२५० सीसी माथिका मोटरसाइकलको ब्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आयोः ज्योति

काठमाडौं । सरकारले नयाँ बजेट मार्फत २५० सीसी माथिका मोटरसाइकलमा लगाइएको भन्सार र अन्तःशुल्कको कारण व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आएको नाडाका टु ह्वीलर कमिटि सभापति अभिक ज्योतिले बताए ।

आज उपत्यकामा नाडाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्योतिले भने, ‘सरकारले अत्याधिक बढाएको भन्सार र अन्तःशुल्कको कारण २५० सीसी माथिका मोटरसाइकल विक्री गर्नै नसक्ने अवस्था आएको र व्यवसाय नै बन्द गर्नु पर्ने देखिएको छ । त्यसैले यसमा सरकारले कर घटाउनु पर्छ ।’

सरकारले बजेटभन्दा अघि नै असार मसान्तसम्मको लागि आयात बन्द गरेको २५० सीसीभन्दा माथिका मोटरसाइकल अब आयात खुल्ला भएपनि विक्री गर्न नसकिने ज्योतिको भनाई थियो ।

‘नेपालको भौगोलिक अवस्थाले गर्दा २५० सीसीका मोटरसाइकललाई कम्युटर सेग्मेन्टमा नै राख्नु पर्छ । नेपालमा एड्भेन्चर स्पोटर्सलाई बढाउनका लागि पनि ३५० सीसीसम्मका मोटरसाइकलमा यसरी कर बढाउनु राम्रो हुँदैन,’ ज्योतिले भने ।

उनले इम्वोस्ड नम्वर प्लेटका सम्बन्धमा बोल्दै सरकारले जनतालाई सास्ती दिन खोजेका बताए । इम्वोस्ड नम्वर प्लेटमा सरकारले लगानी गर्नु पर्नेमा सरकारले उल्टै जनतालाई दुःख दिएर नागरिकको पैसा र समय दुबै खर्च गर्न खोजेको उनको भनाई छ ।


Back_to_top