बजारमा चम्किँदै नयाँ मोडलका ईभी, यस्तो छ आयात तथ्यांक

काठमाडौं । नेपाली बजारमा ३ दर्जन बढी ब्राण्डका ५० बढी मोडलका ईभी बिक्री हुँदै आएका छन् । एकपछि अर्को नयाँ ब्राण्ड र मोडल आउने क्रम पनि जारी छ ।

बजारमा दर्जनौं ब्राण्ड भए पनि सीमित ब्राण्डले मात्र आफूलाई स्थापित गर्न सकेका छन् । बढ्दो प्रतिस्पर्धा, प्राइस वार, नयाँ मोडलको आगमन, उपभोक्ताको छनोटका आएको परिवर्तन, बिक्रीपछिको सेवा लगायतले धेरै ब्राण्डलाई टिक्न कठिन भइरहेकाे छ ।

केही ब्राण्ड र मोडल नेपाल भित्रिएको वर्षौं बित्दा पनि कुल ५० युनिट गाडी बेच्न सकेका छैनन् । तर, यो वर्ष बजारमा आएका आधा दर्जन बढी नयाँ मोडलले छोटो समयमै आफूलाई स्थापित गर्ने संकेत देखाएका हुन् ।

गत साउन र भदौमा भएका अटो शो र साे अघि नेपालमा झण्डै डेढ दर्जन नयाँ मोडलका ईभी प्रवेश गरेका थिए । ती मध्ये आधा दर्जन नयाँ मोडलले बजारमा राम्रो प्रतिक्रिया पाइरहेका छन् । ग्राहकको माग बढ्दा ती नयाँ मोडलहरूकोे आयात उत्साहजनक देखिएको छ ।

आकर्षक मूल्य, आधुनिक डिजाइन, आधुनिक टेक फिचर र सुविधा लगायतले नयाँ मोडल उपभोक्ताको नजरमा पर्न सफल भएका हुन् । यहाँ हामीले यसै वर्ष बजारमा आए आफूलाई स्थापित गराउने क्रममा रहेका मोडल बारे चर्चा गरेका छौं ।

इमास ५ : यो वर्ष बजारमा प्रवेश गरेका नयाँ मोडलमध्ये प्रोटोन इमास ५ सबैभन्दा धेरै आयात भएको छ । जगदम्बा मोटर्सले साउन पहिलो सातादेखि बिक्री थालेको प्रोटोन इमास ५ चार महिनामै ३२९ युनिट आयात भएको छ ।

आकर्षक डिजाइन, रियर ह्वील ड्राइभ, मूल्य, आधुनिक टेक फिचर लगायतले इमास ५ ले ग्राहकको मन जितेको देखिन्छ । मलेसियन ब्राण्डको प्रोटोन इमास–५ चिनियाँ अटोमोबाइल ग्रुप जिलीको ईएक्स–२ को रिब्याचिङ मोडल हो । नेपालमा इमास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्ट उपलब्ध छ । प्राइम भेरियन्टमा ५८ किलोवाटको मोटर र ३०.१२ किलोवाट आवरको एलएफपी ब्याट्री छ । यसको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ छ । प्रिमियम भेरियन्टमा ८५ किलोवाटको मोटर र ४०.१६ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । सिंगल चार्जमा ३२५ किमी रेन्ज दिने यो भेरियन्टको मूल्य ३६ लाख ९९ हजार रुपैयाँ छ ।

नेभो क्यू ०५  : चांगानको प्रिमियम ब्राण्ड नेभोको नयाँ एसयूभी क्यू ०५ पनि ग्राहकले रुचाएको देखिएको छ । एमएडब्लू वृद्धि अटोकर्पले भदौदेखि बिक्री सुरू गरेको नेभो क्यू ०५ चार महिनामै ३०६ युनिट आयात भएको छ । आकर्षक डिजाइन, ठूलो साइज, टेक फिचर र लक्जरी क्याबिनको कारण धेरैले रुचाएको देखिन्छ ।

दुई भेरियन्ट उपलब्ध क्यू ०५ को म्याक्स भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र अल्ट्रा भेरियन्टको ५१ लाख ९९ हजार रुपैयाँ छ । यसमा १२० किलोवाटको इलेक्ट्रीक मोटर र ५१.९ किलोवाट आवरको गोल्डेन शिल्ड २.० एलएफपी ब्याट्री प्याक छ । जसले एकपटकको फुलचार्जमा ४६२ किलोमिटर एनईडीसी रेन्ज दिन्छ ।

चेरी क्यू : चिनियाँ ब्राण्ड चेरीको नयाँ ह्याचब्याक क्यूमा पनि उपभोक्ताको आकर्षण देखिएको छ । पायोनियर मोटोकर्पले नाइमा मोबिलिटी एक्स्पोमा लन्च गरेको चेरी क्यू ४ महिनामा २०० युनिट भित्रिएको छ । कम्पनीले यसको प्रिमियम भेरियन्टको आधिकारिक मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यद्यपि, हाल विशेष छुट दिँदै ३३ लाख ९९ हजारमै उपलब्ध गराइरहेको छ ।

रियर ह्वील ड्राइभ सिस्टम रहेको चेरी क्यूमा ९० किलोवाटको मोटर र ४१.२ किलोवाट आवर क्षमताको ब्याट्री छ । जसले एकपटकको फुचार्जमा ४०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

सिरोस ईभी : कोरियाली ब्राण्ड कियाको सिरोस ईभी १९९ युनिट आयात भएको छ । कन्टिनेन्टल ट्रेडिङले सिरोस ईभीको हालै बिक्री सुरू गरेको हो । यद्यपि, बुकिङ भने गत नाइमा मोबिलिटी एक्स्पोमै खुलाएको थियो । सिरोस ईभीको मूल्य ३७ लाख ९९ हजार रहेको छ । किया सिरोस ईभीमा ९९ किलोवाटको मोटर र ४२ किलोवाट आवर ब्याट्री छ ।

ओरा ५ : गत असारदेखि बिक्री सुरु भएको ओरा ५ ले पनि राम्रै प्रतिक्रिया पाइरहेको देखिन्छ । ग्रेटवाल मोटर्सको आधिकारिक बिक्रेता भीजी इम्पेक्सले हालसम्म ११७ युनिट ओरा ५ भित्र्याएको छ । ओरा ५ मा १०० किलोवाट क्षमताको मोटर छ । उक्त मोटरले २६० न्यूटन मिटर पीकटर्क जेनेरेट गर्छ । यसमा ५८.३ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक छ । जसले सिंगल चार्जमा ४३५ डब्लूएलटीपी रेन्ज दिन्छ ।

एक्सियन  ईभी : नाइमा मार्फत नै नेपाल प्रवेश गरेको वुलिङ एक्सियन एसयूभी पनि राम्रै संख्यामा आयात भएको छ । पारामाउन्ट मोटर्सले ४ महिनामा ८० युनिट एक्सियन भित्र्याएको छ । ७ सिटे एसयूभी एक्सियनको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा ६९.२ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ५३० किमी सीएलटीसी रेन्ज दिने कम्पनीको दाबी छ । यसमा १५० किलोवाटको शक्तिशाली मोटर छ ।

आर्कफक्स टी १ : नयाँ विकल्पमा आएको चिनियाँ ब्राण्ड आर्कफक्सको कम्प्याक्ट एसयूभी टी वानले पनि आफूलाई स्थापित गर्न खोजेको छ । लक्ष्मी मोटरहबले ४ महिनामा आर्कफक्स टी वान ६२ युनिट आयात गरेको छ । दुई भेरियन्टमा उपलब्ध टी १ को मूल्य ३२ लाख ९६ हजार र ३५ लाख ९६ हजार रुपैयाँ छ ।

आर्कफक्स टी वानमा ७० किलोवाटको इलेक्ट्रीक मोटर छ । यसले १७० न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा रहेको ४२.३ किलोवाट आवरको एलएफपी ब्याट्रीले एकपटकको फुलचार्जमा ३१० किमी डब्लूएलटीपी रेन्ज दिन्छ ।

बी ०३ एक्स  : लिपमोटरको नयाँ एसयूभी बी ०३ एक्सले पनि आफूलाई जमाउने प्रयास गरेको देखिन्छ । सांग्रिला मोटर्सले ४ महिनामा ५२ युनिट बी ०३ एक्स भित्र्याएको छ । सांग्रिला मोटर्सले यसको मूल्य ४४ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यसमा १४५ किलोवाटको मोटर र ५३ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ५०५ किमीसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

टोमहक ईभी : असोज अन्तिमदेखि बिक्री सुरू भएको एमजी हेक्टर टोमहक ईभी पनि ठिकै संख्यामा आयात भएको छ । जीओ अटोमोबाइल्सले कात्तिकसम्म ३० युनिट टोमहक ईभी भित्र्याएको छ । यसमा १५० किलोवाटको इलेक्ट्रीक मोटर जडान गरिएको छ । जसले ३१० न्युटन मिटर टर्क प्रदान गर्छ । यसमा रहेको ६९.२ किलोवाट आवरको ब्याट्रीले सिंगल चार्जमा ५१७ किमी रेन्ज दिन्छ । कम्पनीले यसको आधिकारिक मूल्य ६१ लाख ९९ हजार रुपैयाँ तोकेको छ ।

 


Back_to_top