थाइल्याण्डमा बिक्री सुरू भयो ‘फायरफ्लाई’, कहिले आउँछ नेपाल ?

काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी नियोको ‘फायरफ्लाई’ मोडल सिंगापुरपछि अर्को राइट ह्याण्ड ड्राइभ बजार थाइल्याण्डमा बिक्री सुरु भएको छ ।

कम्पनीले सन् २०२६ को सुरुवातमै सिंगापुरको बजारमा फायरफ्लाई बिक्री थालेको थियो । त्यसपछि कम्पनीले दोस्रो बजारको रुपमा थाइल्याण्डमा बिक्री थाल्यो । नियो फायरफ्लाई सानो साइजमा आकर्षक फिचर सहित आएको कारण यसको तुलना मिनी कुपरसँग भइरहेको छ ।

थाइल्याण्डपछि अष्ट्रेलिया, बेलायत र नेपाल जस्ता बजारमा बिक्री थाल्ने कम्पनीले जनाएको छ । तर, नेपालमा कुन ब्यवसायीक समूहले ल्याएर बिक्री गर्छ भन्ने टुङ्गो लागि सकेको छैन । सन् २०२६ भित्रै फायरफ्लाई नेपालमा बिक्री सुरु हुने हाम्रो अनुमान छ । अहिले पनि थुप्रै ब्यवसायीक प्रतिस्ठान यसको डिलरसिप लिन लागि परेका छन् ।

चीनमा औषत एसयूभीको भन्दा महंगो मूल्यमा बिक्री हुँदै आएको फायरफ्लाई किन्न १६ हजार ८५० देखि १७ हजार ७०० अमेरिकी डलरसम्म तिर्नु पर्नेछ ।

नियोले चीनमा यसलाई ब्याट्री बेगर पनि किन्न मिल्ने स्कीम दिएको छ । यसको मूल्यभने ३० प्रतिशत कम हुन्छ । ब्याट्री बेगर गाडी किन्ने र कम्पनीको ब्याट्री प्रयोगका हिसावले पैसा तिर्न मिल्ने उक्त स्कीममा किन्दा ११ हजार २३० अमेरिकी डलर पर्छ ।

यस्तो छ फायरफ्लाई ह्याचव्याक कार

निकै प्रिमियम फिचरको साथ बजारमा आएको फायरफ्लाईले अन्तर्राष्ट्रिय बजारमा मिनी कुपरसँग प्रतिस्पर्धा गर्ने कम्पनीको दावी छ । गाडीका फिचरहरु पनि लग्जरीलाई ध्यानमा राखेर ‘लोड’ गरिएको छ ।

नियोले फायरफ्लाईको ड्यासबोर्डमा १३.२ इन्चको स्कृन दिइएको छ । त्यसका साथै क्याविनमा ६ इन्चको इन्फर्मेसन डिस्प्ले, १४ स्पीकर सहितको ७.१ डल्बी साउन्ड सिस्टम, २५६ कलरमा मिलाउन सकिने एम्बीयन्ट लाइट पाउन सकिन्छ ।

सुरक्षाको लागि १५ एक्टीभ सेफ्टी फिचर रहेको कारको हाइस्पीड ड्राइभिङ एसिस्टेन्स सिस्टमको कभर रेट ९९.९९ प्रतिशत रहेको कम्पनीको दावी छ । यसको ड्राइभिङ एसिस्टले लेन चेन्ज, ओभरटेक र पार्किङ आफैँ गर्न सक्छ ।

युरोपियन बजारमा बिक्री गर्ने लक्ष्यका साथ उत्पादन भएको फायरफ्लाईमा १०५ किलोवाट क्षमताको मोटर छ । यसले सून्यदेखि १०० किलोमिटरको स्पीड भेट्टाउन ८.२ सेकेन्ड लगाउने छ । टप स्पीड क्षमता भने १५० किलोमिटर प्रतिघन्टा मात्रै छ ।

यसमा ४२.१ किलोवाट आवरको ब्याट्री रहेको छ । सिएलटीसीका अनुसार यसले सिंगल चार्जमा ४२० किलोमिटर रेन्ज दिन्छ ।


Back_to_top