काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले न्यूरोड फुटपाथ विस्तारको काम थालेको दुई दिन नपुग्दै स्थानीयले विरोध सुरु गरेका छन् ।
काठमाडौं महानगरले २ महिना अघि फुटपाथ विस्तारको काम सुरु गर्दा पनि स्थनीयले विरोध जनाएका थिए । अहिले फेरी पुनः स्थानीयले विरोध सुरु गरेका हुन् ।
फुटपाथ विस्तारको विरोधमा स्थानीय उत्रिएपछि सो क्षेत्रमा उल्लेख्य मात्रामा नेपाल प्रहरी, नगरप्रहरी तैनाथ गरिएको छ ।
उच्च अदालत पाटनले फुटपाथ बिस्तार गर्न बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः काम सुरु गरेको थियो ।
यसअघि महानगरपालिकाले फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सडक काटेको कालोपत्रे पनि टालेको थियो ।
सडक डिभिजन कार्यालयको हस्तक्षेपको विरोधमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दिएको थियो । सो रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएसँगै महानगरपालिकाले फुटपाथ विस्तारको काम पुन सुरु गरेको हो ।