रफ्तारमा नामी, एउटै लयमा टियागो ईभी

काठमाडौं । सन् २०२५ लागेसँगै एसयूभीको चर्चा तीव्र हुँदै गएको छ । एसयूभीको चर्चा बढे पनि ह्याचब्याक कारको आयात पनि राम्रो संख्यामा हुँदै आएका छन् ।

सन् २०२५ को जनवरी १ देखि फेब्रुअरी १५ सम्ममा २८१ युनिट ह्याचब्याक कार आयात भएको भन्सार तथ्यांकमा देखिन्छ । त्यसमा सबैभन्दा धेरै डोङफेङ नामीको आयात भएको छ ।

एमएडब्लू वृद्धिले नेपालमा बिक्री वितरण गर्दै आएको नामी ह्याचब्याकको सेप्टेम्बरमा नेपाल आउन थालेसँगै अहिलेसम्म ४७१ युनिट आयात भइसकेको छ । कम्पनीले जनवरीमा ८८ युनिट आयात गरेको देखिन्छ । फेब्रुअरी लागेसँगै १५ दिनमा २९ युनिट नामी आयात भएको छ । सन् २०२५ को ४५ दिनमा नै ११७ युनिट नामी ईभी आयात भएको हो ।

नामीपछि अर्को धेरै आयात भएको मोडल बीवाइडी डल्फिन हो । साइमेक्स इंक प्रालिले जनवरीमा ५० युनिट डल्फिन भन्सार छुटाएको छ । फेब्रुअरीको १५ दिनमा थप डल्फिन आयात भएको देखिँदैन ।

टाटा टियागो एउटै पेसमा आयात भइरहेको छ । सिप्रदी ट्रेडिङले जनवरीमा २ युनिट मात्रै टियागो ईभी आयात गरेको थियो । तर, फेब्रुअरीको १५ दिनमा नै कम्पनीले ४७ युनिट टियागो ईभी आयात गरेको हो ।

नामी, डल्फीन र टियागोपछि सबैभन्दा धेरै आयात केई इक्यूट-०४ ईभीको भएको छ । जनवरीमा १५ युनिट र फेब्रुअरीमा १० युनिट इक्युट-०४ आयात भएको देखिन्छ ।

एमजीले कोमेट फेब्रुअरीमा ९ युनिट र जनवरीमा एमजी–फोर ६ युनिट आयात गरेको छ । भोल्टस ब्राण्डले १० युनिट ह्याचब्याक कार ल्याउँदा ओरा-०३ को आयात ८ युनिट भएको देखिन्छ ।

अन्य ब्राण्डहरू हेनरी, ब्रम्बी, हाउजी लगायतका ब्राण्डले ७ युनिट ह्याचब्याक कार नेपाल ल्याएका छन् ।


Back_to_top