ओएसएमको इलेक्ट्रीक सवारीसाधन नेपालमा, यही उत्पादन गर्ने योजना

काठमाडौं । एमएडब्लू वृद्धी कमर्सियल भेहिकल प्रालिले ओमेगा सेकी मोबिलीटी (औएसएम)ले उत्पादन गरेको इलेक्ट्रीक थ्री ह्वीलर नेपाल ल्याएको छ । कम्पनीले ल्याएको तीन पाङ्ग्रे साधन दुई भेरियन्टमा नेपाल आएको हो ।

कम्पनीले एउटा कार्गो बोक्ने रेजप्लस र यात्रुवाहक वाहनमा स्ट्रिम मोडल नेपाल ल्याएको हो । विश्वकै सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी ओमेगा सेकी मोबिलिटीले सबै किसिमको विद्युतीय सवारीसाधान उत्पादन गर्ने योजना बनाएको छ ।

ओएसएमले ल्याएको रेजप्लस एक विद्युतीय तीनपाङ्ग्रे कार्गो सवारी साधन हो । यसमा १०.८ किलोवाट आवरको ब्याट्री दिइएको छ । प्यासेन्जर बोक्ने स्ट्रिम मोडलमा भने ८.५ किलोवाट आवरको ब्याट्री दिइउको छ ।

दुवै मोडलमा अधिकतम ७.४ किलोवाट पावर प्रदान गर्ने इलेक्ट्रीक मोटर दिइउको छ । यसले ४५ एनएम पीक टर्क उत्पादन गर्छ ।

हल्का वजनको रेजप्लस र स्ट्रिमको तौल ब्याट्रीसहित ६०० केजी छ । गाडीले कम रोलिङ प्रतिरोधी १० इन्चको टायर प्रयोग गरिएको छ । यति मात्र नभई दुवै सवारीसाधनको न्यूनतम ग्राउण्ड क्लियरेन्स १७५ एमएम छ ।

रेजप्लस र स्ट्रिमका बारेमा टिप्पणी गर्दै एमएडब्लूका प्रबन्ध निर्देशक विवेक सिकरियाले भने, ‘नेपाली बजारमा रेजप्लस र स्ट्रिम विक्री सुरुवातले दिगो र उत्सर्जनमुक्त सवारी साधन लिने विचार गरिरहेका उपभोक्ताहरूको चाहना पूरा गर्नेछ ।’

नेपालमा ईभीको सम्भावनाको विषयमा बोल्दै ओमेगा सेकी मोबिलिटीका संस्थापक अध्यक्ष उदय नारङले भने, ‘नेपाल सरकार सवारीसाधनले सिर्जना गर्ने वायुप्रदुषण न्यूनीकरणका लागि यस क्षेत्रमा सन् २०३१ सम्म पूर्ण विद्युतीकरणको लक्ष्य लिएर सक्रिय भएको छ । संयोगवश, वायु प्रदूषणको समस्याले नेपाललाई यति धेरै सताएको छ । नेपालमा ६० प्रतिशत वायुप्रदूषणको उत्पत्ति यातायात क्षेत्रका कारण भएको छ । ओमेगा सेकी मोबिलिटी प्रदुषण विरुद्धको सरकारको लडाईको एक हिस्सा बन्न चाहन्छ र अत्याधुनिक, पहुँचयोग्य विद्युतीय सवारीसाधन ल्याई काठमाडौंमात्र नभई सम्पूर्ण नेपाललाई स्वच्छ, हरियाली र दिगो राष्ट्र बनाउन सघाउनेछ ।’

नेपाली बजारको लागि ओएसएम रेज प्लस र ओएसएम स्ट्रिमको परिचय दिँदै ओमेगा सेकी मोबिलिटीका प्रबन्ध निर्देशक डा. देब मुखर्जीले नेपालको लागि विद्युतीय साधन राम्रो भएको बताए ।

ओएसएम रेजप्लस र ओएसएम स्ट्रिम दुवै ४ घण्टाभित्र घरमै सजिलै चार्ज गर्न सकिने मोडल हुन् । सिंगल चार्जमा तीनपाङ्ग्रे मालवाहक रेजप्लसले १२० किमी र तीनपाङ्ग्रे यात्रुवाहक सवारी स्ट्रिम ९५ किमीको यात्रा गर्न सकिन्छ ।

कम्पनीले निकट भविष्यमा नै ओमेगा सेकी मोविलिटीको उत्पादन निकट भविष्यमा नै नेपालमै गर्ने जनाएको छ ।


Back_to_top