काठमाडौं । अमेरिकी अटो जाइन्ट फोर्ड मोटर्सले आफ्नो सफल पीकअप मोडल रेन्जरको चौथो जेनेरेशन मोडल सार्वजनिक गरेको छ । नयाँ पावरट्रेन्ड तथा बोल्ड एक्टेरियर डिजाइन सहित आएको फोर्ड रेन्जर पहिलोको तुलनामा थप आक्रामक देखिएको छ ।
क्यावीन डिजाइनमा पनि परिमार्जन भएको नयाँ रेन्जर आगामी वर्षबाट मात्र विक्री सुरु हुने फोर्डले जनाएको छ । नयाँ फोर्ड रेन्जर पेट्रोल, डिजेल र इलेक्ट्रीक इन्जिनमा आउने छ ।
फोर्डको रेन्जरमा ठूलो साइजको रेडिएटर ग्रिलको बीचमा होरिजेन्टल बार दिइएको छ, जसले गर्दा यसको ‘फ्रन्ट फेस स्टायलीस’ देखिएको छ । साथै, अगाडि ग्रिलको दुबैतर्फ अंगे्रजी अक्षर सी सेपको एलइडी डिआरएलले रेन्जर अत्याधुनिक र आकर्षक देखिएको छ ।

अगाडिको बम्परमा पनि बुलबार जस्तो देखिने ट्रिम, सिल्भर स्किड प्लेट तथा व्ल्याक कलरको हाउजीङ सहितको फग ल्याम्पले पीकअपलाई स्पोर्टी देखाएको छ । टेलगेट डिजाइनमा पनि रेन्जर नाम स्ट्याम्प भएको छ । साइडमा ठूलो साइजको ह्वीलआर्क तथा एलइडी व्याक लाइटले रेन्जरलाई आकर्षक देखाएको छ । फोर्डले रेन्जरको लन्चिङसँगै करिब ६ सय प्रकारका एसेसोरीज पनि सार्वजनिक गरेको छ । यसको प्रयोग ग्राहकले अतिरिक्त रकम खर्च गरेर गर्न पाउने छन् ।
फोर्डले रेन्जरको क्यावीनमा १० देखि १२ इन्च सम्मको पोर्टेड आरियन्टेट टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम प्रयोग गरिएको छ । स्कृनको दुबैतर्फ ठूलो साइजको एसीभेन्ट तथा क्लाइमेट कन्ट्रोल बटम दिइएको छ । ड्यासबोर्ड भने ‘अल व्ल्याक थिम’को सफा प्रिमियम सफ्टटच मेटेरियल प्रयोग भएको छ ।

फोर्डले रेन्जरमा २.० लिटर र ३.० लिटरको भी सिक्स डिजेल इन्जिन दिएको छ । धेरै पावर चाहिने ग्राहकल लक्षित गरेर २.३ लिटरको टर्बोचार्ज्ड फोर सिलिण्डर पेट्रोल इन्जिमा पनि रेन्जर ल्याउने छ । यसमा ५ र ६ स्पीडको म्यानुयल गियरबक्स तथा १० स्पीडको अटोमेटीक गियरबक्स पाउन सकिन्छ ।
फोर्डले इलेक्ट्रीक रेञ्जर भने सन् २०२४ मा मात्र बजारमा ल्याउने जनाएको छ । नेपालमा पनि फोर्डको आधिकारीक विक्रेता जिओ फोर्डले रेन्जर मोडल विक्री गर्दै आएको छ । थाइल्याण्डको प्लान्टमा उत्पादन हुने रेन्जर नेपाली बजारमा उपलब्ध हुन्छ । सन् २०२२ मा रेन्जरको नयाँ मोडल नेपाली बजारमा उपलब्ध हुनेछ ।

