काठमाडौं । सन् २०२१ कोभिड १९ को बीच पनि नेपाली नागरिकले आफ्नो दैनिकीलाई केही सहज बनाउन कोशिस गरे । अप्रिलदेखि भएको लकडाउनले अर्थतन्त्रमा लामो संकट सृजना गरेको भएपनि मानिसले त्यसलाई केही हदसम्म सहज बनाउने बाटोमा लग्दा अटोमोवाइल व्यवसायको व्यापार निकै राम्रो भयो ।
यसअघि नै नेपालमा विक्री हुँदै आएका मारुती सुजुकी ब्रेजा, हुन्डाई क्रेटा, महिन्द्रा स्कर्पियो, टाटा नेक्सन, हुन्डाई ग्राण्ड आई १०, किया सेल्टोस र सोनेट जस्ता मोडलहरुले आफ्नो सफलतालाई निरन्तरता दिँदा बजारमा आएका केही मोडलले थप सफलता पाउन सफल भए ।
सन् २०२१ को सुरुवातबाट नेपालमा आएका निसान म्याग्नाइट, स्कोडा कुशक, रेनो काइगर र नेक्सन इभीले पनि नेपालमा राम्रो सफलता पाउन सफल भएका छन् । यस्तोमा हामीले सन् २०२१ मा नेपाल आएका केही सफल मोडलको विषयमा यहाँ चर्चा गरेका छौं ।
निसान म्याग्नाइट
निसान इन्डियाले उत्पादन गरेको सब फोर मिटर एसयूभी म्याग्नाइट सन् २०२१ मा नेपाल आएर सबैभन्दा बढी सफलता पाउने मोडल हो । निसानले यसलाई १.० लिटर क्षमताको इन्जिनमा ल्याएको कारण पनि यसले उत्कृष्ट माइलेज प्रदान गर्छ ।

स्टाइलिस डिजाइन, फिचर लोडेड र सानो इन्जिन जडान भएको म्याग्नाइट कम मूल्यको कारण सर्वाधिक चर्चामा रहेको मोडल बन्यो । सुरुवाती मूल्य २९ लाख ४९ हजार कायम भएर बजारमा आएको यो एसयूभी धेरै मानिसले रुचाए ।
नेपाल आएको १० महिनामा नै करिब १२ सय यूनिट विक्री भएको म्याग्नाइटले युवा तथा ह्याचव्याकबाट माथि उक्लने धेरै ग्राहकलाई तान्न सकेको कारण सफलता हात पारेको हो ।
रेनो काइगर
रेनोले भारतमा नै उत्पादन गरेको काइगर पनि उत्कृष्ट डिजाइन र कम मूल्यको कारण नेपाल आएको छोटो समयमा नै सफलता हात पार्न सफल भयो । कम्पनीले सन् २०२१ जुलाईमा नेपाल ल्याएको काइगर करिब ४ सय ५० यूनिट विक्री भइसकेको छ ।

रेनोले सुरुवाती मूल्य २८ लाख ४९ हजार कायम गरेर विक्री सुरु गरेको काइगरले धेरै हदसम्म ह्याचव्याक कारका ग्राहकलाई आफुतर्फ आकर्षित गरेको देखिन्छ ।
बि सेग्मेन्ट ह्याचव्याकको मूल्यमा नै उपलब्ध सब फोर मिटर एसयूभी र १.० लिटर क्षमताको नेचुरल्ली एस्पिरेटेड र टर्बो इन्जिनमा उपलब्ध काइगर उत्कृष्ट माइलेजको कारण पनि धेरै ग्राहकको रोजाईमा पर्न सफल भएको हो ।
टाटा नेक्सन इभी
सिप्रदी ट्रेडिङले नेपाल ल्याएको नेक्सन इभी लञ्चिङ अगाडि नै सफल भएको मोडल हो । कम्पनीले सुरुमा बुकिङ खोल्दा ने करिब ५०० यूनिट नेक्सन इभी ग्राहकले बुकिङ गरेका थिए । सप्लाईमा आएको समस्याको कारण सुरुमा बुकिङ गरेका सबै ग्राहकले अहिलेसम्म नेक्सन इभी डेलिभरी पाउन सकेका छैनन् ।

ग्राहकको उच्च माग र सप्लाईमा समस्या देखिएपनि नेक्सन इभी २०२१ मा नेपाल आएको सफल मोडल हो । विद्युतीय गाडी प्रति ग्राहकको आकर्षण बढ्दै जाँदा कम्पनीले यसको सप्लाई बढाउने कोशिष गरिरहेको बताएको छ ।
३०.२ किलोवाट आवरको लिथियम आयोन व्याट्री प्याक र ९५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको नेक्सनले एक पटकको फुलचार्जमा ३१२ किलोमिटर रेन्ज प्रदान गर्ने जनाए पनि यसले सडकमा २५० किलोमिटर रेन्ज दिएको उपभोक्ताको भनाई छ ।
सुरुमा ३५ लाख ९९ हजार सुरुवाती मूल्य कायम भएको विक्री सुरु भएको नेक्सन इभीमा नेपालमा उपलब्ध विद्युतीय गाडी मध्ये सर्वाधिक धेरै २०५ एमएम ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
स्कोडा कुशक
स्कोडाले भारतीय बजारलाई ध्यानमा राखेर उत्पादन गरेको कुशक एसयूभी पनि सन् २०२१ मा नेपाल आएको सफल मोडल हो । जुलाई महिनामा नेपाल आएको कुशक पनि करिब ४०० यूनिट आयात भइसकेको छ ।

विशेषत हुन्डाई क्रेटा र किया सेल्टोसको सेग्मेन्टमा प्रतिस्पर्धा गर्न आएको कुशकले प्रतिस्पर्धी मोडलको सप्लाई आएको समस्याको धेरै फाइदा उठाउन सफल भयो । सार्प र बोल्ड डिजाइन, फिचर लोडेड र यूरोपियन टेक्नोलोजीमा उत्पादन भएको कारण यसलाई धेरै ग्राहकले मनपराएका छन् ।
यसमा कम्पनीले १.० लिटर टर्बो पेट्रोल इन्जिन दिएको छ । फक्सवागेन ग्रुपको टीएसआई इन्जिन भएको कारण यसको पावर निकै उत्कृष्ट रहेको छ । करिब ५० लाख सुरुवाती मूल्यमा विक्री सुरु भएको कुशकले नेपालमा ब्राण्डिङ्गमा छुट्टै बेञ्चमार्क राख्न सफल भएको छ ।

