दुई भेरियन्टमा नेपाल आउँदै बिङ्गो, एटो १ लाई कति ‘थ्रेट’ ?

काठमाडौं । चिनियाँ विद्युतीय कार निर्माता बुलिङको लोकप्रिय ह्याचब्याक बिङ्गो नेपाली बजारमा पुनः प्रवेश गर्ने भएको छ । यसपटक बिङ्गो ह्याचब्याक लाइट र प्रो गरी दुई भेरियन्टमा नेपाल आउने तयारी गरेको हो ।

वुलिङ ब्राण्डअन्तर्गत नेपालमा बिक्री हुँदै आएको बिङ्गो करिब दुई वर्षपछि महत्वपूर्ण सुधार र नयाँ फिचरसहित नेपाली बजारमा फर्किन लागेको हो । नेपालमा वुलिङ ब्राण्डको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले बिङ्गोका दुई भेरियन्ट ल्याउने तयारी गरेको छ ।

कम्पनीले लाइट र प्रो भेरियन्ट ल्याउने छ । यी दुई भेरियन्ट बीच मुख्यतः कस्मेटिक डिजाइन र केही फिचरमा भिन्नता रहनेछ ।

साइजका हिसाबले बिङ्गो नेपाली बजारमा लोकप्रिय बीवाइडी एटो-१ को प्रत्येक्ष प्रतिस्पर्धीका रूपमा बजारमा उत्रिनेछ । कम्प्याक्ट डिजाइनमा तयार गरिएको यो ह्याचब्याकको लम्बाइ ३९५० एमएम, चौडाइ १७०८ एमएम र उचाइ १५८० एमएम छ । यसको ह्वीलबेस २५६० एमएम छ ।


बिङ्गो ह्याचब्याकमा १५ इन्चको स्टिल ह्वील र १८५/६० आर-१५ साइजको टायर प्रयोग गरिएको छ । चारवटै पाँग्रामा डिस्क ब्रेक उपलब्ध छ । स्टिल ह्वीलका कारण यसमा ह्वील कभर प्रयोग गरिएको छ । टप भेरियन्टमा ड्यूल कलर ह्वील क्याप पाउन सकिन्छ ।

३१.९ किलोवाट आवरको एलएफपी ब्याट्री

बिङ्गोमा लिथियम फेरो फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ । ३१.९ किलोवाट आवर क्षमताको ब्याट्रीले एकपटकको चार्जमा सीएलटीसी परीक्षण अनुसार ३३३ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।

यसमा डीसी फास्ट चार्जिङको सुविधा उपलब्ध छ । डीसी चार्जरमार्फत ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ३५ मिनेट लाग्ने कम्पनीको दाबी छ । यस्तै, एसी चार्जर प्रयोग गर्दा २० देखि १०० प्रतिशतसम्म चार्ज गर्न करिब ५ घण्टा ३० मिनेट लाग्छ ।
एसएआईसी-जीएम र बाओजुनको संयुक्त लगानीमा उत्पादन हुँदै आएको बिङ्गोमा ५० किलोवाट क्षमताको विद्युतीय मोटर जडान गरिएको छ । यसले अधिकतम १२० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्छ । कम्प्याक्ट आकार, पर्याप्त रेन्ज र सहर केन्द्रित प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको बिङ्गो विशेषगरी दैनिक शहरी आवतजावतका लागि लक्षित देखिन्छ ।

लाइट र प्रोमा डिजाइन तथा फिचरमा फरक

बिङ्गोका दुई भेरियन्टमा बाहिर कस्मेटिक डिजाइन र उपकरणमा केही फरक रहनेछ । लाइट भेरियन्टमा हेलोजन हेडलाइट दिइएको छ भने प्रो भेरियन्टमा आकर्षक ‘एक्स’ आकारको एलईडी हेडलाइट उपलब्ध हुनेछ ।

भित्री भागमा आकर्षक सिट डिजाइनका साथै लेदर र्याप गरिएको स्टेयरिङ ह्वील दिइएको छ । प्रो भेरियन्टमा ६-वे एड्जस्टेबल इलेक्ट्रीक ड्राइभर सिट उपलब्ध हुनेछ । लाइट भेरियन्टमा सिट म्यानुअल रहने छ ।
सुरक्षातर्फ बिङ्गोमा एयरब्याग, ईबीडीसहितको एबीएस, अटो होल्ड, इलेक्ट्रिक पार्किङ ब्रेक र टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस) जस्ता फिचर समावेश छन् ।

गाडीलाई थप सहज र प्रिमियम बनाउन स्मार्ट स्टार्ट र की लेस इन्ट्रीको सुविधा दिइएको छ । यस्तै, क्रुज कन्ट्रोल, मल्टिफङ्सन स्टेयरिङ ह्वील, चार स्पिकर, इलेक्ट्रीक एसी तथा १०.२५ इन्चका दुईवटा डिस्प्ले उपलब्ध हुनेछन् ।

नेपाली बजारमा कम्प्याक्ट विद्युतीय कारको माग बढिरहेको समयमा बिङ्गोको पुनः प्रवेश हुन लागेको हो । विशेषगरी बीवाइडी एटो १ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने गरी मूल्य निर्धारण गर्न सकेमा बिङ्गोले नेपाली बजारमा आफ्नो उपस्थिति बलियो बनाउन सक्ने देखिन्छ ।


Back_to_top