ब्याट्री, मोटर र साइज बढेर आउँदै नयाँ कोना, कहिले आउला नेपाल ?

काठमाडौं । हुन्डाई मोटर्सको क्रसओभर इलेक्ट्रीक एसयूभी कोनाको नयाँ जेनेरेशन मोडल ग्लोवल प्रिमियर हुने भएको छ । नेपाली बजारमा एकदमै मन पराइएको सफल इलेक्ट्रीक कार कोना ईभीले सन् २०१८ मा डेव्यू गरेको थियो । सन् २०२१ मा पहिलो पटक फेसलिफ्ट भएको कोना ईभी अब भने नयाँ जेनेरेशन मोडलको रुपमा आउन लागेको हो ।

कोना ईभीको सेकेन्ड जेनेरेशन मोडल मार्च ३० तारिखमा कोरियाबाट ग्लोबल प्रिमियर हुने भएको हो । हुन्डाईले ‘सोल मोविलीटी शो २०२३’मा यसलाई प्रदर्शनी गर्ने भएको छ । यसको विक्री भने कोरियाबाट जुलाईपछि हुने बताइएको छ ।

कम्प्याक्ट क्रसओभर डिजाइनमा रहेको कोना ईभीको नयाँ जेनेरेशन मोडलको साइज, डिजाइन र फिचर सबै पक्षमा पुरै परिवर्तन हुनेछ । यो कार अब हुन्डाईको आयोनिक ५ जस्तै ठूलो तथा परिष्कृत भएर आउन लागेको हो ।

साइज तथा डिजाइनमा परिवर्तन

नयाँ जेनेरेशन कोना ४३५५ एमएम लामो, १८२५ एमएम फराकिलो र १५७५ एमएम अग्लो हुनेछ । नयाँ कोना हुन्डाई क्रेटाभन्दा ठूलो साइजमा आउने छ ।

नयाँ जेनेरेशन कोना पहिलाको भन्दा १७५ एमएम लामो, २५ एमएम बढी चौडा र २० एमएम बढी अग्लो हुनेछ । नयाँ कोनाको ह्वीलवेस पनि पहिलोको भन्दा ६० एमएमले बढ्ने छ । यसमा २६६० एमएम लामो ह्वीलवेस रहने छ । यी सबै कारण नयाँ कोनामा क्यावीन स्पेश उल्लेख्य रुपमा बढ्ने छ ।

एक्टेरियर डिजाइन अपग्रेड

नयाँ जेनेरेशन कोनामा पहिलेको जस्तै कम्पोजीट हेडल्याम्पको रुपमा चर्चा पाएको स्प्लीट हेडल्याम्पले निरन्तरता पाउनेछ । यसमा हेडल्याम्प भने होरिजेन्टल लोअर ल्याम्पको सट्टामा प्यालासेड र टुसानमा जस्तै भर्टिकल लोअर मेन हेडल्याम्प रहनेछ ।

यसमा लोअरबीम, हाइबीम र थ्री स्ट्राइप्स टर्न लाइटको संयोजन हुनेछ । यसमा दिइएको डेटाइम रनिङ लाइट पनि हुडको पूरै वारपारसम्म नयाँ पोजीसनमा छ ।

नयाँ कोनामा चार्जिङ पोर्टको पोजिसन भने पुरानै स्थानमा दिइएको छ । नयाँ कोनामा सार्प तथा अझै अग्रसिप देखिने बडीकलर ट्रयापजोडियल ह्वील आर्क रहनेछ । यसको दुबै साइडमा अंग्रजी अक्षर जेडसेपको क्यारेक्टर लाइन रहेको छ ।

नयाँ कोनाको रियर क्वाटर ग्लासको साइज पनि ठूलो भएको छ, जसले गर्दा पछाडि बस्ने प्यासेन्जरको भिजीवीलीटी बढाउन मद्दत पुग्ने छ । पछाडिको भाग किनै क्लीन मोनोलेथीक डिजाइनमा तयार भएको छ । यसमा क्लीयर लाइनका साथै स्लीम टेललाइट रहेको छ ।

हुन्डाईले स्लीमलेस होरिजन ल्याम्प नाम दिएको यो स्ट्रीप लाइट वारपार एसयूभीको सोल्जर एरियासम्म पुगेको छ । त्यसको तलपट्टी दिएको लाइट कम्बीनेसनमा स्टप लाइट्स, रिभर्स लाइट, टर्न इन्डिकेटर पाउन सकिन्छ ।

इन्टेरियर फिचर लोडेड

नयाँ कोना ईभीको भित्र पुरानोको तुलनामा निकै परिवर्तन देख्न सकिन्छ । यसको क्यावीन हुन्डाई आयोनिक ५ बाट धेरै हदसम्म प्रेरित भएको देखिन्छ । क्यावीनमा दिएको फरक प्रकारको डिउल टोन कलर डिजाइनले उज्यालोपन थप भएको छ ।

यसमा ड्यूल डिस्प्ले प्यानलसहितको समकालीन डिजाइनको ड्यासबोर्ड दिएको छ । डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर तथा टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम दुबै डिस्प्लेको साइज १२.३ इन्चको रहेको छ ।

यसमा नयाँ डिजाइनको थ्री स्पोक स्टेरिङ ह्वील तथा १२ इन्चको हेडअप डिस्प्ले समेत दिएको छ । हुन्डाईले नयाँ इलेक्ट्रोनिक एक्टीभ साउण्ड डिभाइस दिएको छ, जसले गाडीको स्पीड, टर्क तथा मोटरको अवस्थाको आधारमा स्पीकरमा साउण्ड दिने गर्छ ।

हुन्डाईले नयाँ कोनामा सेन्टर कन्सोलमा रहेको गियर सेलेक्टरलाई आयोनीक ५ मा जस्तै स्टेरिङ ह्वीलमै माउण्टेड गरेको छ । रियर प्यासेन्जरका लागि एसी भेन्ट तथा ‘नयाँ कनेक्टेड कार न्याभीगेसन ककपिट’ नाम दिएको इन्फोटेन्मेन्ट सिस्टम यसमा छ ।

यो ईभीमा रिमोट फङ्सनका लागि डिजिटल कि टु टच एप, वायरलेस चार्जिङ प्याड, एलईडी एम्वीयन्ट लाइट जस्ता फिचरहरु थप भएर आउँदैछ । नयाँ जेनेरेशन कोना १६ फरक फिचरले भरिएको आधुनिक एड्भान्स ड्राइभर असिस्ट सिस्टम लोडेड हुनेछ ।

ठूलो साइजको ब्याट्री र मोटर

नयाँ कोनामा स्ट्याण्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई फरक प्रकारको मोटरमा आउने छ । स्ट्याण्डर्ड रेन्ज कोनामा ११५ किलोवाट क्षमताको मोटर रहनेछ । यसले १५४ हर्सपावर र २५५ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । स्ट्याण्डर्ड रेन्ज कोनामा ४८.४ किलोवाट आवरको ब्याट्री प्याक रहनेछ ।

त्यस्तै लङ रेन्ज कोनामा १६० किलोवाटको मोटर रहने छ, जसले २१४ हर्स पावर तथा २५५ न्यूटन मिटरनै टर्क जेनेरेट गर्छ । यो कन्फिगरसँग ६५.४ किलोवाट आवरको ब्याट्री प्याक रहने छ । डब्लुएलपीटीका अनुसार यो ईभीले सिंगल चार्जमा ४९० किलोमिटर रेन्ज दिनेछ ।

यो ईभीलाई डिसी फास्ट चार्जरले चार्ज गर्दा ४१ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो कारमा अत्याधुनिक ब्याट्री प्रिकन्डिसनीङ सिस्टम रहेको कारण माइनस ३० डिग्रीसम्म सहजै काम गर्न सक्छ ।

कहिले आउला नेपाल ?

हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ जेनेरेशन कोना आउन अझै केही महिना लाग्ने जानकारी दिएको छ । कम्पनी स्रोतका अनुसार सम्भवत २०२३ को अन्तिम वा २०२४ को सुरुवातमा नयाँ कोना नेपाल आउने छ ।


Back_to_top