मोटरसाइकलमा प्रयोग हुने लिक्विड कुल्ड र आयल कुल्ड इन्जिनमा यस्ता छन् फरक

काठमाडौं । इन्जिन कुलिङ सिस्टम एक अत्यावश्यक सिस्टम हो । जसले हाम्रो मोटरसाइकलमा हुने इन्जिनको तापक्रमलाई स्थिर राख्न मद्दत गर्छ । उसोत इन्धनबाट चल्ने सबै सवारी साधनमा यो सिस्टम जडान गरिएको हुन्छ ।

इन्जिनमा कुलिङ सिस्टम नहुने हो भने इन्जिन अत्याधिक तात्न गई आगलागि हुने अथवा इन्जिन नै बन्द हुने अवस्था आउँथ्यो । मोटरसाइकलमा हुने इन्जिन पेट्रोलबाट चल्ने इन्जिन हो । यो इन्जिनमा फ्यूल ट्याङकमा रहेको फ्यूल पाइप हुँदै इन्जिनमा आउँछ अनि कम्बस्चन चेम्बरमा जल्छ । फलस्वरुप दुई प्रकारको इनर्जी उत्पन्न हुन्छ ।

पहिलो मेकानिकल इनर्जी जसका कारण बाइकले गति प्राप्त गर्छ भने दोस्रो हिट इनर्जी जसले इन्जिनलाई तातो बनाउँछ ।

मेकानिकल इनर्जीबाट मोटरसाइकल चल्छ भने हिट इनर्जीको प्रयोग कुनैपनि कामको लागि हुँदैन । उल्टो यो इनर्जीले मोटरसाइकलको प्रफर्मेन्समा गिरावट ल्याउनुका साथै इन्जिन तातेर बन्द हुने समस्या आउँछ । यसलाई कम गर्न उत्पादकले विभिन्न तरिका अपनाएर इन्जिनलाई चिसो राख्न प्रयास गर्छन् ।

मूल्य अनुसार बिभिन्न कम्पनीले आफ्ना मोटरसाइकलमा बिभिन्न इन्जिन कुलिङ सिस्टम प्रयोग गर्ने गरेका छन् । कस सीसीका कम पावर प्रदान गर्ने मोटरसाइकलमा समान्य एयर कूल्ड इन्जिन प्रयोग गर्ने गरेको पाइन्छ । समान्य तया यो १५० सीसीसम्मका मोटरसाइकलमा बढी प्रयोग भएका छन् ।

२५० सीसीसम्मका मोटरसाइकलमा धेरै आयल कुल्ड इन्जिन प्रयोग गर्ने गरेको पाइन्छ भने यो भन्दा माथिका मोटरसाइकलमा धेरैजसो लिक्वीड कुल्ड इन्जिन प्रयोग गरिएको हुन्छ ।

इन्जिन कुलिङ गर्न अहिले चल्तीमा रहेका एयर कुल्ड, आयल कुल्ड तथा लिक्विड कुल्ड इन्जिनको विकास भएको छ । एयर कुल्ड प्रविधि सामान्य प्रविधि हो । हामीले यहाँ लिक्वीड कुल्ड र आयल कुल्ड इन्जिनबीचको भिन्नता लेख्ने प्रयास गरेका छौं ।

१. आयल कुल्ड टेक्नोलोजी

अयल कुल्ड इन्जिन टेक्नलोजी एयर कुल्डपछि आएको दोस्रो कुलिङ टेक्नोलोजी हो । नेपालमा आएका बाइकहरु मध्य पहिलो पटक बजाज २२० मा यो टेक्नोलोजी प्रयोग भएको थियो ।

यो टेक्नोलोजीमा एयर कुल्ड इन्जिनको अगाडि थप एक कम्पोनेन्ट रेडियटर समेत जडान गरिएको हुन्छ । यो कुलिङ टेक्नोलोजीमा इन्जिनमा प्रयोग भएको लुब्रिकेन्टले इन्जिनलाई नै चिस्याउने काम गर्छ ।

यो प्रक्रियामा इन्जिनमा रहने लुब्रिकेन्टलाई इन्जिनको ठिक तलबाट एउटा पाइप मार्फत अगाडि रहेको रेडियटरमा पठाइन्छ । जहाँ बाहिरी हावाको सम्पर्कमा आएको रेडियटरले इन्जिन चल्दा तातेको लुब्रिकेन्टलाई चिस्याउने काम गर्छ ।

रेडियटरबाट चिसिएको लुब्रिकेन्ट फेरि इन्जिनमा जाँदा यसले इन्जिनको तापक्रमलाई केही मात्रामा घटाउन सहयोग पुर्याउँछ ।

२. लिक्विड कुल्ड टेक्नोलोजी

लिक्विड कुल्ड टेक्नोलोजी सबैभन्दा आधुनिक कुलिङ टेक्नोलोजी हो । माथि चर्चा गरिएका एयरकुल्ड तथा आयल कुल्डभन्दा लिक्विड कुल्ड बिल्कुलै फरक टेक्नोलोजी हो । यसमा एयर कुल्डमा जस्तो इन्जिनको आवरणमा गहिरो धार पनि हुँदैन भने आयल कुल्डमा जस्तो इन्जिनमा रहेको लुब्रिकेन्टलाई रेडियटरमा लगेर चिस्याउने काम पनि हुँदैन ।

यसमा पनि रेडियटर दिइएको हुन्छ तर, रेडियटरमा फ्यान समेत हुन्छ । जसले लिक्विडलाई छिटो चिस्याउन मद्दत गर्छ । यसमा हालीने लिक्विड एक विषेश खालको लिक्विड हो, जसलाई इन्जिनको तापक्रमले नभेट्ने ठाँउमा स्टोर गरिएको हुन्छ । यो लिक्विडलाई कुलायन्ट भनिन्छ ।

कुलायन्टमा ७० प्रतिशत पानी र ३० प्रतिशत केमिकल रहेको हुन्छ । यो टेक्नोलोजीमा रेडियटरबाट केही पाइपहरु इन्जिन भित्रसम्म पुर्याइएको हुन्छ, जसले रेडियटरमा चिस्याइएको चिसो लिक्विडको मद्दतले इन्जिन चिस्याउने गर्छ । यो हालसम्मको आधुनिक टेक्नलोजी हो । अहिलेका सबै पावरफुल तथा प्रफर्मेन्स मोटरसाइकलमा यसको प्रयोग गरिएको हुन्छ ।


Back_to_top