युतीय गाडीको प्रयोग बढाउने बताइरहेकै समयमा भएको अत्याधिक कर वृद्धिले विद्युतीय गाडीको प्रयोग बढ्ने क्रममा ब्रेक लाग्ने देखिएको छ ।’

नाडाका उपाध्यक्ष तथा इलेक्ट्रीक भेहिकल कमिटिका सभापति राजनबाबु श्रेष्ठले विद्युतीय सवारीसाधनको उपयोगीता र आवस्यकताको विषयमा कार्यपत्र प्रस्तुत गरेको थिए । श्रेष्ठको अनुसार सरकारले बामेसर्दै गरेको विद्युतीय सवारीलाई मानिसको दैनिकीमा बदल्न पनि बढेको कर हटाउन माग गरेका थिए ।

‘निजी क्षेत्रले चार्जिङ नेटवर्क विस्तार, कमर्शियल सेग्मेन्टमा पनि नयाँ साधनको उपलब्धता र नेपालमा नै विद्युतीय साधन उत्पादनको चरणमा रहेको समयमा सरकारले बढाएको करले विद्युतीकरण गर्ने अभियाननै पछाडि धकेलिने अवस्था आउन सक्ने देखिन्छ’, उपाध्यक्ष श्रेष्ठले भने ।

त्यसैगरी २०० सीसी माथिका मोटरसाइकलमा बढाइएको अन्तःशुल्क तथा भन्सार महशुलले पहाडी बाटोमा गुडाउन सकिने साधन नै ल्याउन नसक्ने अवस्था आएको नाडाका टु ह्वीलर कमिटिका सभापति अभिक ज्योतिले बताए । उनले भने, ‘२०० सीसीभन्दा ठूला अटोमोवाइल विक्री गर्दै आएकाले अव आफनो व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था उत्पन्न भएको छ । त्यसैले बढाइएको कर पूर्नविचार गर्न सरकारसँग आग्रह गर्छु ।’

कार्यक्रममा नाडा पदाधिकारी र सदस्यहरुको साथै विभिन्न विद्युतीय तथा मोटरसाइकल विक्रेता सदस्यहरुको उपस्थिति रहेको थियो । नाडाका महासचिब सुरेश उप्रेतीले कार्यक्रम संचालन गरेका थिए ।


Back_to_top