विशाल स्क्रीनसहित तयार भयो नयाँ ‘किया सेल्टोस’, थपिए यस्ता फिचर

काठमाडौं । कियाले आफ्नो कम्प्याक्ट एसयूभी सेल्टोसको नयाँ जेनेरेशन मोडल बजारमा उतारेको छ । निकै ठूलो ३० इन्चको दुई कनेक्ट स्क्रीनसहित आएको सेल्टोस धेरै कुरा नयाँ थपिएर आएको हो ।

कोरियन कार कम्पनी किया मोटर्सले आफ्नो कम्प्याक्ट मिडसाइज एसयूभी सेल्टोसको पहिलो मोडल सन् २०१९ मा ल्याएको थियो । भारत मेड पहिलो मोडल सेल्टोस निकै सफल मानिन्छ ।

कियाले नयाँ सेल्टोस निकै ‘अग्रेसिभ’ देखिने एक्टेरियर र प्रिमियम इन्टेरियरमा ल्याएको छ । यसको लम्बाइ ४.४६० मिटर छ । जुन पहिलेको भन्दा ठूलो बनाइएको हो । सन् २०२६ जनवरी २ बाट ग्राहकले पाउने नयाँ सेल्टोसको बुकिङ भने हिजैबाटै सुरू भएको हो ।

‘ग्लोबल केथ्री प्लेटफर्म’मा बनेको नयाँ सेल्टोसको चौडाइ १८३० एमएम, उचाइ १६३५ एमएम र ह्वीलबेस २६९० एमएम लामो छ ।

नयाँ सेल्टोसको ‘लुक्स रग्ड’ देखिएको छ । यसको एक्सटेरियरमा नयाँ डिजाइनको ग्रिल, हेडलाइट, बम्पर, फगलाइट र कनेक्टेड एलईडी टेललाइट देखिएको छ । कियाले यसमा फ्लस डोर ह्याण्डल, डाइनामिक वेलकम र गुडबाई एनिमेसन, ब्लाइण्ड भ्यू मनिटर, डिजिटल टाइगर फेस, १८ इन्चको डायमण्ड कट ड्युल टोन ह्वील प्रयोग गरेको छ ।

इन्टेरियरमा ‘ब्ल्याक एण्ड ह्वाइट’ कलरमा सजिएको लेदरेट सिट, लम्बार सपोर्ट सहितको १० तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, भेन्टिलेटेड फ्रन्ट सिट, वायरलेस फोन चार्जर, बोसको ८ वटा स्पीकर पाउन सकिन्छ । त्यसैगरी ड्युल प्यानल पानारोमिक शनरुफ, प्रोक्सीमीटी वेसको स्मार्ट कि, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो उपलब्ध हुनेछ ।

सुरक्षाको लागि कम्पनीले नयाँ सेल्टोसमा स्ट्याण्डर्ड ६ वटा एयरब्याग, ईसीएस, एबीएस, हिल स्टार्ट असिस्ट, रोल ओभर सेन्सर र रियर अकुपेन्ट अलर्ट, २८ अटोनोमस फिचर सहितको लेभल २ एडास फिचर दिएको छ । चालकको सहजताको लागि ३६० सराउण्ड भ्यू क्यामरा, चारै चक्कामा डिस ब्रेक, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचरले सुरक्षामा थप अब्बल देखिन्छ ।

कियाले नयाँ जेनेरेशन मोडल ल्याएता पनि इन्जिन भने पुरानै प्रयोग गर्ने जनाएको छ । नयाँ सेल्टोसमा १.५ लिटर पेट्रोल, १.५ लिटर टीजीडीआई टर्बो पेट्रोल र १.५ लिटर सीआरडीआई भीजीटी डिजेल इन्जिन दिएको छ ।

यी इन्जिनहरूसँग ६ स्पीडको म्यानुअल र सीभीट, ७ स्पीडको डीसीटी, ६ स्पीडकै आईएमटी र ६ स्पीड टर्क कन्भर्टर गियर अप्सन उपलब्ध हुनेछ ।


Back_to_top