अर्थमन्त्रीले उद्घाटन गरे पहिलो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पहिलो ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ उद्घाटन गरेका छन् । आजबाट सुरू भएको मोबिलिटी एक्स्पो ५ दिनसम्म चल्ने छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको मोबिलिटी एक्स्पो उद्घाटन अगाडि नै तयारी अवलोकन गरेर मन्चमा पुगेका अर्थमन्त्रीले प्रदर्शनीको गुणस्तर वृद्दि भएको र व्यवस्थापन निकै चुस्त रहेको बताए ।

‘निकै व्यवस्थित तरिकाले अटो शो आयोजना भएको रहेछ । नयाँ गाडीको उपस्थिति पनि बाक्लै देखियो’, अर्थमन्त्री पौडेलले भने ।

कार्यक्रममा नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले स्वागत मन्तव्यको क्रममा सडकका गुणस्तर वृद्धि, यातायातमैत्री ऐन र कानुन निर्माणमा सरकारले काम गर्नु पर्ने बताइन् । उनले भृकुटीमण्डमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माणमा जोड दिएकी थिइन् ।

हिलो र धुलोरहित सडक निर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै अर्थमन्त्रीले भने, ‘सडकको गुणस्तर सुधारमा पनि हाम्रो प्राथमिकता छ । सिमेन्ट, रोडको प्रयोग पनि सडक निर्माणमा थाल्दैछौं । प्रविधिको प्रयोगबाट हामी गुणस्तरीय सडक निर्माण गर्नेछौं । सरकारले भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउन बजेट छुट्टाएको र अबको तीन वर्ष भित्र प्रदर्शनी केन्द्र बन्नेछ ।’

नीतिगत स्थिरता भन्दै व्यवसायीले धारणा राखेको प्रति इंगित गर्दै अर्थमन्त्रीले भने, ‘निजी क्षेत्रसँग सहकार्य र सम्वाद गरेर नै बजेट निर्माण गरेका हौं । यस्तोमा धेरै कुरा स्थीर राखिएको छ ।’

उनले सरकारले अटोमोबाएल क्षेत्रको दीर्घकालीन भविष्य हेरेर नै बजेटमा करको दर परिवर्तन नगरिएको बताए । ‘बजेटले करको दर परिवर्तन न गरेकोमा नाइमाले सरकारलाइ बधाइ दिनुपर्ने हो । हामीले लङ ट्रम हेरेर नै परिवतन नगरिएको हो,’ उनले भने ।


Back_to_top