काठमाडौं । नेपाली बजारमा इलेक्ट्रीक स्कुटरको माग बढ्दै गएको छ । बजारमा माग बढेसँगै नयाँ-नयाँ ब्रान्डका इलेक्ट्रीक स्कुटर नेपाल आइरहेका छन् । नेपालमा अहिले भारत र चीनमा उत्पादन भएका इलेक्ट्रीक स्कुटर विक्री वितरण भइरहेका छन् ।
अहिले भारतमा उत्पादन हुने विभिन्न ३ ब्रान्डका इलेक्ट्रीक स्कुटर नेपालमा विक्री भइरहेको छन् भने एक ब्रान्डले विक्री सुरु गर्ने तयारी गरिरहेको छ । साथै, चीनमा उत्पादन भएका अन्य एक दर्जनभन्दा धेरै ब्रान्डका इलेक्ट्रीक स्कुटर नेपालमा विक्री भइरहेका छन् ।
भारतीय बजारमा उत्पादन भएका इभीई, वकिनावा, प्योर इभी ब्रान्डका इलेक्ट्रीक स्कुटर नेपालमा विक्री वितरण भइरहेको छन् भने हिरो इलेक्ट्रीकको उत्पादनहरु विक्री सुरु हुने तयारीमा छ ।
प्योर इभीः भारतीय कम्पनी प्योर इभीले उत्पादन गरेका विभिन्न तीन मोडलका स्कुटर अहिले बजारमा खरिद गर्न सकिन्छ । कम्पनीले विक्री गर्ने सबैभन्दा कम मूल्यको स्कुटर इट्रान्स प्लस हो । इट्रान्स प्लसको मूल्य १ लाख ९९ हजार ९९९ रुपैयाँ रहेको छ ।
त्यस्तै इट्रान्स निओ को मूल्य २ लाख ४९ हजार रुपैयाँ र इप्लुटो ७ जीको मूल्य २ लाख ६० हजार रुपैयाँ रहेको छ । प्योर इभीको इलेक्ट्रीक स्कुटर नेपाली बजारमा ह्वाइट लोटसले विक्री गर्दै आएको छ ।
ओकिनवाः ओकिनवाको आधिकारीक वितरक विक्की इन्टरप्राइजेजले विभिन्न ५ मोडलका स्लेक्ट्रीक स्कुटर र डेलिभरी मोपेड नेपाल विक्री गर्दै आएको छ । कम्पनीले १ लाख ७० हजार रुपैयाँदेखि ३ लाख ४० हजार रुपैयाँ मूल्य रोखेर यी स्कुटर नेपालमा विक्री वितरण गर्दै आएको हो ।
कम्पनीले नेपाली बजारमा आइप्रेज प्लस, प्रेज प्रो, रेज प्लस, लाइट, आर ३० र डुअल गरी ५ मोडलका स्कुटर विक्री गर्दै आएको छ । ओकिनवाको सबैभन्दा महंगो स्कुटर आइप्रेज प्लसको मूल्य ३ लाख ४० हजार, प्रेज प्रोको मूल्य २ लाख ६० हजार, रेजको मूल्य २ लाख ३० हजार, आर ३० को १ लाख ७० हजार, लाइटको २ लाख ८० हजार र डुअलको मूल्य २ लाख १५ हजार रुपैयाँ रहेको छ ।
इभीईः सुन्दर ट्रेडर्सले केही समय अगाडि नेपाली बजारमा इभीईका विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले विभिन्न रेन्जमा उपलब्ध गराएको यी स्कुटरको मूल्य १ लाख १७ हजारदेखि २ लाख २४ हजारसम्म मूल्य कायम गरेर विक्री गर्दै आएको छ ।
भारतमा उत्पादन हुने यो स्कुटर सुन्दर ट्रेडर्सले नेपालमा नै एशेम्वल गर्ने तयारी गरिरहेको जानकारी दिएको छ । कम्पनीले स्कुटरको बुकिङ खुला गर्दै ५ वर्षसम्म निःशुल्क सर्भिस दिने अफर गरेको छ ।
हिरोः हिरो इलेक्ट्रीक केही समय अगाडि नेपालमा विक्री भइसकेको ब्रान्ड हो । विविध कारणले विक्री बन्द भएको यो इलेक्ट्रीक ब्रान्डलाई लक्ष्मी समूहले नेपाल ल्याएको हो । केही दिन भित्रै नेपाली बजारमा यसको विक्री सुरु हुने कम्पनी स्रोतले जानकारी दिएको छ ।

