नारायणगढ । अब चितवनको भरतपुर बसपार्क बाहेक अन्य क्षेत्रमा टिकट काउन्टर राख्न नपाइने भएको छ ।
बुधबार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भरतपुर महानगर क्षेत्रभित्र रहेका विभिन्न यातायात व्यवसायी संस्थाका टिकट काउण्टर ४८ घण्टाभित्र सम्बन्धित बसपार्कमा स्थानान्तरण गर्नुपर्ने र बसपार्क बाहेक अन्यत्रबाट टिकट काट्न नपाइने स्पष्ट पारेको हो ।
त्यस्तै, बैठकले महानगरको मुख्य बजार क्षेत्रको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन बसपार्क बाहिर सवारी कर संकलन बन्द गर्ने निर्णय गरेको छ ।
महानगरले उठाउँदै आएको सवारी कर अब केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) र नारायणगढ बसपार्क (पोखरा बसपार्क) बाट मात्र संलन गर्ने व्यवस्था गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जिल्लाको यातायात व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न बैठकले यातायात व्यवसायीहरूले आफ्नो सवारीसाधन पार्किङ गरी नियमानुसार राजश्व बुझाउन निर्देशन दिएको बताए ।
उनले नारायणगढ बजार क्षेत्रभित्र मुख्य सडकमा अव्यवस्थित पार्किङ तुरुन्त बन्द गर्नुपर्ने बताए । त्यस्तै, पुल्चोक लगायतका बजार क्षेत्रभित्रका पेट्रोलपम्पमा पेट्रोल हाल्ने नाममा अनावश्यक पार्किङ गरी यात्रु चढाउने कार्य नगर्न भनिएको उनले जानकारी दिए ।

