अटोमोवाइल क्षेत्रको समस्या समाधान गर्न विभागसँग नाडाको माग

काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालले बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग अटोमोवाइल व्यवसायमा रहेका समाधान गर्न आग्रह गरेको छ । नाडाका पदाधिकारी सहितको टोलीले विभागका महानिर्देशक प्रकाश पौडेलसँग भेटी अटोमोवाइल व्यवसायका समस्या समाधान गर्न आग्रह गरेका हुन् ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दै आएको भन्दै सवारी साधनको आयातमा देखिएका विभिन्न समस्या समाधान गर्न आग्रह गरेको नाडाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । छलफलमा नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याहरु बारे आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहरुको आयातको सम्बन्धमा देखापरेका विभिन्न समस्याहरु राख्दै एक्जीम कोडको नविकरण ५ बर्षका लागि नविकरण हुने व्यवस्था रहेकोमा व्यापारिक फर्म कम्पनीहरुलाई पनि सो सुविधा दिनु पर्ने तथा नयाँ एक्जीम कोड लिदा बैङ्क ग्यारेण्टी राख्नु पर्ने भए पनि पुराना फर्महरुले बैङ्क ग्यारेण्टी राख्नु नपर्ने व्यवस्था गर्न माग गरेका थिए ।

नाडाका कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले भारतबाट उच्च गुणस्तरका लुव्रिकेण्टसहरु मात्र आयात गर्न दिने व्यवस्था गर्न सुझाएका थिए । छलफलको अन्त्यमा विभागका महानिर्देशक प्रकाश पौडेलले अटोमोवाइल क्षेत्रमा रहेका ठूला समस्यालाई बुँदागत रुपमा ल्याउन आग्रह गरेका थिए ।


Back_to_top