काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट-बुटवल सडकको गैँडाकोट खण्डमा विस्तारको काम रातिमा मात्र भइरहेको छ ।
दिउँसोमा सवारीसाधनको चाप अत्यधिक हुने भएकाले काम गर्न असहज भएकाले रातिमा काम गरिएको हो । नारायणी नदीको पुलबाट पश्चिमतर्फ १७० मिटर सडक कालोपत्रसँग जोडिन बाँकी रहेकाले रातिमा काम अगाडि बढाइएको आयोजनाले जनाएको छ ।
नारायणघाट बुटवल सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले दिनमा यो सडकमा काम गर्दा सवारीसाधनको लामो जाम भएकाले ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि रातिमा काम थालिएको बताए।
उनले अहिले हरेक दिन राति १० बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म काम भइरहेको बताए। ‘दिउँसोमा सवारीसाधनको चाप अत्यधिक हुने भएकाले सहज रूपमा काम गर्न समस्या देखियो । रातिमा सवारी चाप कम हुने भएकाले सहज रूपमा काम गर्न पाइन्छ,’ उनले भने ।
कार्यतालिका बमोजिम प्रगति हासिल भएमा अबको १० दिनमा यस सडकमा कालोपत्र गरेर सकिने सूचना अधिकारी खनालले बताए । गैँडाकोटको यसखण्ड र दाउन्नेको पहाडबाहेक नारायणघाट बुटवल सडकको पूर्वी खण्डमा एकतर्फी कालोपत्रको काम भइसकेको आयोजना कार्यालयले जनाएको छ । चाडपर्व सकिएपछि सडक विस्तारको काम तीव्र गतिमा अगाडि बढिरहेको खनालको भनाइ छ ।
‘दाउन्नेमा तीन किमी सडक कालोपत्र गरिँदै छ भने बाँकी करिब १० किमी ढलानको काम भइरहेको छ । दुईतर्फी सडक कालोपत्र भइसकेको ठाउँमा भने डिभाइडर, सर्भिसलेनलगायत सौन्दर्यकरणको काम हुँदैछ,’ उनले भने
यस सडकको भौतिक प्रगति करिब ७३ प्रतिशत हाराहारी पुगेको छ । नारायणघाट-बुटवल खण्डको ११४ किमीमध्ये अहिले १०२ किमी बढीमा कालोपत्र भइसकेका छ ।
यो सडक १०० किमी चार लेनमा तथा दाउन्नेको १४ किमी सडक तीन लेनमा विस्तार हुँदैछ । भौगोलिक कठिनाइका कारण दाउन्नेमा तीन लेनमा मात्रै सडक विस्तार हुने आयोजनाका सूचना अधिकारी खनालले बताए । उनका अनुसार विस्तारका क्रममा सहरी क्षेत्रमा सडकबाट उत्तरतर्फ र दक्षिणतर्फ अतिरिक्त दुई लेनलाई ‘सर्भिस लेन’का रूपमा निर्माण गरिनेछ ।


