दुई फरक हाइब्रिडमा आउँदै ‘नयाँ र्‍याभफोर’, यस्तो हुनेछ ब्याट्री र पावर

काठमाडौं । टोयोटाले छैटौं जेनेरेशन र्‍याभफोर एसयूभी बजारमा ल्याउने तयारी थालेको छ । कम्पनीले सेल्फ चार्जिङ हाइब्रिड र प्लगइन हाइब्रिडमा र्‍याभफोर ल्याउने भएको हो ।

कम्पनीले जीआर भर्सनमा पनि र्‍याभफोरलाई बजारमा उतार्ने छ । यी मध्ये नेपाली बजारमा र्‍याभफोर प्लगइन हाइब्रिड आएको खण्डमा त्यसले राम्रै कारोबार गर्ने अनुमान गर्न सकिन्छ ।

टोयोटाले सेल्फ चार्जिङ हाइब्रिड र प्लगइन हाइब्रिड नाम दिएको दुवै मोडलको पावरमा भने फरक छ । नयाँ जेनेरेशन र्‍याभफोर मोडलमा २.५ लिटर फोर सिलिण्डर इन्जिन रहने छ । सेल्फ चार्जिङ हाइब्रिडको फ्रन्ट ह्वील ड्राइभ अप्सनमा इन्जिन र इलेक्ट्रीक मोटरले संयुक्त पावर २३९ हर्स पवार छ । जुन अहिले बजारमा रहेको मोडलकोभन्दा १७ हर्स पावर बढी हो ।

टोयोटाले प्लगइन हाइब्रिड मोडललाई अल ह्वील ड्राइभ सिस्टमको साथ बजारमा ल्याएको छ । यसको संयुक्त पावर ३२० हर्स पावर रहेको छ । जुन अहिले बजारमा उपलब्ध र्‍याभफोर प्लगइनको भन्दा १८ हर्सपावर बढी हो । सेल्फ चार्जिङ ब्याट्रीको साइज भने १.५ किलोवाट आवरको हुनेछ ।

प्लगइन हाइब्रिड मोडलको रेन्ज पनि थपिएको कम्पनीको भनाइ छ । कम्पनीले यसमा २२.७ किलोवाट क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । यसको रेन्ज ८० देखि १०० किलोमिटरको बीचमा रहने टोयोटाको दाबी छ ।

र्‍याभफोर नेपालमा पनि सफल

टोयोटा र्‍याभफोर मोडल नेपाली बजारमा पनि सफल मोडल मानिन्छ । कम्पनीले पहिलो जेनेरेशनदेखि कै र्‍याभफोर नेपालमा बिक्री गर्दै आएको छ ।

टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले राम्रो संख्यामा बिक्री गर्दै आएको र्‍याभफोर अब भने हाइब्रिडमा मात्रै आउने भएको हो ।


Back_to_top