नियो ब्राण्ड नेपाल ल्याउन ब्यवसायीक घरानाको तिब्र दौड

काठमाडौं । चीनमा स्टार्टअप कम्पनीले बनाएका विद्युतीय कार नेपाल ल्याउन तिब्र प्रतिस्पर्धा चल्न थालेको दुई वर्ष भयो । अझै केही राम्रा स्टार्टअप कम्पनीका उत्पादन नेपाल आउन बाँकी छन् । त्यसमा पनि नेपालका ब्यबसायीहरु तँछाड मछाड गरेर लागेका छन् ।

चिनियाँ स्टार्टअप कम्पनी नियो नेपाल ल्याउन थुप्रै ब्यवसायीक घराना लागि परेका छन् । उनिहरु प्रिमियम सेग्मेन्टमा चिनियाँ कार बिक्री गर्न नियोको पछाडि परेका हुन् । विशेषगरी एमएडब्लू ग्रुप, विशाल ग्रुप, लक्ष्मी ग्रुप, दुगड सन्स, त्रिबेणी ग्रुप, सिजी मोटर्स जस्ता ठूला समूह नियो नेपाल ल्याउन लागि परेका थिए । यी मध्ये केही समूह सर्ट लिष्टमा परेका छन् ।

सम्भवत जनवरी अन्तिमसम्ममा नियोले आफ्नो आधिकारीक नेपाल डिलर टुङ्गो लगाउने छ । अटोमोवाइल क्षेत्रमा अनुभवी समूह खोजिरहेको नियोले आफ्नो डिलर घोषणा गर्ने तयारी गरिरहेको ब्यवसायीहरु नै बताउँछन् ।

‘अबको केही दिनमै घोषणा हुन्छ । उनिहरुको अपेक्षा धेरै छ । हाम्रोमा सिमित्ता छ । सोचे अनुसार नियोका गाडी बिक्री हुन कठिन छ । त्यसैले कसैले पनि मै ल्याउँछु भनेर ठोकुवा गर्न सकेका छैनन्’, डिलरसिपको रेसमा रहेका एक ब्यवसायीले मेरोअटोसँग भने ।

नियो पहिलो ब्याट्री स्वापिङ टेक्नोलोजी प्रयोग गरेर गाडी बनाउने कम्पनी हो । उसले चीनमा हजारौंको संख्यामा ब्याट्री स्वापिङ सेन्टरहरु संचालनमा ल्याएको छ । साथै, उसले आफ्नो साना गाडीको लागि फायरफ्लाई ब्राण्डको सुरुवात गरेको छ ।

चीन बाहिर बिक्री गर्ने लक्ष्यसहित कम्पनीले फायरफ्लाई ब्राण्डको सुरुवात गरेको हो । तर, युरोपमा चिनियाँ कारमा धेरै कर लगाइएको कारण एशियाली अन्य बजारमा जाने तयारी नियोले गरिरहेको छ । यही क्रममा नियो फायरफ्लाइ ब्राण्ड नेपालमा पनि सार्वजनिक हुन लागेको बताइन्छ ।

यस्तो छ फायरफ्लाइको पहिलो ह्याचब्याक

फायरफ्लाइ एक ह्याचव्याक मोडल हो । फोर मिटर साइजमा उपलब्ध फायरफ्लाइ मोडलमा १०५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।

यसमा सनवाडाले उत्पादन गरेको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । यसमा पनि ब्याट्री स्वापिङ टेक्नोलोजी प्रयोग गरिएको छ । लम्बाइ ४००३ एमएम, चौडाइ १७८१ एमएम र उचाइ १५५७ एमएम रहेको ह्याचव्याक कारमा २६१५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ ।

फायरफ्लाइमा ह्वील भने १८ इन्चको प्रयोग भएको छ । अन्तर्राष्ट्रिय बजारमा मिनी कुपरसँग प्रतिस्पर्धा गर्न यसलाई बनाएको नियोको दावी छ । फायरफ्लाइ विद्युतीय ह्याचव्याक कारको अगाडि र पछाडि नै युनिक डिजाइन पाउन सकिन्छ ।

तीनवटा सर्कल लाइट रहेको कारको टर्निङ रेडियस केबल ४.७ मिटर हुनेछ । निकै आकर्षक डिजाइनमा तयार भएको फायरफ्लाइ मोडलको डिजाइन बीएमडब्लू र फोर्डमा काम गरेका कृस तोमासनले गरेका हुन् ।

यसको बढी स्ट्रक्चर पनि ८३.४ प्रतिशत हाइ स्ट्रेन्थ स्टीलले बनेको छ । सुरक्षाका लागि यसमा एडास सिस्टम र ९ वटा एयरव्याग उपलब्ध हुनेछन् ।


Back_to_top